९ मंसिर २०८१, आईतवार

मानवेचविखन रोकथामका लागि नेपाल र भारतका सुरक्षा अधिकारीको समन्वयात्मक बैठक  सम्पन्न
  • न्युज मानसराेवर

नेपालगञ्ज : खुला सीमानाका कारण सीमा नाकाबाट भइरहेको मानवेचविखन रोकथामका लागि नेपाल र भारतका सुरक्षा अधिकारी लगायत विभिन्न सरोकारवालाबिच नेपालगञ्जमा समन्वयात्मक बैठक  सम्पन्न भएको छ ।  बाँके युनेस्को क्लब र अपच्र्युनिटी भिलेज नेपालले संयुक्त रूपमा सो बैठकको आयोजना गरेको थियो ।

बैठकमा सहभागि दुबै देशका सुरक्षा अधिकारीहरू, स्थानीय सरकारी प्रतिनिधिहरू, नागरिक समाजका संगठन र सामाजिक कार्यकर्ताहरूले मावबेचविखन रोक्न दुबै देशविच समन्वय, सहकार्य र सहयोग आदान प्रदानको आवश्यकतामा जोड दिएका छन् ।

बैठकको अध्यक्षता गर्दै अपच्र्युनिटी भिलेज नेपालका कार्यकारी निर्देशक एन्टोनिया सुसाइले मानवबेचविखन गम्भीर अपराध भएकोले सो रोक्न सबैको सहयोग आवश्यक रहेको बताए ।

बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङले मानव बेचबिखनलाई निष्तेज गर्न समाजमा जनचेतना बढाउनुका साथै रोजगारका अवसरहरू प्रदान गर्नुका साथै ठोस योजना बनाएर सबै सरोकारवाला लाग्नु पर्ने बताए ।  भारतको रुपईडिहा प्रहरी चौकीका प्रहरी उपनिरीक्षक आशिषकुमार सिंहले खुला सिमानाका कारण बढिरहेको मानव बेचबिखन रोक्न भारतले हर प्रकारको सहयोग गर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेकी प्रहरी निरीक्षक शिवा थापाले मानव बेचबिखन विरुद्ध लड्ने एकमात्र उपाय भनेको सबै सम्बन्धित अधिकारीहरू र गैर–सरकारी संस्थाहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिइन् ।  नेपालगञ्ज उपमहानगरपालिकाको मानव बेचबिखन विरुद्धको स्थानीय समन्वय समितिका अधिकारी आशा शाहीले मानवबेचविखनमा परेकालाई फर्काउन ठुलो चुनौती बनेको बताइन् ।

नेपालगञ्ज २ का वडाध्यक्ष मनोज श्रेष्ठले गरिबी, बेरोजगारी र भारत–नेपाल सिमानाको कमजोर सुरक्षा प्रणाली मानव बेचबिखनको मुख्य कारण भएको जनाउँदै युवतीहरू र महिलाहरूका लागि रोजगारीका अवसरहरूको सिर्जना गर्नुका साथै भारत–नेपाल सिमानामा कडा सुरक्षा प्रणाली आवश्यक रहेको बताए ।

कार्यक्रममा बाँके युनेस्को क्लबका प्राविधिक सल्लाहकार साजिद अलि सिद्दिकी, अपच्र्युनिटी भिलेज नेपालका कार्यक्रम संयोजक सत्यनारायण यादव, वडा प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक गोपाल जेठारा, देहात संस्था भारतका हसन फिरोज लगायतले पनि मानवबेचविखन रोक्न आ–आफ्नो सुझाव दिएका थिए ।

बैठकमा जिल्ला युवा क्लब नेटवर्क, बाँके युनेस्को क्लब, माइती नेपाल, टिनी ह्यान्ड, शक्ति समूह, साथी संस्था, आफन्त नेपाल र सहयात्री नेपालका प्रतिनिधिहरू समेतको उपस्थिति रहेको थियो ।

  • ८ भाद्र २०८१, शनिबार प्रकाशित

  • Nabintech