९ मंसिर २०८१, आईतवार

आज अनन्त चतुर्दशी इन्द्रजात्रा पर्व, विश्वकर्मा पुजा पनि आजै

सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

यसअघि तान्त्रिक विधिद्वारा पूजागरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एकरात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । “भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए ।

यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ ।

अनन्त चतुर्दशी
भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु)को पूजा आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रणगरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ ।

श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणबस जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । अनन्त चतुर्दशीको व्रत पनि आज गर्नुपर्ने समितिले जनाएको छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमाका दिन इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

विश्वकर्मा पूजा

कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ ।

बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकैरातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए ।
प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रबीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेलले बताए ।

यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनसमेतमा पूजा आराधना गरिन्छ ।

वास्तु शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने प्रचलन रहेको वास्तुशास्त्री पोखरेलले जानकारी दिए । “पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनःजागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पनि अहिले वास्तु विद्याको महत्व बढेको छ”, उनले भने ।

यस अवसरमा आज नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय डिल्लीबजारमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा वास्तु शास्त्रका विषयमा छलफल एवं प्रवचन कार्यक्रम गरिनेछ । कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी लगायतको उपस्थिति रहने जनाइएको छ ।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित

  • Nabintech