काठमाडौं- पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले र कांग्रेसलाई पालैपालो प्रयोग गर्दै सत्तामा रमाइरहेका थिए। अचानक दुई ठूला दल मिलेपछि पद खुस्किएर रन्थनिएका उनी आफ्नो पदच्युतलाई बंगलादेशी पूर्व प्रधानमन्त्री शेख हसिनाको बहिर्गमनसँग तुलना गरिरहेका छन्।
यतिसम्म कि उनले हसिनापछि आफू पदच्युत हुनुमा पनि अमेरिकाको हात रहेको भन्न भ्याए। यतिबेला उनै प्रचण्डलाई पार्टी अध्यक्षबाट पनि हटाउने विषयमा माओवादी केन्द्रमा बहस चुलिएपछि उनीमाथि तनाव थपिएको छ।
पाँच दिनसम्म चलेको बैठकमा अध्यक्ष प्रचण्डले राखेको ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’सम्बन्धी मौखिक प्रस्तावमाथि २१ पदाधिकारीसहित २२ जना स्थायी समिति सदस्य, केन्द्रीय निकायका प्रमुखलगायतले धारणा राखेका थिए।
कसले के भने ?
बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डको विकल्प खोज्नुपर्ने लिखित प्रस्ताव नै पेश गरेका छन्। उनले पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्नुपर्ने भन्दै नेतृत्वका लागि तीन विकल्प प्रस्ताव गरेका छन्। पहिलो विकल्पमा उनले नेतृत्व हस्तान्तरणको प्रस्ताव गरेका छन्।
‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उनको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उनले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने’ शर्माले प्रस्ताव गरेका छन्।
दोस्रो प्रस्तावमा उनले नेतृत्व पुस्तान्तरणको मुद्दा उठाएका छन्। ‘अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने। हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्यांकन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेश्रो तहका युवालाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने’ उनको प्रस्ताव छ।
तेस्रो विकल्पमा उनले हालको केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशन आयोजना गर्ने प्रस्ताव गरेका छन्। ‘हालको केन्द्रीय कमिटी भंग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी मिति तोक्ने’ शर्माको प्रस्ताव छ।
जनजीविकासँग सम्बन्धित विषयहरू सम्बोधन गर्न नसक्दा जनयुद्धमा साथ दिएको वर्ग र समुदाय पार्टी र नेतृत्वप्रति टाढिँदै गएको उनले उल्लेख गरेका छन्। आफ्नो प्रस्तावमा शर्माले भनेका छन्, ‘पार्टी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्ध तथा जनआन्दोलनमा लागेको वर्ग र समुदायका दैनिक जीवनका समस्याहरू समाधान गर्न नसकेको कारण त्यो वर्ग र समुदाय आज हामीबाट टाढिँदै गएको छ।’
आफ्नो प्रस्तावमा शर्माले माओवादीको वर्तमान अवस्था र हैसियत उजागर गरेका छन्। नेतृत्वको बेवास्ताले माओवादी यतिबेला योजना र संगठनविहीन बनेको भन्दै शर्माले चिन्ता व्यक्त गरेका छन्। जनयुद्धबाट प्राप्त उपलब्धीहरू माथि नै प्रश्न उठ्न थालेको शर्माको बुझाइ छ। गाउँमा माओवादीप्रतिको आकर्षण केही हदसम्म टिकिरहेको भए पनि शहरी क्षेत्रका जनता भने माओवादीप्रति आकर्षित नदेखिएको शर्माले बताएका छन्।
‘त्याग र बलिदान, पार्टी र नेतृत्वले खेलेको ऐतिहासिक भूमिका र जनताको योगदानबाट प्राप्त उपलब्धीहरू आखिर के का लागि भन्ने प्रश्न उठ्यो,’ शर्मा भन्छन्, ‘माओवादी पार्टी योजनाविहीन र संगठनविहीन बन्न पुग्यो। आज हामीसँग संविधानका अलावा न जनाधार छ, न संगठन। केही सीमित उपलब्धीबाहेक न कुनै देखाउन लायक कामहरू छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ।’
शर्माले माओवादीको खस्किँदो जनलहरलाई पनि उजागर गरेका छन्। जति मतदाता थपिँदै जाँदा पनि माओवादीमा भोट हाल्ने जनमत खुम्चिँदै गएको शर्माले उल्लेख गरेका छन्। सशस्त्र जनयुद्धको रापतापमा ०६४ सालको निर्वाचनमा ३१ लाख मत ल्याएको माओवादी त्यसपछि कहिल्यै माथि उठ्न सकेन। त्यपछिका निर्वाचनमा लगातार माओवादीको मत खस्किँदो छ। शर्माले ३१ लाख मत र १२० सिट प्रत्यक्ष जितेको माओवादी ११ लाख मतमा खुम्चिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
शर्मा भन्छन्, ‘त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं। विडम्बना के छ भने आज पार्टीमा जो जति छन्, ती सबै असन्तुष्टि बोकेर बाँचेका छन्। यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनकानी गरिरहेका छौं?’
