२२ असार २०८२, आईतवार

डुडुवा आसपासका वस्तिहरु उच्च जोखिममा

बर्षामा पानीको निकै उच्च वहाव हुने गरेकाले चटार गाउँ र सिम्रि गाउँ उच्च जोखिममा

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको खडकवार सिरानहुदै कोहलपुर भएर बग्ने डुडुवा खोलाले दिनानुदिन तीव्र कटान गर्दा यस आसपासका गाउँहरू उच्च जोखिममा परेको छन । कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ र खेतीयोग्य जमिन कटान गर्दै डुडुवा वग्न थालेपछि सो खोला आसपासका गाउँ जोखिममा परेको हुन ।

कोहलपुर १० चटारमा समेत बर्षामा पानीको निकै उच्च वहाव हुने गरेकाले चटार गाउँ र सिम्रि गाउँ उच्च जोखिममा परेको स्थानियहरु वताउछन । खडेरिको मौसममा कमिला हिड्न सक्ने यस खोलामा बर्षामा भने दाउरा घाँस गर्नेहरु निकै जोखिम मोलेर वन जंगल जाने गरेका छन । केहि बर्ष अघि आएको बाढिले बन्दामा रहेको पुल नै बगाएपछि अहिले उक्त क्षेत्रमा खोला तर्ने विकल्प समेत नभएको चटारका पटवारि थारु वताउँछन ।

यसैगरि डुडुवा गाउँपालिका १ चौफेरीबासीहरु डुडुवामा बाढी आउनासाथ घरभित्र कतिबेला पानी पस्ने हो, भन्ने चिन्तामा पर्ने गरेका वताउछन । डुडुवा गाउँपालिका–१ का वडा अध्यक्ष पटेश्वर कुर्मीले कटानका कारण वडाभित्रका बस्तीहरू उच्च जोखिममा परेको बताउँदै नियन्त्रणका लागि प्रदेश र संघ सरकारसँग माग गरिएको बताए ।

कुर्मीका अनुसार, ‘डुडुवा खोलाको कटान निरन्तर र तीव्र गतिमा भएकाले गाउँका धेरै घरहरू उच्च जोखिममा छन् ।’ लुम्बिनी प्रदेश सरकार मातहतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगञ्जले डुडुवा खोला नियन्त्रणका लागि गुरुयोजना बनाएको भए पनि पर्याप्त बजेट विनियोजन नहुँदा गुरुयोजना कार्यान्वयन हुन सकेको छैन ।

लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवले डुडुवा कटान नियन्त्रणका लागि तत्काल तटबन्धनको आवश्यक भएको बताए । मन्त्री यादवले भने ‘सरकार गम्भीर नहुँदा जनतालाई पिडा झेल्नु परी रहेको छ चौफेरीका जनता अझै पनि सडक संजालसँग जोडिन पाएका छैनन् भने अन्धकारमा कटान र डुबानको जोखिम मोलेर बस्न बाध्य भएका छन । यादवले डुडुवा तटबन्धनका लागि पहल गरी रहेको बताउदै यसै वर्ष बिजुली र सडक पुर्‍याउनका लागि प्रदेश सरकारबाट बजेट विनियोजित गरिएको जानकारी दिए ।

बाँकेमा डुडुवा बाहेक राप्ती नदी, मानखोला, मोरङगा खोला र अन्य साना खोलाको कटानले सयौँ बिघा खेतीयोग्य जमिन नश्ट गरिरहेको छ भने दर्जनौँ गाउँहरू उच्च जोखिममा छन् ।

 

  • ३ भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech