ललितपुर:हालसम्म यो वर्ष ललितपुर ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ स्थित थैबको एक पुनर्स्थापना केन्द्र र धनगढीमा गरी १० जना र काठमाडौंको कालिमाटीमा तीनजनामा हैजा पुष्टि भएको छ। योसँगै देशभर १३ जना हैजाका बिरामी पुगेका छन्। यति मात्रै होइन अहिले ललितपुरकै चापागाउँ क्षेत्र वरपर पनि हैजाका शंकास्पद विरामी भेटिएका छन्।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार अहिले कालिमाटी क्षेत्रमा गरी ३ जना हैजाका शंकास्पद विरामी भेटिएका हुन्‚ उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।
हैजा मात्रै नभई पछिल्लो समय काठमाडौं उपत्यकामा झाडापखालाका बिरामी पनि बढेका छन्। जसले गर्दा हैजा संक्रमणको जोखिम बढेको हो। अहिले इडिसिडीको टोलीले प्रदेश, जिल्ला र स्थानीय पालिकासँग समन्वय गरेर थप खोज, संक्रमितको उपचार र संक्रमणको स्रोत पत्ता लगाउने काम भइरहेको छ।
हैजा विशेषत: भिब्रिओ कोलेरा नामक जीवाणुको सङ्क्रमणका लाग्छ र यो जीवाणु प्रायः दूषित पानीमा हुन्छ। जसले गर्दा गम्भीर प्रकृतिको झाडापखाला लागेर जीवनजलको प्रयोग गर्दा पनि पूर्ण ठिक नभए हैजाको शंका गरेर परीक्षण गर्नुपर्ने हुन्छ।
हाल काठमाडौंमा फैलिरहेको हैजा दूषित पानीकै कारण फैलिएकाले खानेपानीको शुद्धतालाई ध्यान दिन र घरघरमा पानी खाँदा विशेष ध्यान दिन सके अहिले हैजाविरुद्धको खोप आवश्यक नरहेको इडिसिडी निर्देशक डा. घिमिरे बताउँछन्। गर्मी तथा बर्खा लागेसँगै देशमा वर्षेनि हैजाको संक्रमण देखा पर्ने गरेको छ। यो वर्ष अहिलेसम्म कसैको ज्यान भने गएको छैन।
विश्व स्वास्थ्य संगठनका अनुसार हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार भएन भने केही घण्टामै व्यक्तिको मृत्यु हुनसक्छ। त्यसैले सामान्य ठानिए पनि हैजा संक्रमण भएपछि धेरै विरामीलाई आईसीयूमा नै उपचार गर्नुपर्ने अवस्थासम्म आउन सक्छ।
जनस्वास्थ्यको हिसाबले हैजाको एउटै केसलाई महामारी सरह मानिन्छत र इडिसिडीले भने हाल उपत्यकाको हैजा नियन्त्रणका लागि खोपको आवश्यक परिहालेको अवस्था नरहेको बताएको छ।
‘सरसफाइको हिसावले उपत्यकालाई नराम्रो भन्न मिल्दैन अहिलेसम्म भेटिएका झाडापखाला र हैजाका विरामीलाई खानेपानीकै समस्याका कारण समस्या देखिएको छ। त्यसैले खानेपानीको सरसफाइमा विशेष ध्यान दिन सकियो भने पनि हैजाबाट बच्न सकिने देखिएको छ। त्यसैले हामीले स्थानीय तहलाई खानेपानीको शुद्धतामा ध्यान दिने गरी कार्यक्रम गर्न भनेका छौँ’‚ डा. घिमिरेले भने‚ ‘अहिलेलाई खोपको आवश्यकता अलि देखेका छैनौँ तर हैजाका केसबढ्दै गए खोप ल्याउने गरी तयारी भने हामीले गरेका छौँ’।
कपिलवस्तुको हैजा नियन्त्रण गर्न ल्याइएको थियो खोप
वर्षातको मौसम सुरु भएसँगै दूषित पानीका कारण पछिल्ला दिन टेकु अस्पतालमा झाडापखालाका बिरामी बढ्दै गएका छन्। काठमाडौँमा यसअघि सन् २०२२ मा हैजाले प्रकोपकै रूप लिएको थियो। त्यस समयमा सुरुमा बागबजारमा एकै परिवारका दुई दिदीबहिनीमा हैजा संक्रमण पुष्टि भएको थियो। त्यसपछि बूढानीलकण्ठ, कालिमाटीलगायतका स्थानमा गरेर ७७ जना हैजाका बिरामी पुष्टि भएको थियो। त्यस समयमा उपत्यकाको हैजा नियन्त्रणको लागि ‘ओरल कलेरा भ्याक्सिन’ल्याइने तयारी गरिए पनि पछि ल्याइएको थियो। तर तीन वर्षअघि कपिलवस्तु जिल्लामा हैजा फैलिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डब्ल्यूएचओसँग मागेर कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका अढाइ लाखभन्दा बढी बासिन्दालाई ‘ओरल कलेरा भ्याक्सिन’ दिएको थियो।
