५ श्रावण २०८२, आईतवार

रेडियो नेपाल सुनेर सफल किसान बनेका बैजनाथका तारा बहादुर

तारा भन्छन केही गर्छु भन्नेहरुको लागि नेपालमै अनेक गर्न सकिन्छ

  • न्युज मानसराेवर

बैजनाथ, बाँके: सुन्दा अचम्म लाग्न सक्छ तर रेडियो नेपालबाट प्रशारण हुने कृषि कार्यक्रम सुनेर किसान बन्ने सपना बोकेका बैजनाथका तारा वहादुर रावत यति वेला ब्यबसायिक किसान वन्न सफल भएका छन । तारा बहादुर रावतलाई पाँच, छ वर्ष अघिसम्म आफ्नो खेतमा धान लगाउँदा वर्षभरि खानसमेत पुग्दैनथ्यो । तर, त्यही खेतमा मौसमअनुसारको हरियो तरकारी फलाउन थालेपछि उनको आम्दानी मात्रै बढेको छैन दैनिकी नै फेरिएको छ । श्रीमती दिलमाया रावतको सहयोगमा कृषि कर्ममा रमेका ताराले आफनो पेशा ब्यबसायमा गाउँकै करिव १५ जनालाई दैनिक ज्यालादारीमा रोजगार समेत दिँदै आएका छन ।

बाँके जिल्लाको बैजनाथ गापालिका वडा नम्बर दुई दक्षिण लदौरामा पाँच कठ्ठा जग्गामा पचास हजारको लगानीबाट तरकारी खेती सुरु गरेका ताराले अहिले चालीस कठ्ठा जग्गामा मकै लगाएका छन । उनले मकैसंगै मिश्रित वालिका रुपमा सिजण्टा कम्पनीको वाइभि सेभेन नामको बोडी पनि लटरम्म फलाउन सफल भएका छन । आफूलाई युवा कृषक भन्न रुचाउने तारा आफू यहाँ सम्म आइपुग्नुमा श्रीमतीको ठूलो देन भएको बताउछन।

श्रीमतीको साथ अनि आफू सानै देखि रेडियो नेपालको कृषि कार्यक्रममा बज्ने सफल कृषकको सफलताको कथा सुन्दा आफूलाई पनि किसान बनौँ बनौँ लाग्ने गरेको र त्यही कथाको प्रेरणाले अहिले आफू एक सफल किसान बनेकोमा गर्व महशुस गर्छन उनी ।

तारा भन्छन केही गर्छु भन्नेहरुको लागि नेपालमै अनेक गर्न सकिन्छ म पनि पहिले यतिकै बरालिएर हिँडेको थिए सुरु सुरुमा कृषि पेशा अपनाउन कहिले किराले खाने कहिले पानीले लगाएको खेती नष्ट गरिदिँदा कस्तो बेला किन कृषि पेसामा लागेछु भनेर पछुतो समेत लाग्दथ्यो तर मैले सुरुका वर्षमा हिम्मत हारिन यसलाई निरन्तरता दिइरहे र आज आएर यो सफलता मिलेको छ। हिम्मत र आत्मविश्वासले साथ दियो काम गर्‍यो भने एक दिन सफलता मिल्ने ताराको भनाई रहेको छ।

केही गर्छु भन्ने कृषकको लागि स्थानीय तहबाट पनि केही सहयोग हुनुपर्छ र सही कृषक पहिचान गरि कृषक लक्षित कार्यक्रमहरू गर्ने कागजी किसानलाई अनुदान दिने तर सत्यतथ्य नबुझी अनुदान दिँदा असली किसान मर्कामा परेको गुनासो समेत ताराको छ । उनले आफूलाई भने स्थानीय तह बैजनाथ गाउँपालिकाबाट प्राविधिक सहयोग बारम्बार पाइरहेको बताए। आफूले गरेको खेती हेर्न गाउँपालिकाका हाकिम कर्मचारीहरू आउँदा आफूलाई खुसी र प्रेरणा मिल्ने गरेको समेत उनको अनुभव छ।

वर्षको दुई सिजन हिउँदे र बर्खे तरकारी लगाउँदै आएका ताराले एक सिजनमा खर्च कटाएर ६ लाख बचत गर्ने गरेका छन। तरकारी खेती सुरु गरेपछि उनले ४ कठ्ठा नम्बरी र २ कठ्ठा एलानी जग्गा समेत जोड्न भ्याए। सिचाइको लागि दुई ठाउँमा समरसेल बोडिङ्ग समेत गाडेका छन ताराले । कहिले काक्रा कहिले बोडी कहिले टमाटरले ताराको जग्गा भरिभराउ देखिन्छ र उनले लगाएको तरकारी टिप्नेको लर्को हेर्दा विदेश तिरको जस्तो आभास हुन्छ छिमेकी लोकनाथ शर्मा भन्छन ।

बारीसम्म बाटोको सुविधा नहुँदा तरकारी टिपेर सडक सम्म पुर्‍याउन निकै समस्या हुने गरेको गुनासो भने उनीसंग छ। उनले पहिले पहिले तरकारी फलाएर बेच्न धौ धौ हुने गरेको र अहिले गाउँमै व्यापारीका गाडी तरकारी लिन आउने गर्दा बजारीकरणको लागि आफूलाई समस्या नभएको जिकिर गरे। दैनिक तीन चार क्विन्टल बोडी वा तरकारीजन्य खाद्यान्न बिक्री गर्ने गरेको ताराको दिनचर्या भएको छ ।

तारा जस्तो युवाको कृषि मोह देखेर अन्य युवाहरूलाई पनि कृषिमा उत्प्रेरित हुन प्रेरणा मिल्नेछ। ताराले कृषिमा मात्र होइन राजनीतिमा पनि उत्तिकै चासो राख्ने गरेका छन। तरकारी पेशाबाट एकदमै सन्तुष्ट भएका तारा आफू जस्ता युवाहरूलाई आफ्नो श्रम पसिना बिदेशी भुमिमा खर्चिन भन्दा आफ्नै देशमा केही गरेर खर्चिन अनुरोध समेत गर्छन।

  • २४ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech