काठमाडौं: विश्वमा मंकीपक्स (एमपक्स) को संक्रमण लगातार बढिरहेको छ। अफ्रिकी देश कंगोमा त त्यसबाट १६ हजार जनाभन्दा बढी संक्रमित भइसकेका छन्। मिडिया रिपोर्टहरूका अनुसार एमपक्सबाट कंगोमा मात्र हालसम्म ५७० भन्दा बढीको मृत्यु भइसकेको छ। बिफरको उन्मूलनपछि सन् १९८० मा मध्यपूर्वी र पश्चिम अफ्रिकामा यसको संक्रमण देखिएको थियो। त्यसयता निरन्तर देखिइरहेको छ। हालसम्म १११ भन्दा बढी देशमा एमपक्स पुष्टि भइसकेको छ।
यसपटक पनि मंकीपक्स भाइरसको संक्रमण बढ्दो ट्रेन्डमा छ। यसपटक यो भाइरस दक्षिण अफ्रिका र युरोपपछि पाकिस्तान आइपुगेको छ।तीव्र गतिमा बढ्दै गएको एमपक्सको जोखिम नेपालमा पनि रहेकाले २ भदौमा स्वास्थ्य मन्त्रालयले सबैलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रेस विज्ञप्ती जारी गर्यो। छिमेकी देशहरूमा द्रुत गतिमा फैलिरहेकाले यसको जोखिमबाट बच्न आग्रह गरेको छ।
अफ्रिकामा फैलिरहेको एमपक्स विस्तारका कारण १४ अगस्ट २०२४ मा डब्लूएचओले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको थियो। र, नेपाल पनि त्यसको जोखिममा रहेको मन्त्रालयले प्रष्ट्याएको थियो। गत वर्ष पहिलोपटक नेपालमा एक ६० वर्षीया विदेशी महिलामा एमपक्स संक्रमण पुष्टि भएको थियो। एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि ती विदेशी महिलाबाट नमूना संकलन गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएकामा उनी एमपक्स संक्रमित पाइएकी थिइन्।
गत वर्ष देखिइसकेकाले यस वर्ष पनि नेपाल एमपक्सको जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन्। नेपालबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी कंगोमै शान्ति मिसनका लागि आउजाउ गरिरहेका हुन्छन्। उनीहरू मार्फत नेपालमा पनि एमपक्स संक्रमण भित्रिन सक्ने जोखिम उत्तिकै छ। तथापि, शान्ति मिसनबाट फर्किने सैनिक र प्रहरीहरूको पर्याप्त जाँचपछि मात्र स्वदेश फर्काइने गरेको छ।
डा. बुढाथोकीका अनुसार जोखिमको अर्को कारण केही नेपाली नागरिक कंगो आउजाउ गर्नु तथा अफ्रिकी मुलुकका नागरिक कामदार वा पर्यटकका रूपमा नेपाल आउनु पनि हो। त्यसरी आउजाउ गर्नेहरूले पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने उनी बताउँछन्।
तथापि, परिवारको कुनै सदस्य विदेशबाट फर्कियो भने स्वास्थ्य मापदण्डको पालना गरेको पाइँदैन। आफ्नै घरको सदस्य त हो भनी विदेशबाट आउनेबित्तिकै क्वारेन्टिनमा राख्नुको साटो सीधै सम्पर्कमा गइहाल्ने प्रवृत्तिले जोखिम अझ बढाएको छ। त्यस्तै लापरवाहीका कारण नेपाल एमपक्सको जोखिममा देखिएको डा. बुढाथोकी बताउँछन्।
पूर्व तयारी के ?
उनका अनुसार नेपालमा एमपक्स संक्रमण प्रवेश नगरोस् भनेर मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलहरू र अन्य स्थल नाकाहरूमा हेल्थ डेक्स राखेको छ। हेल्थ डेक्समा रहेका स्वास्थ्यकर्मीहरूले एमपक्सको शंकास्पद लक्षण देखिएका व्यक्तिहरूलाई नजिकैको अस्पतालमा पुर्याएर परीक्षण गराउँछन्। बाँकीलाई क्वारेन्टिनमा बस्न परामर्श दिने गरेका छन्। डा. बुढाथोकी भन्छन्, ‘एमपक्स संक्रमण भएका देशबाट वा देशसँग सम्बन्धित सम्पर्कमा आएका व्यक्तिलाई तीन सातासम्म क्वारेन्टिनमा बस्न अनिवार्य गरिएको छ।’
एमपक्सको निदानका लागि देशभर १४ वटा अस्पताल तोकिएका छन्। ती अस्पतालका छाला रोग विशेषज्ञलाई उपचारका लागि तोकिएको छ। सोहीअनुसार मन्त्रालयले अस्पतालहरूमा किट पनि उपलब्ध गराएको उनी बताउँछन्। मन्त्रालयले अहिले १११५ कल सेन्टर पनि सञ्चालनमा ल्याएको छ। नागरिक र स्वास्थ्यकर्मी जो कसैले १११५ मा फोन गरी मंकीपक्स रोगसम्बन्धी जानकारी दिनसक्ने डा. बुढाथोकी बताउँछन्। कुनै कारण यो रोगबाट कुनै व्यक्ति संक्रमित नै भयो भने पनि तिनै १४ वटा अस्पतालमा बिरामीको उपचारका लागि चाहिने सरसामान भण्डारण गरिएको उनको भनाइ छ।
सरकारले एमपक्स नियन्त्रणका लागि भ्याउन सक्नेजति जनशक्ति र साधन स्रोत व्यवस्था गरिसकेको उनको दाबी छ। तर, आम जनताले नै स्वास्थ्य मापदण्ड नअपनाई लापरवाही गरे एकैचोटी १०, २० संक्रमित देखिन थाले अहिलेको स्रोत र साधनले धान्न नसक्ने उनको भनाइ छ।
त्यसकारण आम जनताले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र नेपाल सरकारले बनाएको क्वारेन्टिन, आइसोलेसन बस्ने प्रोटोकल पनि अपनाउन आवश्यक रहेको उनी बताउँछन्। भन्छन्, ‘नजिकै शंकास्पद लक्षण देखिनासाथ स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्था अथवा १११५ मा खबर गरेमा नेपालमा एमपक्स संक्रमण देखिहाले भने पनि रोकथाम गर्न सहज हुनेछ।’
के हो मंकीपक्स (एमपक्स) ?
मंकीपक्स एक प्रकारको भाइरस हो। यो भाइरस पहिलोपटक बाँदरहरूमा देखिएकाले मंकीपक्स नाम राखिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। पछिल्लो समयमा यो भाइरसको नाम एमफक्स राखिएको उनको भनाइ छ। यसको बढी जोखिममा १५ वर्षमुनिका बालबालिका छन्।
पहिलोपटक अफ्रिका महादेशमा देखिएको एमपक्स रोग केही वर्ष अघिसम्म त्यहीं मात्र सीमित थियो। तर, सन् २०२२ मा अफ्रिकी महादेशबाट युरोपभर फैलेर भारत र नेपालमा समेत देखिइसकेको छ।
डा. पुनका अनुसार एमपक्स दुई प्रकारका छ- टाइप-१ र टाइप-२। टाइप-२ यसअघि युरोपभर फैलिएको थियो। त्यो समयमा समलिंगीहरूमा बढी देखिएको थियो। यस वर्ष देखिएको एमपक्स टाइप-१ हो। र, यो टाइप-२ भन्दा तुलनात्मक रूपमा अलि कडा मानिएको छ। टाइप-१ विगतमा भारत र नेपालमा समेत देखिइसकेको छ। यसको फैलिने तीव्रता बढी पाइएको छ।
लक्षण
मंकीपक्स संक्रमित व्यक्तिहरूमा शुरूमा लक्षण थाहा पाउनै मुस्किल हुन्छ। विस्तारै लक्षण देखिन थाल्छ। ज्वरो आउने, त्यसको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिने, अनुहार, हत्केला र पैतालामा डाबर देखापर्ने, टाउको, ढाड र मांसपेशी दुख्ने, शरीरका ग्रन्थीहरू बढ्नेजस्ता लक्षणहरू देखापर्छन्।
यो रोग छोएर, खोक्दा, थुक, र्याल, घाउ, खटिरा, शरीरबाट निस्केको तरल पदार्थ र यौनसम्पर्कद्वारा सर्छ। आँखामा संक्रमण र दृष्टि गुम्नु, गर्भ खेर जानु र मृत्यु हुनु यस रोगका जटिलता हुन्।
तथापि, नेपालमा चिन्ता लिइहाल्नुपर्ने अवस्था नरहेको डा. पुन बताउँछन्। तथापि, यो भाइरस संक्रमण भएकाले कुन बेला कस्तो अवस्था सिर्जना गर्ने हो भनेर उच्च सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ। कोभिड-१९ महामारीबाट पाठ सिकेर उच्च सतर्कता अपनाउनुको विकल्प नरहेको उनी बताउँछन्।
‘कोही व्यक्ति मंकिपक्स संक्रमण भएको स्थानबाट आएको होस् या एमपक्स फैलिएका मानिससँग नजिकको सम्बध भएका हुन्, त्यस्ता व्यक्तिलाई क्वारेन्टिनमा राख्न आवश्यक छ,’ डा. पुन भन्छन्, ‘शंकास्पद लक्षण देखिएका व्यक्तिले छुट्टै बसिदिए भने पनि अन्यमा सर्न पाउँदैन। र, भयावह रूप लिनबाट रोक्न सकिन्छ।’