कोहलपुर,बाँके:दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित निकाल्दै भारतीय क्रिकेट टोलीले १७ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि उचालेको छ। वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा शनिबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकामाथि ७ रनको जित निकाल्दै भारतले दोस्रो पटक टी–२० विश्वकप उपाधि जितेको हो।
पहिलो पटक सन् २००७ मा भएको पहिलो विश्वकप भारतले जितेको थियो। २००९ को विश्वकप पाकिस्तानले २०१० र २०२२ को उपाधि इङ्ल्यान्डले उचालेको छ। सन् २०१२ र २०१६ को उपाधि वेस्ट इन्डिजले तथा २०१४ को उपाधि श्रीलंकाले र २०२१ को उपाधि अष्ट्रेलियाले जितेको थियो।
सन् २००७ मा भएको पहिलो संस्करणको उपाधि उचाले यता भारतले विश्वकप ट्रफी जित्न सकेको थिएन। सन् २०२६ मा हुने १० औँ संस्करणको विश्वकप आयोजना गर्न लागेको भारत साविक विजेताको रुपमा विश्वकप खेल्नेछ। सन् २०२६ को विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा हुनेछ।
सन् २००७ पछि सन् २०१४ मा नजिक पुगेर पनि टाढिएको भारतले दोस्रो प्रयासमा टी–२० को विश्व विजेता बनेको हो। सन् २००७ मा पहिलो विश्वकप जितेपछि भारत सन् २००९, २०१० र २०१२ मा दोस्रो चरणबाट नै बाहिरियो। सन् २०१४ मा उपविजेता बनेको भारत सन् २०१६ को विश्वकप आयोजना गर्दा भने सेमिफाइनल मै रोकियो।
सन् २०२१ मा दोस्रो चरणबाट बाहिरिएको भारत २०२२ मा भने सेमिफाइनल सम्म पुगेको थियो। नवौँ टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा दुई पटकको च्याम्पियन इङल्यान्डमाथि ६८ रनको जित निकाल्दै दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको थियो।
सुपर ८ मा भारतले अष्ट्रेलियालाई २४ रनले तथा बंगलादेशलाई ५० रनले हराएको थियो। अर्को खेलमा अफगानिस्तानमाथि ४७ रनको जित निकालेको थियो। समूह चरणमा भारतले आयरल्यान्डमाथि ८ विकेटको जित निकाल्दा पाकिस्तानलाई भने ६ रनले हराएको थियो। अर्को खेलमा आयोजक अमेरिकालाई ७ विकेटले हराउँदा क्यानडाविरुद्धको खेल भने वर्षाले रद्द हुँदा अंक बाँडेको थियो।