उनले पार्टीको मूल नेतृत्वले आफूविरुद्ध ‘जनार्दनले पार्टी फुटाउँदैछ’ भनेर भ्रम फैलाएको तथा आफू र अर्का उपमहासचिव वर्षमान पुनविरुद्ध दुष्प्रचार गरिएको भन्दै आक्रोश पोखेका थिए। फूटको हल्लाले देशभरका कार्यकर्तामा पार्टी फूटको त्रास फैलिएकाले त्यसले पार्टी र नेतृत्वलाई नै हानी गरिरहेको उनी बताउँछन्।
महासचिव देव गुरुङले भने उपमहासचिव शर्माले प्रचण्डप्रति उठाएका सवालको प्रतिवाद गरेका छन्। स्थायी समितिको मंगलबारको बैठकमा गुरुङले शर्माप्रति लक्षित गर्दै मुख्य नेतृत्वमाथि ‘नियतवश’ प्रश्न उठाइएको दाबी गरेका छन्। कांग्रेस-एमाले गठबन्धनको सरकार बनेपछि पार्टीको नेतृत्वको विकल्प खोज्नुको नियत स्पष्ट नभएको भन्दै एकजुट हुनुपर्ने बेला अन्तरसंघर्ष चर्काउनु नहुने बताएको बैठकमा सहभागी एक सदस्य बताउँछन्।
२०७९ सालमा वर्षमान पुन र शर्माले महासचिवको दाबी गरिरहेका बेला प्रचण्डले अचानक गुरुङलाई महासचिव बनाएका थिए। त्यसबेलादेखि शर्मा प्रचण्डविरुद्ध खरो रूपमा उत्रिँदै आएका छन्।
अर्का उपमहासचिव पुनले भने तत्कालका लागि पार्टीमा प्रचण्डको विकल्प खोज्नुपर्ने अवस्था नरहेको बताएका छन्। तर, नेतृत्व अविच्छिन्न हुन नहुने र अध्यक्षको कार्यकाल विधानमै तोकिनुपर्ने पुनले बताएका ती सदस्य बताउँछन्। प्रचण्डले जनयुद्धदेखि अहिलेसम्म निरन्तर ३५ वर्ष पार्टीको नेतृत्व गरेकाले अबदेखि त्यस्तो हुन नहुने पुनले बताएको उनी बताउँछन्।
भन्छन्, ‘उहाँले सीधै अध्यक्षको विकल्प खोज्नुपर्छ त भन्नु भएन। तर, उहाँको आशय पनि सधैं एउटै व्यक्ति अध्यक्ष हुन नहुने भन्ने नै थियो।’पार्टी सचिव राम कार्कीले भने अहिलेको नेतृत्व र पार्टीको संगठनले समाजवादी क्रान्तिको नेतृत्व लिन नसक्ने बताएका थिए। उनले पार्टीको नेतृत्व नयाँ पुस्ताले लिनुपर्ने भन्दै नयाँ पुस्ता तयार हुनुपर्ने धारणा राखेको ती सदस्यले बताए।
स्थायी समिति बैठकको तेस्रो दिनको छलफलमा पूर्वसभामुख तथा माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले अध्यक्ष ‘प्रचण्ड’को प्रस्तावलाई समर्थन गर्दै अहिले नै प्रचण्डको विकल्प खोज्ने बेला नभइसकेको बताएकी थिइन्।
तर, आफूलाई सुन तस्करीको आरोप लागेको बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुन तस्करको जस्तो व्यवहार गरेको भन्दै गुनासो पोखेकी थिइन्। बैठकमा सहभागी एक सदस्यका अनुसार उनको परिवारमाथि सुन तस्करीको आरोप लागेको बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रहेका उपाध्यक्ष श्रेष्ठले फोन नउठाएपछि चित्त दुखेको घर्तीले बताएकी थिइन्।
घर्तीको भनाइ उद्धृत गर्दै ती सदस्य भन्छन्, ‘पार्टी बाहिरकाले त सुन तस्करसँग जोडे जोडे, तर आफ्नै अध्यक्ष र उपाध्यक्षले समेत तस्कर नै भएको झैं व्यवहार गर्नुभयो। फोन उठाउनु भएन। त्यसमा मेरो चित्त दुखाइ छ।’
पार्टी अध्यक्ष र उपाध्यक्षले किन फोन नउठाएको भन्ने प्रश्नमा ती सदस्य भन्छन्, ‘उहाँहरूको कुरा कसरी जान्नु ? उहाँहरू (वर्षमान/ओनसरी)को सुन तस्करीको आरोप लागेका व्यक्तिहरूसँगै खाना खाएको तस्बिर नै सार्वजनिक भएपछि विवादमा तानिनसक्ने भएर हुन सक्छ।’
ओनसरी घर्ती र उनका श्रीमान पूर्व अर्थमन्त्री वर्षमान पुनले सुन तस्करीको आरोपमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङको टोलीसँगै खाना खाएको तस्बिर सार्वजनिक भएको थियो। प्रहरीले सुन तस्करीमा संलग्नहरूको उच्चपदस्थहरूसँग उठबस रहेको तथ्य फेला पारेपछि विभिन्न नेताहरूको कल डिटेल जाँचबुझ गरिरहेको थियो। यस्तोमा विवादमा फस्न सक्ने भएकोले प्रचण्ड र नारायणकाजीले फोन नउठाएको हुनसक्ने ती सदस्य बताउँछन्।
प्रचण्डसँगै माओवादीको ग्राफ किन ओरालो ?
१० वर्षे जनयुद्धबाट शान्तिप्रक्रियामा आएको माओवादी पहिलो संविधानसभा सबैभन्दा ठूलो दल बन्यो। पहिलो संविधानसभामा प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० सिटसहित कुल २२० सिट जितेको माओवादी दोस्रो संविधानसभासम्म आइपुग्दा प्रत्यक्षमा २६ र समानुपातिकमा ५४ सिटमा खुम्चियो। ०७४ सालको निर्वाचनमा एमालेसँग मिलेर प्रतिनिधिसभामा कुल ५३ सिट जितेको माओवादी ०७९ को निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकमा १४ गरी ३२ सिटमा खुम्चियो।
माओवादी ओरालो लाग्नुमा प्रचण्डको परिवारवाद र स्वेच्छाचारिता प्रमुख कारण रहेको विश्लेषकहरू बताउँछन्। राजनीतिशास्त्री प्रा. कृष्ण पोखरेल राजनीतिक कार्यदिशा ठीक नभएर माओवादी ओरालो लागेको बताउँछन्। यस्तै, राजनीतिक परिस्थितिको सही आकलन गर्न नसकेर र ठाउँमा पुगेको बेलामा सही निर्णय गर्न नसकेर माओवादीको लोकप्रियता खस्किएको उनको ठम्याइ छ।
भन्छन्, ‘उनको हतारो निर्णय गर्ने र पछि पछुताउने प्रवृत्तिले अस्थिर चरित्रको भाष्य बन्यो। पहिलो संविधानसभामा जनयुद्धको जुन रापताप थियो, दोस्रोमा पुग्दा स्वतः घटेर गयो। उनीहरूको हैसियत कम भयो।’
संविधान निर्माणमा प्रचण्डको भूमिका महत्त्वपूर्ण रहेको उनी बताउँछन्। मधेश केन्द्रित दलहरूसँग मिलेर आन्दोलन गरिरहेका उनी आन्दोलनबाट फर्किएपछि नै संविधान जारी गर्न सम्भव भएको थियो। मुलुकको व्यवस्था परिवर्तनको बाहक माओवादी भए पनि आफ्ना कार्यकर्तामा विश्वास दिलाउन नसक्दा उक्त पार्टी पछि पर्दै गएको उनको आकलन छ।
भन्छन्, ‘उनीहरू त्यो परिवर्तनका बाहक आफू हौं भन्नेमा जति विश्वस्त भए, त्यति विश्वास कार्यकर्तालाई दिलाउन सकेनन्। त्यसले माओवादीका कार्यकर्तालाई पराजयको महशुस भयो। के का लागि हिँडेका थियौं, कहाँ आइपुग्यौं भन्ने भयो। संविधान जारी भएर उनीहरूकै कैयौं एजेन्डा स्थापित हुँदा पनि नेतृत्वले त्यसलाई आत्मसात गराउन सकेनन्।’
कटुवाल प्रकरण प्रचण्डको भुल !
तत्कालीन प्रधानमन्त्री प्रचण्डले २० वैशाख ०६६ मा प्रधानसेनापति रुक्मांगत कटवाललाई बर्खास्त गरेर कुलबहादुर खड्कालाई कायममुकायम जिम्मेवारी दिएका थिए। तर, एमाले-कांग्रेससहितका दलहरूले राष्ट्रपतिलाई निर्णय कार्यान्वयन नगर्न अनुरोध गरेपछि तत्कालीन राष्ट्रपति रामवरण यादवले सरकारको निर्णय फिर्ता गरिदिए। उक्त प्रकरणपछि प्रधानमन्त्री प्रचण्डले ९ महिनामै राजीनामा दिनुपरेको थियो।
प्रचण्डको उक्त निर्णय गलत भएको विज्ञहरू बताउँछन्। जनयुद्धको रापतापमै रुमल्लिएका डा. बाबुराम भट्टराई, मोहन वैद्यलगायत माओवादी नेताहरूको दबाबमा प्रचण्डले कटुवाललाई प्रधानसेनापतिबाट हटाएका थिए।
राजनीतिक विश्लेषक प्रा. पोखरेल केही समयपछि स्वतः रिटायर्ड हुन लागेका कटुवाललाई चलाएर प्रचण्डले गल्ति गरेको बताउँछन्। भन्छन्, ‘केही समयपछि स्वतः रिटायर्ड भएर जाने कटुवाललाई चलाउन कुनै जरुरी थिएन। माओवादीभित्र शान्तिप्रक्रियामा जान नचाहनेलाई पनि प्रचण्डले ल्याइदिएका थिए। एकदमै क्रान्तिकारी देखाएर फर्किनका लागि बाटो बनोस् भन्ने उनीहरूको सोच थियो र उनीहरूकै दबाबमा प्रचण्डले कारवाही गरेका हुन्।’
दौरा-सुरुवाल अवतारमा प्रचण्ड
११ पुस ०७९ मा तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिँदा प्रधानमन्त्री प्रचण्ड पहिलोपटक दौरा सुरुवालमा देखिए। यसअघिका सबै कार्यक्रममा सर्ट, पाइन्ट र कोटमा ठाँटिने प्रचण्डले एकाएक दौरा सुरुवाल अवतारमा सबैलाई चकित पारिदिए।
उनको दौरा सुरुवाल अवतरणको आलोचनासमेत भएको थियो। माओवादीको अस्तित्व मेटिन लागेपछि प्रचण्ड एउटा समुदायलाई खुशी पार्न बाध्यतावश दौरा सुरुवाल अवतारमा देखिएको टिप्पणी भएका थिए। प्रचण्डले पनि संसदलाई सम्बोधन गर्दै क्रान्तिकारिताको प्रदर्शनले निर्वाचनमा परिणाम राम्रो नआएकाले आफूले दौरा सुरुवाल लगाउने निर्णय गरेको बताएका थिए। यस्तै, उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘दौरा सुरुवालमा हेर्न मन छ’ भनेपछि आफूले दौरा सुरुवाल लगाएको प्रष्टीकरण दिएका थिए।
‘प्रतिस्पर्धाको शान्तिपूर्ण राजनीतिमा आएपछि आमजनताको भावनालाई सम्बोधन गर्न सकिएन भने क्रान्तिकारिताको प्रदर्शनले निर्वाचनमा परिणाम राम्रो पनि देखिनँ मैले,’ प्रचण्डले हाँस्दै भनेका थिए, ‘लगाउने जतिले जितेका छन्, नलगाउनेले हारेका छन् भनेपछि त‘ (प्रचण्डको हाँसो)’।
