बाँके:शुक्रवार पाँचौँ पटक विश्वासको मत लिन लाग्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चरम अल्पमतमा पर्नुभएको छ ।  संसद्का प्रमुख दुई ठुला घटक नेपाली काग्रेंस  र नेकपा एमालेले असार १७ गते मध्यराति संविधान संशोधनको एजेन्डासहित सत्ता सहकार्य गर्ने समझदारी गरेसँगै सङ्कटमा पर्नुभएका प्रधानमन्त्री दाहाल बिहीबारसम्म आइपुग्दा चरम अल्पमतमा पुग्नुभएको छ ।

काग्रेंस–एमालेले नयाँ समीकरण बनाएसँगै प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका थिए । तर, माओवादी केन्द्रले गरेको सचिवालय बैठकको निर्णयलाई देखाएर दाहालले विश्वासको मत सामना गर्ने अडान लिनुभयो ।  काग्रेंस-एमालेको गठबन्धनका पक्षमा साना दलहरूसमेत खुल्दै गएसँगै यत्तिखेर दाहाललाई विश्वासको मत निल्नु न ओकल्नु भइसकेको छ ।

प्रधानमन्त्री दाहालको विपक्षीमा काग्रेंसका ८८, एमालेका ७८(सभामुख र निलम्बित १ बाहेक), राप्रपा १४, जनता समाजवादी नेपालका ७, लोकतान्त्रिक समाजवादीका ३ सांसद र नागरिक उन्मिुक्तीका ४ ले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

पाँच सांसद भएको जनमतले त काग्रेंस–एमालेको गठबन्धनसँग सहकार्य गर्दै मधेस प्रदेश सरकारमा विश्वासको मत लिइसकेकाले उ पनि दाहालको विपक्षमा हुने निश्चित जस्तै छ ।  पार्टी विभाजनपछि ५ सांसद रहेका उपेन्द्र यादवको जसपाले काग्रेंस एमाले गठबन्धनलाई नै समर्थन गर्ने जनाउ दिइसकेकाले दाहाललाई थप सङ्कट परेको छ ।

प्रधानमन्त्री दाहालका पक्षमा ३२ सिट रहेको नेकपा केन्द्र, २१ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन मिल्ने देखिएको छ ।  १० सिट रहेको एकीकृत समाजवादीले समेत अहिलेसम्म कुनै निर्णय नगरेकाले उसको मतसमेत दाहाललाई पर्न नसक्ने सम्भावना उत्तिकै छ । पहिलो पटक एमालेको समर्थनमा २०७९ पुस १० गते सरकार बनाउँदा संसद्को ९९ प्रतिशत समर्थन पाएका दाहालले सत्ता आरोहणको १८ महिने अवधिमै संसद्को विश्वास चरमरुपमा गुमाउनु भएको छ ।

विश्वासको मतमा जाँदा नेकपा एसले साथ दिँदा मुस्किलले ६२ मत मात्रै प्राप्त हुने अवस्था सृजना भइसकेकाले संसद् बैठकलाई सम्बोधन गरेर राजीनामा दिनसमेत दाहाललाई दबाब परिरहेको छ ।

संसद्को २५ प्रतिशत समर्थन पनि आफुलाई नमिल्ने अवस्थामा दाहालले सत्ता नछोडी संसद् फेसगर्न खोज्नुलाई लगभग दुई तिहाईको समर्थनमा प्रधानमन्त्री हुन लाग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको आरिस वा सत्ता छोड्नुपर्दाको आक्रोशकोरुपमा हेरिएको छ ।