१० मंसिर २०८१, सोमबार

कोहलपुरमा यातायात सेवा कार्यालयको माग, मुख्यमन्त्री र यातायात मन्त्रीलाई ज्ञापनत्र

कोहलपुरमा यातायातको सेवा कार्यालय स्थापना गर्ने कामका लागि पक्रिया सुरु हुन्छ : मुख्यमन्त्री आचार्य

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा यातायात व्यवस्थाको सेवा कार्यालय स्थापना गर्न माग राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रि प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापन पत्र बुझाइएको छ । प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालको नेतृत्वमा जनप्रतिनिधिसहित स्थानीय राजनीतिककर्मी सहितको सर्वदलीय सर्वपक्षीय टोलीले मुख्यमन्त्री आचार्य र यातायात व्यवस्था मन्त्री न्यौपानेलाई ज्ञापन पत्र बुझाएको हो ।

कोहलपुरमा यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टर मात्रै रहेको तर, त्यहाँबाट नेपालगञ्ज सवारी साधन अनुमति पत्रको लागि जानुपर्ने बाध्यता रहेको भन्दै समस्या समाधानको लागि कोहलपुरमा यातायातको सेवा कार्यालय स्थापना गर्न माग राखिएको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले कोहलपुरमा छिट्टै यातायातको सेवा कार्यालय स्थापना गरिने प्रतिबद्धता व्यक्त गरे ।

‘नेपालगञ्जको कार्यालय नेपालगञ्जमै रहन्छ । त्यो कार्यालय कतै जाँदैन । तर, कोहलपुरमा यातायातको सेवा कार्यालय स्थापना गर्ने कामका लागि पक्रिया सुरु हुन्छ’। उनले भने, ‘जनतालाई कसरी सहज रुपमा सेवा दिन सकिन्छ । त्यतातर्फ सरकारको ध्यान छ ।’ संघीय सरकारले अनुमति दिनुपर्ने भएकाले त्यसका लागि पहल गरिने जनाइएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले प्रदेश सरकारले कोहलपुरको समग्र विकासको लागि ध्यान दिनुपर्ने बताए ।

उनले यातायातको सेवा कार्यालय स्थापना गर्न जग्गाको र भवनको कुनै अभाव नरहेको भन्दै चाँडैनै सेवा कार्यालय सञ्चालनमा ल्याउन माग राखेका छन् । यातायात सेवा कार्यालय कोहलपुरमा चाहिएको छ । हामीले के सहयोग गर्नुपर्छ तयार छौं’नगर प्रमुख आचार्यले भने,‘जनताको सेवाको लागी प्रदेश सरकारले ध्यान दिनुपर्यो ।’

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रि प्रचण्ड विक्रम न्यौपानले सेवा प्रवाहलाई सरल बनाउने सरकारको नीति भएकाले सेवा केन्द्र विस्तारका लागी सरकारले पहल लिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हामीले नीतिगत निर्णय गरेर यसलाई कार्यान्वयनमा लैजानछौं’उनले भने,‘कर्मचारीको व्यवस्थापन गरेर काम अघि बढ्छ ।’

लुम्बिनी प्रदेश सरकारले पूरक बजेट नल्याउने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले पूरक बजेट नल्याउने स्पष्ट पारेका छन् । चालु आर्थिक वर्षका लागि स्वीकृत बार्षिक कार्यक्रमहरुको पूर्ण कार्यान्वयनको लागि सरकारले कार्यविधि र कार्ययोजना निर्माण गरिसकेको जानकारी दिँदै छुटेका योजनाहरुलाई अर्को आर्थिक वर्षमा समेट्न सकिने उनले बताएका हुन् ।

यसअघि माओवादी नेतृत्वको सरकारमा आचार्य आफै आर्थिक मामिला मन्त्रीको रुपमा यो आर्थिक वर्षका लागि बजेट ल्याएका थिए ।मुख्यमन्त्री आचार्यले स्थानीय तहका जनप्रतिनिधि, राजनीतिककर्मी लगायत सरोकारवालासंग छलफल गर्दै योजना माग गर्दा प्रक्रियागत रुपमा आउन आग्रह गरे ।

‘तपाईहरु स्पष्ट हुनुहोस, सरकारले पूरक बजेट ल्याउदैन । छुटेका योजनाहरुलाई अर्कोबर्ष समेट्नेगरी तयारी थाल्छौं, योजना माग गर्ने प्रक्रिया हुन्छन् । ती पक्रिया पूरा गरेर आएका योजनाहरुलाई समेट्छौं’, उनले भने । योजना माग्न मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरुमा आउन नपर्ने, जिल्ला तहका बिषयगत कार्यालयहरुमार्फत योजनाहरु अघि बढाउन उनले आग्रह गरे ।

अघिल्ला सरकारले थालेका तर, पूरा हुन नसकेका योजनाहरुलाई वर्तमान सरकारले सम्वोधन गरेको पनि आचार्यले जानकारी दिए । १६८ खानेपानी आयोजना पूरा गर्नेगरी बजेटले सम्वोधन गरिएको उनले बताए ।

बर्दिया जिल्लामा आठ वटा स्थानीय तह छन् । समग्र जिल्लाको सन्तुलित विकासका लागि प्रदेश सरकारले एकिकृत योजना निर्माण गरेर कार्यान्वयन चरणमा लैजान नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य लालबहादुर श्रेष्ठले बताए । समानुपातिक रुपमा बजेट निर्माण प्रक्रिया अपनाउन आग्रह गरिएको हो ।

बर्दिया जिल्लामा भारतसंग जोडिएका नाकाहरुलाई व्यापारिक नाकाको रुपमा विकास गर्न माग राखिएको छ । ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिना भट्टराईले गुलरिया नाका सुचारु गर्न माग राखिन् । लुम्बिनी प्रदेशका संस्थापक उपसभामुख कृष्णी थारुले बर्दिया जिल्लाको समग्र विकासमा ध्यान दिन आग्रह गरिन् ।

टोलीमा आएका सदस्यहरुले किसानले दुधको भुक्तानी नपाएको बताएका थिए । यस्तै अटिजम भएका बालबालिकाको संख्या बढ्न थालेको भन्दै समस्या समाधान गर्न सरकारलाई आग्रह गरिएको छ । यस्तै समावेशी तथा सांकेतिक भाषा शिक्षा कार्यक्रम चलाउन पनि माग राखिएको छ ।

  • १० भाद्र २०८१, सोमबार प्रकाशित

  • Nabintech