९ मंसिर २०८१, आईतवार

गुल्जार शहर नेपालगञ्ज सुनसान हुदा रुपैडिहा भरिभराउ

रुपैडिहा बजार नेपाली उपभोक्ताहरूको भरमा रहदा नेपालगञ्ज वजार भने राम भरोसामा

  • न्युज मानसराेवर

बाँके: चाड पर्वको मौसम भएपनि गुल्जार शहर नेपालगञ्ज यतिवेला सुनसान देखिएको छ । चाडपर्वका वेला वजार गर्नेहरुको चहलपहल हुनुपर्नेमा सुनसान देखिएपछि नेपालगञ्जका ब्यापारी चिन्तित छन । उता सिमावर्ती वजार रुपैडिहामा भने नेपाली ग्राहकहरुले भरिभराउ भएको छ । जता ततै चोक सडक देखि पसल सम्म नेपालीहरु मात्र देखिएपछि रुपैडिहाका ब्यापाीलाई भने विक्रि वितरण गर्न मुस्किल परिरहेको छ ।

बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको देखेपछि नेपालगञ्जका बयापारी भने जिल्लिनु सिवाय अरु विकल्प नभएको एकलैनिका एक ब्यापारी अहमद अन्सारीले भने । । तीज आइसक्दा पनि नेपालगञ्ज बजारमा खासै चहलपहल छैन । सीमापारि भारतीय बजार रूपैडिहामा भने किनमेल गर्ने नेपाली उपभोक्ताको भीड लागेको छ । घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौं संख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन् ।

अधिकांश उपभोक्ता नेपाली हुने भएकाले रुपैडिहामा नेपाली रुपैँया र मूल्यमा कारोबार हुने गरेको छ । व्यापारीहरूले पसलमा काम गर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाको सहजता गरेका छन् । नेपाली उपभोक्ताको भरमा रुपैडिहा बजार चलेको स्थानीय व्यापारी सुजित वैश्यले बताए । रुपैडिहा बजारमा खाद्यन्न पसल गर्दै आएका वैश्यले नेपाली चाडपर्व तीज दशैं तिहारमा नेपाली उपभोक्ताको भीडभाडले आफूहरूलाई भ्याइनभ्याइ हुने गरेको उल्लेख गरे । यतिबेला तीजपर्वका लागि खाद्यान्नसँगै कपडा पसलमा भीडभाड रहेको उनको भनाइ छ ।

चाडपर्व मात्र होइन अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रूपैडिहामै निर्भर रहने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । रुपैडिहा बजार नेपाली उपभोक्ताहरूको भरमा टिकेको छ । दैनिक करिब एक करोडको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ । दैनिक उपभोग्यका सामान, तरकारीलगायतका वस्तु किन्न सयौं नेपाली सीमा पारि जान्छन् । नेपालगञ्जमा चाडपर्वको बेलामा पनि कारोबारमा कमी आएको श्रेष्ठको भनाइ छ ।

नेपाली उपभोक्ता भारतीय बजारमा किनमेलका लागि जाने समस्या अहिलेको होइन । नेपाली उपभोक्ता नेपालगञ्जमै रोक्ने लक्ष्य नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको प्रत्येक निर्वाचनका बेला चुनावी नारा बन्ने गर्दछ, तर निर्वाचनपछि सेलाउँदै जाने गरेको छ ।

सङ्घका महासचिव भीमबहादुर रानाभाटले सस्तो पाइने लोभमा नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा जाने चलनले नेपालगञ्जका व्यवसायी धराशायी भएको बताए । सस्तो पाइने लोभमा खाद्यान्नदेखि लत्ता कपडाको किनमेलका लागि पनि नेपाली उपभोक्ताको सीमावर्ती भारतीय बजार रुपैडिहामा भीड लाग्ने गरेको छ । हामीले बेला बेलामा उपभोक्ता जागरण कार्यक्रम गरेर सम्झाउने काम गरेका छौ,नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव रानाभाटले भने, भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने भ्रम नेपाली उपभोक्तामा हट्न सकेको छैन ।

पछिल्लो एक सातायता किनमेल गर्न भारतीय बजार रुपैडिहातर्फ जाने नेपाली उपभोक्ताको भीड बढेको छ । तीजको किनमेल गर्न भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को लागेपछि यतिबेला नेपालगञ्जका व्यापारी चिन्तित् छन् । बाँकेका ग्रामीण क्षेत्र तथा बर्दिया, दाङ, सुर्खेत, दैलेख, जाजरकोट र सल्यान लगायतका उपभोक्तासमेत किनमेलका लागि भारत जाने गरेका छन् ।

  • २० भाद्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech