इन्टरनेटको बढ्दो पहुँचसँगै नेपालमा सामाजिक सञ्जालको प्रयोग गर्नेको संख्या निकै बढेको छ जसले सामाजिक मूल्यमान्यतामा असरसमेत पार्न थालेको छ । यद्यपि सामाजिक सञ्जालका प्रशस्त फाइदा छन् । त्यसैले यस्ता सामाजिक सञ्जाललाई नियमन गर्न र करको दायरामा ल्याउन कानूनी व्यवस्थासमेत गरिएको छ । यस्तै चिनियाँ एप टिकटकमाथि सरकारले अश्लीलता प्रवर्द्धन गरेकोलगायत आरोप लगाएर नेपालमा प्रतिबन्ध लगायो । अहिले त्यो प्रतिबन्ध खुला गर्न सरकार तयार भएको र टिकटकको माउ कम्पनी बाइटडान्सले नेपालको नियमकानून स्वीकारेर नेपालमा दर्ता गर्न सहमत भएको समाचार आएको छ । यो सकारात्मक मान्नुपर्छ ।
नेपालले फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाललाई नेपालमा दर्ता भएर मात्र सञ्चालन गर्न पाउने नियम ल्याएको छ । सरकारको यो कदमको शुरूमा विरोध भए पनि गूगल, माइक्रोसफ्ट, फेसबुक, भाइबर आदि नेपालमा दर्ता भए । यिनको विद्युतीय कारोबारको आधारमा नेपालमा कर तिर्नुपर्ने व्यवस्था गरियो । केही कम्पनीले कर पनि तिरे । तैपनि नेपालमा यस्ता सामाजिक सञ्जाललाई जथाभावी सञ्चालन गर्न दिनुअघि थुप्रै कुरामा ध्यान दिन आवश्यक छ । यी सामाजिक सञ्जालका माध्यमबाट गुप्तचरी हुने, व्यक्तिको गोपनीयता कायम नरहने जस्ता समस्या आएकै कारण नेपालमा दर्ता हुन अनिवार्य गरिएको हो ।
यस्तोमा टिकटकमाथिको प्रतिबन्ध हटाउन लागिएको समाचार आएको छ । यसलाई खुला गर्नुअघि विगतमा किन प्रतिबन्ध लगाइएको थियो भनेर हेर्नुपर्छ र अब खुलाउँदा केके कुरामा सुधार आयो त भनेर हेर्नुपर्ने हुन्छ । समग्रमा त्यतिबेला देखिएका समस्या सम्बोधन गर्ने सुनिश्चिता पनि गर्नुपर्छ । भाइरल हुन सजिलो हुनाले अन्य सामाजिक सञ्जालमा भन्दा टिकटकमा बढी समस्या देखिएको थियो । खासगरी यसबाट नकारात्मक फैलाउने, घृणा बढाउने, अश्लीलता फैलाउने, विभाजन ल्याउन सक्ने आदि समस्या थिए । जनता सही ढंगले शिक्षित नभएकाले यस्ता सञ्जालमा आएका कुरालाई पत्याउने गरेको पाइन्छ । डीप फेकको प्रयोग गरेर गलत सन्देश दिने सम्भावना छ । मिडिया क्षेत्रमा फिल्टर गरेर समाचार दिने सिद्धान्त र प्रचलन भएकोमा त्यस्तो कुनै पनि नियन्त्रण नहुने र जे कुरालाई पनि समाचार बनाइदिने र भाइरल गर्ने गरेको आरोप टिकटकले खेपेको थियो । सबैभन्दा ठूलो आरोप त अश्लीलताकै थियो ।
सामाजिक सञ्जालबाट दिइने समाचारले मिडियालाई जिम्मेवार बनाउन सक्दैन । सञ्चारको स्वतन्त्रता भनेको जिम्मेवारीसहितको स्वतन्त्रता हो । फेसबुक, ट्वीटरमा मनपरी गाली गर्न पाउने माध्यम बनेको थियो जसलाई सरकारले रोक्न सकेन । टिकटकलाई मात्रै प्रतिबन्ध लगाउँदा कतिपयले भूराजनीतिक कारण हो भनेर पनि व्याख्या गरेका छन् । स्वतन्त्र इन्टरनेटको अभियानकर्मीहरूले भने टिकटक प्रतिबन्धलाई वाक् स्वतन्त्रतामाथिको हमलाका रूपमा व्याख्या गरेका छन् । खासमा सरकारले कुनै अग्रिम सूचना नदिई टिकटक बन्द गर्ने घोषणा गरेको थियो । अमेरिकाले टिकटक बन्द गर्ने कानून बनाउँदा उक्त एप अमेरिकी कम्पनीलाई बेच्न २७० दिनको म्याद दिएको छ । नबेचेमा प्रतिबन्ध लाग्ने कानून गत अप्रिलमा ल्याएको थियो ।
नेपालमा भने भारतले जस्तै हठात् बन्द गरिदियो जसले गर्दा टिकटक प्रयोग गरेर व्यवसाय गरेका धेरैलाई असर गर्यो । टिकटककै कारण धेरैको व्यवसाय र व्यापार चलेको पनि हो । यी सामाजिक सञ्जालले पारेको अर्को असर भनेको विज्ञापन बजार हो । अहिले यी सामाजिक सञ्जालले विज्ञापनको ठूलो अंश ओगट्न थालेका छन् । तर, ती सम्बन्धमा अनुगमन गर्न नेपालको क्षमताले भ्याउन कठिन देखिन्छ । केही कम्पनी करमा दर्ता भएका छन् र कर तिरेका पनि छन् । तर, कति विज्ञापन यस क्षेत्रमा गएको छ भन्ने कतै पनि तथ्यांक पाउन सकिँदैन । सामाजिक सञ्जाल विज्ञापन दाताका लागि सजिलो र सस्तो माध्यम पनि बनेको छ । तर, विज्ञापन गएअनुसार कर पनि सरकारले उठाउनुपर्यो । सरकारलाई राजस्व र जनतालाई अश्लील र विभाजनकारी श्रव्यदृश्य सामग्रीविनाको कन्टेट पनि सुनिश्चित गर्नुपर्यो ।