२० असार २०८२, शुक्रबार

दियालो परिवारले हरितालिका तीज विशेष कार्यक्रम गर्ने तयारी

कार्यक्रममार्फत नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य

  • न्युज मानसराेवर

कोहलपुर,बाँके : समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले दुई दशकभन्दा लामो समयदेखि काम गर्दै आएको दियालो परिवारले यस वर्ष पनि विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। संस्था सामाजिक रूपान्तरणको अभियानमा निरन्तर लाग्दै आएको छ। संस्थाले धार्मिक, सांस्कृतिक, साहित्यिक, सडक नाटक, श्रव्यदृश्य गीति अभियान लगायतका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

यस वर्ष, दियालो परिवारले हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। कोहलपुर न्यूरोडको खुल्ला मैदानमा मिति २०८१ भाद्र १८ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा तीज पर्वसँग सम्बन्धित सांस्कृतिक गतिविधिहरू विशेष रूपमा प्रस्तुत गरिनेछ।

कार्यक्रममा हरेक दिन हुने सांस्कृतिक प्रस्तुतिहरू तीजको मौलिकता झल्काउने खालका हुनेछन्। तीज गीत र नृत्य प्रतियोगिताका साथै, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक कार्यक्रम पनि कार्यक्रमको आकर्षणका रूपमा रहनेछ।

संस्थाले यस पटकको कार्यक्रमलाई फरक ढंगले आयोजना गर्ने निर्णय गरेको छ, जसको उद्देश्य तीज पर्वको मौलिकतालाई कायम राख्दै तीजको वास्तविक गरिमा झल्काउनु रहेको छ। हालका वर्षहरूमा तीज पर्वको नाममा देखिएको फेसन र आधुनिकता प्रर्दशनले पारम्परिक लोकभाका र संस्कृति हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै, यस पटक कार्यक्रममार्फत नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमबाट संकलित रकम संस्था सञ्चालनका लागि आवश्यक सामग्री खरिद र कार्यालय व्यवस्थापनमा प्रयोग गरिनेछ। दियालो परिवारले सबै सरकारी, गैरसरकारी संस्था, उद्योग, व्यापारिक प्रतिष्ठान, र सरोकारवाला निकायलाई यस कार्यक्रमको सफलताका लागि सहयोगको अपिल गरेको छ।

यो कार्यक्रम दियालो परिवारको सामाजिक रूपान्तरणको अभियानलाई अझ सशक्त बनाउने विश्वासका साथ आयोजना गर्न लागिएको हो।

  • १२ भाद्र २०८१, बुधबार प्रकाशित

  • Nabintech