भैंसी पूजा गर्ने प्रचण्डमा नाटकीय परिवर्तन- थाले मन्दिर दर्शन
१९ जेठ ०८० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वर मन्दिरको दर्शन गरेका थिए। त्यसको एक सातापछि उनी काठमाडौंमा पशुपतिनाथ दर्शन गर्न पुगे। मुलुकलाई धर्मनिरपेक्ष बनाएर भैंसीको पूजा गर्दै हिँडेका प्रचण्डको उक्त रूपान्तरणलाई लिएर पक्ष विपक्षमा टीकाटिप्पणी भएका थिए।
प्रचण्डले २९ माघ ०६६ मा सुनसरीको चतरामा भैंसी पूजा गरेका थिए। आफूलाई नास्तिक बताउने प्रचण्डले भैंसी पूजा गरेपछि राष्ट्रिय मिडियाका हेडलाइनमा छाएका थिए।
उनको मन्दिर दर्शनको विषयलाई लिएर कतिपयले सकारात्मक टिप्पणी गरेका थिए भने कतिपयले आलोचात्मक। आलोचकहरूले भने माओवादीको खस्किँदो जनमतका बीच हिन्दूवादीहरूको जनमत बढाउने प्रयास मात्र भएको टिप्पणी गरेका थिए। कतिपयले भने भारतको हिन्दूवादी भाजपा सरकारलाई रिझाउन प्रचण्डमा नाटकीय परिवर्तन आएको टिप्पणी गरेका थिए।
प्रा. पोखरेल दौरा सुरुवाल लगाउँदैमा मान्छे नफेरिने बताउँछन्। धर्मनिरपेक्ष मुलुकमा मन्दिर गएको, पूजा गरेको विषयलाई ठूलो बनाइराख्न आवश्यक नभएको उनी बताउँछन्। भन्छन्, ‘धर्मनिरपेक्ष मुलुकमा समधर्मभावको कुरा त हो नि। राज्यले धर्म नबोक्ने भनेको न हो। कसैले धर्म मान्नै हुँदैन, वैरभाव राख्नुपर्छ भनेको होइन। पूजा गर्दैमा केही फरक पर्दैन। यी रूपका कुरा हुन्, सारका होइनन्।’
शान्ति प्रक्रियापछि माओवादी फुटको श्रृंखला
शान्ति प्रक्रियामा आएको १८ वर्षसम्म माओवादी पार्टी झण्डै एक दर्जन समूहमा टुक्रिएको छ। ५ असार ०६९ मा एकीकृत नेकपा माओवादी विभाजन भयो। मोहन वैद्यको नेतृत्वमा नेकपा-माओवादी गठन गरियो। उनलाई रामबहादुर थापा ‘बादल’, नेत्रविक्रम चन्द ‘विप्लव’, सीपी गजुरेल, देव गुरुङ, पम्फा भुसाल, हेमन्तप्रकाश ओली, खड्गबहादुर विश्वकर्मालगायतले साथ दिएका थिए।
तर, वैद्यको पार्टी पनि जोगिएन। विप्लव वैद्य समूहबाट बाहिरिए भने बादल, भुसाल, गुरुङलगायत नेताहरू माओवादी फर्किए। गुरुङलाई प्रचण्डले पार्टी महासचिव बनाएका छन् भने बादल एमालेमा पुगेका छन्।
यता, बाबुरामको नेतृत्वमा माओवादी फेरि फुट्यो। ०७२ मा नयाँ सविधान जारी भएपछि माओवादीका प्रभावशाली नेता भट्टराई प्रचण्डलाई देखाइदिने भन्दै दलबलसहित बाहिरिए। माओवादीबाट बाहिरिएकाले अहिलेसम्म विभाजनको औचित्य पुष्टि गर्न नसकेका राजनीतिक विश्लेषकहरू बताउँछन्।