सनोफी हेल्थ केयर इण्डिया प्रालिले बनाएको उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टकपाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै नेपालमा दुई लाख ५२ हजार ३६३ मात्रा आएको थियो।
त्यसबेला कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बाट असोजको मध्यमा सुरु भएको झाडापखालाको प्रकोप शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका बासिन्दामा समेत देखा परेको थियो। त्यसबेला अस्पतालमा भर्ना भएका बिरामीमा दिसा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो।
हैजा प्रभावित पाँचवटा पालिकाका स्थानीयलाई उक्त खोप दिएर त्यहाँ फैलिएको झाडापखाला तथा हैजा नियन्त्रण गरिएको थियो। तर अहिले काठमाडौंको अवस्था फरक भएको भन्दै खोप हाललाई आवश्यक नपरेको इडिसिडी निर्देशक डा. घिमिरेले बताए। ‘सामान्यतया हैजा / झाडापखाला शौचालय पहुँच तथा सरसफाइको कमीले गर्दा दूषित खानेपानी र बाहिरको खानेकुरा खाँदा लाग्छ। हाल काठमाडौंको अवस्था खानेपानी र बाहिरको खानेकुरा खाँदा ध्यान पुर्याउन सकियो भने मात्रै पनि धेरै सहज हुन्छ’‚ उनले भने।
२०६६ सालमा जाजरकोटमा हैजाको महामारी
यसअघि २०६६ सालमा जाजरकोटमा हैजा संक्रमण फैलिँदा महामारीकै रूप लिएको थियो। त्यसबेला जाजरकोटबाट फैलिएको हैजा सुर्खेत, दैलेख, रुकुम, रोल्पा लगायत सात जिल्लामा देखा परेको थियो। त्यतिखेर त्यहाँ हैजाकै कारण धेरैको ज्यान गएको थियो भने त्यहाँका ६० हजारभन्दा धेरै जनतालाई उपचार गराउनु परेको थियो।
काठमाडौं उपत्यकामा पनि सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका छन् तर खानेपानीले गर्दा काठमाडौं उपत्यकामा वर्षातको समयमा हैजाको जोखिम धेरै रहने गरेको छ। नेपालमा वि.सं. १९९० सालको भूकम्पपछि काठमाडौं उपत्यकामा हैजा महामारीकै रूपमा फैलिएको इतिहास छ।
उस्तै खालका लक्षणहरू देखिने हुँदा धेरै मानिस हैजा र झाडापखालाबाट झुक्किने गरेको पाइन्छ। तर हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा धेरै पातलो हुने गर्छ। डा. घिमिरेका अनुसार दिसाबाट चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यसो हुँदा विरामीको शरीरलाई आवश्यक तत्त्व पनि शरीरबाट बाहिरिन्छन्। शरीरलाई आवश्यक पर्ने तत्व न्यून हुँदै जान्छ।
पटकपटक बान्ता आउने, पेट वा खुट्टाका मांसपेशी बाउँडिने जस्ता समस्या अधिकांश विरामीमा देखिने उनले उनको भनाइ छ। तरल पदार्थ धेरै खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा लाग्ने उनले बताए। बिरामी धेरै थाक्ने र धेरै खटपट हुने उनको भनाइ छ।
केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ। अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने उनले बताए।