कोहलपुर,बाँके: कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी दिन भन्दै सार्वजनिक अनुरोध गरेको छ। यस वर्ष ६ सय २० जना कैदीबन्दीको कैदकट्टाका लागि सिफारिस गरिएको छ। उक्त प्रयोजनका लागि कैदकट्टा नियमावली, २०७६ को नियम ६(३) मा भएको व्यवस्था बमोजिम सिफारिस भएका कैदीबन्दीको सम्बन्धमा कुनै उजुरी तथा गुनासो भए विभागमा दर्ता गर्न सार्वजनिक अनुरोध गरिएको विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिदै भने।
फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसुर कैदकट्टा नियमावली, २०७६ तेस्रो संशोधन २०८१ र ज्येष्ठ नागरिक ऐन, २०६३ मा कैद कट्टासम्बन्धी व्यवस्था रहेको छ। गृह मन्त्रालयले जेठ २२ गते कैदीबन्दीको कैदकट्टा गर्ने प्रयोजनका निमित्त सिफारिस पठाउन सबै कारागार र बालसुधार गृहमा पत्राचार गरेको थियो। कैद छुटको लागि सिफारिस गर्न योग्य ठानिएका ६ सय २० कैदीबन्दीको निवेदनसहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिस प्रमाणित भई आएको निर्देशक पाण्डेले बताए।
उनका अनुसार फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ५ सय ८६ जना र ज्येष्ठ नागरिक ऐन, २०६३ दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका ३ जना छन् । सर्वोच्च अदालतको २०८० वैशाख ८ मा भएको फैसलासमेतका आधारमा २०७५ भदौ १ भन्दा अगाडि घटना भई ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना छन्।
यस बर्ष बाँकेबाट कैदकट्टा सिफारिसमा १४ जना परेका छन । यसरी कैद कट्टा सिफारीसमा पर्नेहरु हात हतियार खरखजना, वहुविवाह, सवारी ज्यान, गोली हानि ज्यान मार्ने, डाँका चोरी र कल वाईपास लगाएतका मुद्धामा जेल सजाय काटिरहेकाहरु रहेका थिए ।
उनीहरुको कैद अवधिभर चाल चलनमा सुधार भएको र नियमानुसार कदैकट्टा गरिसकेको भन्दै सिफारीसमा परेका हुन । यसरी सिफारीस पर्नेहरुमा खजुरा १ का आशिष मर्साङगी, राप्ति सोनारी ६ का नविन बुढा मगर, कोहलपुर १४ का सुरज लामिछाने, कोहलपुर ८ का राजु चौधरी, बर्दिया घर भई बाँके कारागारमा कैद भुक्तानी गर्दै आएका सन्तोष बम ठकुरी, नेपालगञ्ज ५ का छोटु ठठेर, नेपालगञ्ज १३ का नानु खटिक, नरैनापुर ४ का ललित खाँ, जानकी ८ का महेन्द्र सुनार, नेपालगञ्ज ५ का सुसित शर्मा, बैजनाथ ६ का प्रदेश थारु, कोहलपुर ८ का करण टमटा, बैजनाथ २ का हिम बहादुर चन्द र डुडुवा ६ का भाटे भन्ने पहलमान पासि रहेका छन ।
सिफारिसमा परेका कैदीबन्दीको कैदकट्टाबारे कुनै उजुरी तथा गुनासो भएमा तथ्य र प्रमाणसहित विभागमा उपस्थित भई वा विभागको इमेल ठेगानामा दर्ता गराउन सार्वजनिक सूचना जारी गरिएको छ। यसरी उजुरी गर्ने समय यही असार १५ गतेसम्म तोकिएको छ।
देशभरको सुचि हेन यहाँ क्लिक गर्नुहोस kaid-katta-notice