प्रचण्डका आगामी चुनौतीहरू
निरन्तरको फुटबाट खुम्चिएको माओवादीलाई आगामी दिनमा अस्तित्व जोगाउनै मुश्किल पर्नसक्ने विज्ञहरू बताउँछन्। यता प्रचण्डले भने नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको प्रस्ताव गरेको सार्वजनिक छ। प्रचण्डले पार्टी एकता गरेमा माधव नेपाललाई प्रधानमन्त्री बनाउने जिम्मा आफूले लिने आश्वासन दिएको नेपाल निकट स्रोत बताउँछन। माओवादीले आफूलाई राजनीतिमा टिकाइराख्न एकता तथा मोर्चा बनाएर अगाडि बढ्नुपर्ने विज्ञहरू बताउँछन्।
फुटेर गएका माओवादीलाई एक ठाउँमा ल्याउनु प्रचण्डको चुनौती रहेको बताउँछन्, प्रा. पोखरेल। भन्छन्, ‘फुटेर गएका माओवादीलाई एक ठाउँमा ल्याउने उनको चुनौती हो। भन्नेबित्तिकै त आउँदैनन्। तिनीहरूलाई विश्वासमा लिने उनमा चुनौती छ। समाजवादी मोर्चा बनाउने कुरा पनि छ। एउटा राम्रो कोर टिम र प्लान बनाएर अगाडि बढ्यो भने माओवादीले राम्रो गर्न सक्ला, नत्र सक्दैन।’
कांग्रेस र एमाले कहिलेसम्म मिल्ने भन्ने यकिन नभएकाले माओवादीलाई राजनीतिमा खेल्ने ठाउँ समाप्त नभएको उनी बताउँछन्। भन्छन्, ‘आफूलाई उचित ढंगले गोलबन्द गरेर, विचार मिल्नेसँग सहकार्य गरेर जानुपर्छ। प्रतिपक्षीको मोर्चा बनाएर अगाडि बढ्नुपर्छ। अगाडि बढ्नै नसक्ने भन्ने होइन, सम्भावना छ। सरकारलाई प्रभाव पार्नसक्ने हैसियत बनाउने ठाउँमा छ।’
पार्टीभित्रै आफ्नो विकल्पको खोजी हुन थालेपछि प्रचण्डसामू अर्को चुनौती थपिएको छ। तर, तत्काल माओवादीमा प्रचण्डको विकल्प नभएको विज्ञहरू बताउँछन्। प्रा. पोखरेल छलफल भए पनि माओवादीमा अहिले नै ठूलो उलटफेरको सम्भावना देख्दैनन्। माओवादीमा तत्काल प्रचण्डको विकल्प नभएको उनको दाबी छ।
भन्छन्, ‘तत्काल प्रचण्डको विकल्प देखिँदैन। ठूलो रुखको मुनि उम्रिएका बिरुवा हत्तपत्त बढ्दैनन। प्रचण्डको जत्रो कद छ, त्यसका सामु अन्य अरू नेताहरू बामपुड्के देखिन्छन्। माओवादीमा क्षमतावानहरू छन्। तर, उनीहरूबीच पनि नेतृत्वको हानाथाप छ।’
पार्टीभित्र तीव्र असन्तुष्टि बढिरहेका बेला माओवादी फुट्नसक्ने चुनौती पनि प्रचण्डमा छ। प्रा. पोखरेल कम्युनिस्टहरूमा फुट्ने र जुट्ने ठेगान नहुने भएकाले पार्टी फुटको सम्भावना नकार्न नसकिने बताउँछन्। तर, पार्टी फुटाएर गएकाहरूले पनि विभाजनको औचित्य पुष्टि गर्न नसकेको अवस्थामा पार्टी फुटाउने हिम्मत माओवादीका नेतामा नआउन सक्ने उनको अनुमान छ।