१० मंसिर २०८१, सोमबार

फस्ट असार सम्म बाँकेमा सडक दुर्घटनाबाट ६३ जनाको मृत्यु, १०२ गम्भीर

२ करोड ४४ लाख २७ हजार राजस्व सङ्कलन

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेमा चालु आर्थिक बर्ष २०८०/ ०८१ को फस्ट असार २०८१ सम्ममा विभिन्न सवारी साधन दुर्घटनामा परि ६३ जनाले ज्यान गुमाएका छन् । यसरी सडक दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल ११२ ,ट्रक १८, टिप्पर ४, बस १३ , माइक्रो ४, जिप कार १७, ट्याक्टर ८, टेम्पो १२, र अन्य २२ गरि २१० वटा सवारी साधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुबेदीले जानकारी दिंदै भने ।

दुर्घटनामा सबैभन्दा बढी पुरुष ४५ जना मृत्यु भएको छ भने महिला १६, बालक दुई गरी ६३ जनाको मुत्यु भएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस अवधि सम्ममा सवारी दुर्घटनामा १०२ गम्भीर घाइते भएका छन् भने ९९ साधारण घाइते भएका छन् । यो अवधिमा सवारी दुर्घटनामा १० पशुचौपाय मरेका र ३ घाइते भएको तथ्याङ्कमा उल्लेख छ।

त्यसैगरी एक वर्षको अवधिमा ३१ हजार १ सय ५९ सवारी र ढुवानीका साधनहरू कारवाहीमा परेको र त्यसबाट २ करोड ४४ लाख २७ हजार राजस्व सङ्कलन भएको छ भने मादक पर्दाथ सेवन गर्ने १ हजार ९ सय २० जना कारबाहीमा परेका छन् कारबाहीमा परेकाहरूबाट १९ लाख २० हजार राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, लामो दुरीको यात्रामा दुई जना चालक नराखेको हुँदा कारबाहीमा परेका १ सय १० सवारी साधनबाट १ लाख १० हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले न्युज मानसरोवरसंगको कुराकानिमा भने । यात्रु र चालकको सुरक्षाको लागि नियम उल्लङ्घन गर्ने ढुवानी तथा सवारी साधनलाई गरिएको कारवाहीमा यो बर्ष दुर्घटनामा केही कमी भएको बाँके ट्राफिक कार्यालयले आकलन गरेको छ ।

चालकहरूको लापरबाही र सर्वसाधारणले सडक अनुशासन पालना नगर्दा मानिसहरूको ज्यान जाने हुँदा ट्राफिक नियम कडाइ र जानकारीको लागि दुई हजार ३ सय २६ पटक १ लाख २० हजार ३ सय ६५ जना व्यक्ति र जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गरिएको ट्राफिक प्रमुख सुवेदीको भनाई रहेको छ ।

उनले विद्यार्थी, चालक, सहचालकदेखि सडक प्रयोग गर्ने आम नागरिकलाई समेत ट्राफिक नियमबारे सचेत बनाउने कार्यक्रम सञ्चालन गरिरहेका बताउँदै सडक दुर्घटना न्यूनीकरणको लागि आफूहरूको पहलले मात्रै सम्भव नभएको हुँदा सडक प्रयोग गर्ने सबैले अनुशासनपूर्वक ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह समेत गरे ।

ट्राफिक कार्यालय बाँकेका अनुसार नेपालगन्ज सुर्खेत सडकखण्ड पूर्व पश्चिम् राजमार्गको ढकेरी शम्शेरगन्ज सडक र नेपालगन्ज गुलरिया सडकखण्डमा बढी दुर्घटना हुने गरेको पाइएको छ।यस क्षेत्रमा सडक प्रयोगकर्ता, सवारी साधनका चालक र आम सरोकारवाला निकाय गम्भिर ध्यानाकर्षण हुन जरुरी छ ।

 

  • १७ असार २०८१, सोमबार प्रकाशित

  • Nabintech