९ मंसिर २०८१, आईतवार

२४ घण्टापछि यसरी समातियो मान्छे मारेर उखुघारी पसेको बाघ

उखुबारीमा बाघ नियन्त्रणमा लिन अप्ठेरो हुने गरेको अनुभव

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका(२ मा मान्छे मारेर आतंक मच्चाएको बाघ २४ घण्टापछि बल्लबल्ल शुक्रबार बिहान समातिएको छ। अघिल्लो दिन बिहीबार बिहान घाँस काटिरहेकी स्थानीय २६ वर्षीया हीरा शाहलाई मारेर नजिकै उखुबारीमा लुकेको बाघलाई हात्तीसहितको प्राविधिक टोली लामो प्रयासपछि शुक्रबार बिहान नियन्त्रणमा लिन सफल भएको हो।

बेहोस बनाउने सुई लगाएर समातिएको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा राखिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए। उनका अनुसार बेहोस बाघलाई होसमा ल्याउन औषधि दिइएको छ। सामान्यतया सुई लगाएको तीन घण्टासम्म बाघ बेहोस रहन्छ।

‘घाइते’ बाघ कसरी पस्यो बस्तीमा ?
निकुञ्ज कर्मचारीका अनुसार २८४ सेन्टिमिटर लम्बाइको भाले बाघ अन्दाजी १/(१४ वर्षको छ। बाघको आयु सरदर १५ वर्षको हुन्छ। काँधको उचाइ १२२ सेन्टिरमिटर भएको उक्त बाघको पछाडिको दायाँ खुट्टाको तिघ्रामा घाउ थियो। त्यसमा कीरा परिसकेको रहेछ। अगाडिको दायाँ पञ्जाका २ र बायाँ पञ्जामा १ नंग्रा थिएनन्। बाघको माथिको टोक्ने २ दाह्रा हल्लिएका र अन्य दाँत खिइएका छन्।

बाघको रङ पनि खुइलिएको छ। प्राकृतिक बासस्थानमा सिकार गर्न नसकेर वा त्यहाँ अन्य बाघको आक्रमणमा परेर आहाराको खोजीमा बाघ मानव बस्तीमा पसेको हुनसक्ने अनुमान छ। सीमावर्ती भारतीय जंगलबाट बाघ बस्तीमा पसेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत ऐर बताउँछन्। भारतको पिलिभितलगायत उत्तरप्रदेश क्षेत्रमा उखुबारीमा बाघ पाइन्छ। जसलाई ‘सुगर क्यान टाइगर’को नामले चिनिन्छ। बाघले केही दिनअघि भारततर्फ मानिसलाई झम्टिएको र चौपायालाई खाएको सुनिएको दोधारा चाँदनीका बासिन्दा बताउँछन्।

नारायणले नजिक लगे, गणेशले सुई हाने
पहिलो दिन ४ हात्तीसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी ४ बाघ खोज्न निस्किए। पिपरैया पोस्टबाट सिद्धप्रसाद र नारायणप्रसाद तथा शुक्ला पोस्टबाट सुर्तीकली र लबप्रसाद हात्तीहरू घटनास्थल लगिए। सेता कपडाले घेरिएको उखुबारीभित्र बाघ खोजियो। हात्ती र बाघको जम्काभेट हुँदा कैयौँपटक बाघले हात्तीलाई झम्टियो। तर कहिले यता, कहिले उता गरिरहेको बाघ बिहीबार रातिसम्म पनि पक्रिन सकिएन।

‘यो बाघ उखुबारीमा बस्ने बानी परेको बाघ रहेछ। जंगलको बाघलाई त्यहाँ लगेर राख्यो भने एकोहोरो दगुर्छ। जहाँ निस्किन्छ हाम फाल्दै जान्छ,’ निकुञ्जका संरक्षण अधिकृत ऐर भन्छन्, ‘पहिलो दिन यो बाघ उखुबारीको नाप नक्सा जानेजसरी लुक्न यताउता हिँडेको हिड्यै गर्‍यो।’

उखुबारीभित्रको खुला ठाउँमा बाघ आउने अनुमानमा डार्ट गर्ने प्राविधिक जेसीबीबाट निसाना सोझ्याइहेका थिए। खुला ठाउँमा नआउने विश्लेषणपछि अर्को दिन (शुक्रबार बिहान) डार्ट गनसहित प्राविधिक टोली हात्ती चढेर उखुबारी पस्छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममा कार्यरत अनुभवी वन्यजन्तु प्राविधिक फिरुलाल चौधरी र अर्का टीकाराम चौधरी थिए। उनीहरूसँगै राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कोषका वन्यजन्तु प्राविधिक गणेश राना पनि खटिएका थिए। टीकाराम ‘डार्ट गन’ लिएर रुपकली हात्तीमा चढ्छन् भने गणेश नारायणप्रसादमा। शुक्रबार बिहान शुक्लाफाँटाको मालुमेला पोस्टबाट रुपकलीलाई ल्याइएको थियो।

बाघले झम्टिएपछि हात्ती नजिक जान डराइरहेका थिए। नारायणप्रसाद हात्ती भने बाघ नजिक गइरहेको थियो। संरक्षण अधिकृत ऐरका अनुसार शुक्रबार बिहान बाघ उखुघारीभित्र केही समय एक ठाउँमा रोकियो। ‘राति बस्तीमा पस्न नदिन बाघको आहाराका लागि उखुबारीभित्र पाडो राख्यौँ। क्यामेरा पनि थियो। उज्यालो बालेर सुरक्षाकर्मी र हात्तीको रातभर पहरा थियो,’ उनी भन्छन्, ‘बिहान बाघले सानो उखुमा लुक्न छाडेको थियो। ठूलो उखुमा जम्प गर्दा त्यहीँ रोकिने हुनाले सहज भयो।’

अन्य हात्ती नजिक नजाँदा शुक्रबार बिहान नारायणप्रसाद वन्यजन्तु प्राविधिक गणेशलाई लिएर बाघ नजिकै पुग्छ। गणेशले बाघलाई ताकेर ‘डार्ट गन’बाट बेहोस बनाउने सुई प्रहार गर्छन्। पहिलो निसाना फेल खान्छ। त्यसपछि बाघ भाग्न खोज्छ। ‘बाघ भाग्दै थियो। तर दोस्रो निसाना सफल भयो’, गणेश भन्छन्। वन्यजन्तु प्राविधिक एकअर्कासँग इसारामा कुराकानी गर्ने गर्छन्।

यो सँगै गणेशले यसरी अहिलेसम्म दुई बाघलाई नियन्त्रणमा लिएका छन्। गत वर्ष वैशाखमा बेलौरी नगरपालिका–८ मा महिला नै मारेको बाघलाई पनि उनैले डार्ट गनबाट सुई हानेर बेहोस बनाएका थिए। उखुबारीमा बाघ नियन्त्रणमा लिन अप्ठेरो हुने गरेको उनको अनुभव छ। राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रममा उनी दशकदेखि कार्यरत छन्।

वेदकोट नगरपालिका–१० दैजीका रानाले चितवनमा तीन वर्ष डार्टको तालिम लिएका थिए। उनले अहिलेसम्म सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरमा १० चितुवालाई बेहोस बनाएका छन्।

  • १९ श्रावण २०८१, शनिबार प्रकाशित

  • Nabintech