मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन र कमिसनतन्त्रका कारण आमजनतामा निराशा पैदा भइरहेको छ। साथै पुराना दल र नेताहरुप्रति जनतामा आक्रोश पैदा भइरहेको अवस्था छ। यद्यपि लोकतन्त्र स्थापना गर्नका लागि सबैभन्दा ठूलो भूमिका नै पुराना दल र नेताहरुको छ। लोकतन्त्र स्थापनाका लागि उनीहरुले जे–जस्तो त्याग र बलिदान गरे तर शासन व्यवस्थाको संस्थागत विकासका लागि उनीहरु नराम्ररी चुक्दै आइरहेका छन्। त्यसैले पुराना दल र तिनका नेताहरु अब सच्चिनुको विकल्प छैन। यसका लागि सबैभन्दा पहिला उनीहरुले अनावश्यक लोभलालच त्याग्दै भ्रष्टाचार निवारण गर्न सक्नुपर्छ।
पिकेटीका अनुसार वर्तमानको आवश्यकता पूरा गर्ने, निवृत्तिपछि आफ्नो र सन्ततिको आर्थिक सुरक्षाको सुनिश्चितता गर्ने प्रत्येक मानिसको चाहना हुन्छ, चाहे त्यो सार्वजनिक वा गैरसार्वजनिक क्षेत्रमा नै किन नहोस्। प्रत्येक सार्वजनिक निर्णय र व्यवहारले कुनै न कुनै मूल्य सृजना गर्दछ। त्यसकारण सार्वजनिक अधिकार र गतिविधि बिक्रीयोग्य हुन्छ।
अवसरको थाकमा बसेको सार्वजनिक अधिकारीलाई अधिकार बेचेर आर्थिक सुरक्षा प्राप्त गर्ने अपूर्व अवसर प्राप्त भएको हुन्छ। जोन्सटन सरकारलाई पैसाको हात फेर्ने गतिविधिको नियामक हो भन्छन्। यसरी पैसाले हात फेर्दा आफ्नो लागि केही प्राप्त गर्ने अवसर अधिकारीलाई प्राप्त हुन्छ। व्यक्तिगत फाइदासँग शक्तिको साटफेर भ्रष्टाचार हो। सार्वजनिक अधिकारी सार्वजनिक हित प्रवद्र्धनका लागि मात्र नियुक्त भएका हुन्छन्, भ्रष्टाचार गर्न होइन।
यस अर्थमा भ्रष्टाचार सार्वजनिक अधिकारीको सामान्य नभई विचलित व्यवहार हो। सदाचार प्रवर्द्धन गर्ने भनेको शक्तिको व्यापार गर्ने असंख्य अवसरबाट घेरिएको निर्वाचित वा नियुक्त सार्वजनिक अधिकारीलाई भ्रष्टाचार गर्नबाट रोक्ने ह सर्वकालिक र सार्वभौमिकरुपमा विद्यमान भए पनि भ्रष्टाचार एक सामाजिकरुपमा अनैतिक र आर्थिकरुपमा आपराधिक गतिविधि हो। भ्रष्टाचारले सार्वजनिक लगानीलाई विचलित र नाश गराउँछ, निजी क्षेत्रमा आर्थिक अदक्षता बढाउँछ, सामाजिक सद्भाव खलबल्याउँछ, सरकारमाथिको विश्वास र भरोसा कमजोर पारिदिन्छ भने नागरिकमा निराशाको सञ्चार गराउँछ।
भ्रष्टाचारले आर्थिक, सामाजिक, राजनीतिक वा वातावरण सबै क्षेत्रमा नकारात्मक असर पार्दछ। भ्रष्टाचारको व्यापकता भएका नेपालजस्ता कम विकसित मुलुकमा आर्थिक, सामाजिक विकासमा भ्रष्टाचारले महत्वपूर्ण अवरोध पुर्याउँछ। भ्रष्टाचारविरुद्ध पाँच दशकअघि नै अग्रसरता लिने दक्षिण एसियाली मुलुक नेपाल हो। भ्रष्टाचार नियन्त्रणको लागि विश्वमा प्रचलित सबै अविष्कारलाई नेपालले अनुशरण गरेको छ तर उपलब्धि निराशाजनक छ। बढ्दो र फैलिँदो भ्रष्टाचार नेपालको विकास प्रयासमा प्रमुख अवरोधक हो।
क्लिजगार्ड भ्रष्टाचार उन्मूलन गर्न नसकिए पनि घटाउनचाहिँ सकिन्छ भन्छन् । सिंगापुर, थाइल्यान्ड, हङकङ आदि देशको अनुभवले छोटो अवधिमा पनि भ्रष्टाचार नियन्त्रणमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने देखाएको छ। यसका लागि कठोर राजनीतिक प्रतिबद्धता, राजनेताको त्याग र बलिदान, भ्रष्टाचार विरोधी निकायको पुनर्संरचना, सम्पत्ति र आम्दानीमा पारदर्शिता, सार्वजनिक अधिकारी र सर्वसाधारणको व्यवहार परिवर्तन अनि भष्टाचार विराधी कानुन कार्यान्वयनमा प्रभावकारिताबाट भ्रष्टाचार घट्ने अन्तर्राष्ट्रिय अनुभवले देखाएको छ।
त्यसै गरी शासकीय अंगहरुबीच नियन्त्रण र सन्तुलनको व्यवस्था, सार्वजनिक गतिविधिमाथि तेस्रो आँखाकोे बलियो निगरानी, स्वतन्त्र सञ्चारमाध्यम, नागरिक समाजको संरक्षण र प्रवद्र्धन, निर्वाचन खर्चमा नियन्त्रण, मतदाता शिक्षा, कम खर्चिलो निर्वाचन प्रणाली र सरकार सञ्चालन व्यवस्था, सरकारका गतिविधिमा नागरिकको सहभागिता अभिृवृद्धि, प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्था, उदार अर्थ राजनीतिजस्ता उपायले पनि सदाचारिता कायम गर्दै भ्रष्टाचार निवारण गर्न सकिन्छ। त्यसैले नेपालमा पनि भ्रष्टाचार अन्त्य गर्ने विषयलाई प्रमुख राजनीतिक दल र तिनका नेताहरुले गम्भीरतापूर्वक लिएर अभियानको रुपमा अघि बढाउनुपर्छ ।