सुर्खेत\कर्णालीका दुर्गम क्षेत्रका नागरिकको सहजताका लागि भनेर प्रदेश राजधानी वीरेन्द्रनगरमा ‘अतिथि आवास गृह’ बनिरहेको छ ।कर्णालीका हिमाली तथा पहाडी जिल्लाबाट आउने नागरिकलाई बस्नका लागि सहज र सस्तो होस् भन्ने उद्देश्यसहित प्रदेश सरकारको लगानीमा उक्त आवास गृह निर्माण गरिएको हो ।उक्त आवास गृह वीरेन्द्रनगर नगरपालिका–६, सिटी हल र राम मन्दिरको छेउमा बनाउन थालिएको छ । पहिलो चरणमा एक तला बनाइएको छ ।
०७९ चैत ३ गते ठेक्का सम्झौता गरी काम निर्माणको काम अगाडि बढाइएको थियो । ०८० असार सम्पन्न गर्ने उद्देश्यसहित सुरेन्द्र निर्माण सेवाले दुई करोडमा कामको जिम्मेवारी लिएको थियो ।अहिले पहिलो चरणको काम सकिए पनि दोस्रो चरणको कामको सुरु भएको छैन । आवास गृहको बाँकी तलाको लागि आवश्यक बजेट विनियोजन भएको देखिँदैन । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशन दीपा हमालका अनुसार पहिलो चरणको काम सक्न ढिलाइ भएकाले केही महिना म्याद थपसमेत गरिएको थियो । जसका कारण अहिले ठेकेदारलाई भुक्तानी दिन बाँकी नै छ ।
भुक्तानी दिएपछि बाँकी भवन निर्माणका लागि सरकारसँग बजेट माग गरिने उनले रातोपाटीलाई बताइन् । आवास गृह निर्माण वीरेन्द्रनगर नगरपालिकासँगको समन्वयमा प्रदेश सरकारको शिक्षा विकास निर्देशनालयबाट अघि बढाइएको हो ।
तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक वर्ष ०७८÷७९ मा आवास गृह निर्माण गर्ने भनेर पाँच करोड रकम विनियोजन गरेका थिए । तर उक्त वर्ष कार्यान्वयनमा आउन सकेन । पछिल्लो वर्ष दुई करोड विनियोजन गरेर पहिलो चरणको काम सकिएको र बाँकी कामका लागि अबको केही समयमा प्रक्रिया अघि बढ्ने हमाल बताउँछिन् ।
उनका अनुसार ४७२ वर्गमिटर क्षेत्रफलमा बनिरहेको भवनको सम्पूर्ण काम सम्पन्न गर्न १० करोड रकम लाग्ने छ । यो भवनको डीपीआर वीरेन्द्रनगर नगरपालिकाले ११ लाख ७९ हजार रुपैयाँ खर्च गरेर बनाएको थियो । डीपीआर अनुसार चार तलाको भवनमा २८ वटा कोठा रहनेछन् भने एउटा कोठामा चार जना बस्न मिल्ने गरी निर्माण भइरहेको छ । उक्त भवनमा एउटा सुविधा सम्पन्न सभाहल पनि बनाइने छ ।
भवन निर्माण भएर सञ्चालनमा आएको खण्डमा कर्णालीका दुर्गम हिमाली तथा पहाडी भेगमा नागरिकहरू वीरेन्द्रनगर आउँदा महँगो रकम खर्च गरेर होटेलमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।
हमालका अनुसार पहिलो तलामा भान्छा, डाइनिङ हल, शौचालय, स्नान घर रहनेछ । बाँकी तलमा बस्नका लागि कोठा बनाइने छ । सबैगरी डेढ सय जना बस्न मिल्ने गरी भवनको डिजाइन गरिएको छ ।‘कर्णाली दुर्गम छ । हिमाली तथा पहाडी जिल्लाबाट कुनै नागरिक उपचारका लागि सुर्खेत आउनुहुन्छ तर होटेलमा बस्न आर्थिक समस्या हुन्छ,’ हमालले भनिन्, ‘त्यस्ता दुर्गमका बासिन्दाको सहजता लागि भनेर आवास निर्माण भएको हो ।’