५ आश्विन २०८१, शनिबार

भेरीमा आर्थोस्कोपी कार्यशाला,नयाँ भवनमा ‘अप्रेशन थिएटर’को उदघाटन,

अव विस्तारै शल्यक्रिया सेवा नयाँ भवनबाट दिने तयारी

  • न्युज मानसराेवर

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले आजदेखि नयाँ भवनबाट शल्यक्रिया सेवा दिन शुरु गरेको छ । शल्यक्रिया कक्षको बरिष्ठ आर्थोस्कोपी सर्जन प्रा.डा.अमित जोशीले लाइभ सर्जरी गरेर उदघाटन गरे । आर्थोस्कोपी कार्यशालामा सहभागि हुन नेपालगञ्ज आएको अवसरमा डा.जोशीबाट शल्यक्रिया कक्षको उदघाटन गराइएको अस्पतालका मेसु डा.प्रकाश बहादुर थापाले जानकारी दिए ।

घुँडाको भित्रि भागमा चोट लागेर घाइते भएका नेपालगञ्जका १८ वर्षीय युवकको शल्यक्रिया गरेर प्रा.डा.जोशीले भेरीको नयाँ भवनको शल्यक्रिया कक्षको उदघाटन गरेका हुन् । शल्यक्रियाको भिडियो लाइभ गरिएको थियो । प्रा.डा. जोशीले कार्यशालाका सहभागि आर्थोकोपी सर्जन तथा अर्थोपेडिक सर्जनहरुसँग लाइभ भिडियो संवाद गर्दै शल्यक्रिया गरेका थिए ।

त्यसक्रममा सर्जनहरुले विभिन्न जिज्ञासाहरु राख्ने गरेका थिए भने प्रा.डा.जोशीले जवाफ दिने गरेका थिए । करिव एक घण्टा लगाएर शल्यक्रिया गरिएको थियो । लिगामेन्टको शल्यक्रिया भेरीमा यसअघि पनि भइरहेका थिए । अव विस्तारै शल्यक्रिया सेवा नयाँ भवनबाट दिने तयारी गरिएको मेसु डा.थापाले बताए ।

भेरी अस्पतालमा आर्थोस्कोपी कार्यशाला

विशिष्टिकृत सेवा प्रवाह गर्दै आएको पश्चिम नेपालको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पतालले आफ्नो व्यानरमा पहिलो पटक आर्थोस्कोपी कार्यशालाको आयोजना गरेको छ ।

आर्थोस्कोपी सोसाईटी अफ नेपाल (एसोन)को सहकार्यमा देशभरका विभिन्न सहरहरुमा कार्यरत आर्थोस्कोपी सर्जन, अर्थोपेडिक सर्जनलगायतलाई नेपालगञ्जमा बोलाएर आफ्नै भवनमा पहिलोपटक कार्यशाला आयोजना गरिएको अर्थोपेडिक सर्जन समेत रहेका अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.प्रकाश बहादुर थापाले जानकारी दिए ।

उनका अनुसार विशिष्टिकृत सेवा प्रवाहसँगै अस्पतालमा शैक्षिक गतिविधिहरुलाई पनि बढाउँदै लगिएको छ । यसले गर्दा बिरामीहरुले पनि गुणस्तरीय सेवा प्राप्त गर्ने डा.थापाको भनाइ छ । ‘अस्पतालकै व्यानरमा आयोजना गरिएको यस खालको कार्यशाला पहिलो हो डा.थापा भन्छन–‘सेवा दिनेमात्र ठूलो कुरा होइन शैक्षिक वातावरणलाई पनि प्राथमिकता दिनुपर्छ । जसले गर्दा बिरामीहरुले सहज र स्तरीय सेवा प्राप्त गर्छन् ।’

उपचारका क्षेत्रमा आएका नवीनतम प्रविधि तथा खोज अनुसन्धानबारे चिकित्सकहरु बीच अनुभव आदानप्रदानले स्तरीय सेवामा सहजता थप्ने चिकित्सकहरु बताउँछन् । यसअघि डा.थापाकै नेतृत्वमा नेपालगञ्जमा एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन) ले मेरुदण्ड रोग सम्बन्धी कार्यशाला गरेको थियो ।

पछिल्लो समय स्तरीय सेवासँगै विज्ञ चिकित्सकहरुलाई बोलाएर शैक्षिक गतिविधि र अनुसन्धानमुलक विषयमा विचार विमर्श गर्ने थलोको रुपमा भेरी अस्पताल बन्दै गएको उनले बताए । कार्यशालाको संयोजनकारी भूमिका निर्वाह गरेका भेरी अस्पतालका अर्थोपेडिक विभाग प्रमुख डा. तिर्थेन्द्र खड्काका अनुसार उपचार पद्धतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदानका साथै आर्थोस्कोपी सर्जरीमा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामाना गर्ने भन्ने विषयलाई पनि कार्यशालाले महत्व दिएको छ ।

बि एण्ड बि अस्पतालमा कार्यरत आर्थोस्कोपी सर्जनसमेत रहेका एसोनका अध्यक्ष प्रा.डा. अमित जोशी, सचिव विवेक वासुका, साइन्टिफिक अध्यक्ष निरब कायस्थ, आर्थोस्कोपी सर्जन डा. तिर्थेन्द्र खड्का, एसोनका सदस्य डा.विहानी श्रेष्ठ, एसोन सदस्य समेत रहेका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.विश्वनाथ शर्मा लगायत दर्जन बढी चिकित्सकहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

७० बढी कार्यशालामा सहभागी चिकित्सकहरुको स्वागत गर्दै नेपालगञ्जका बरिष्ठ अर्थोपेडिक सर्जन डा.विनोद थापाले यस्ता कार्यक्रमले चिकित्सकहरु बीचमा उपचार पद्धतिबारे नयाँ प्रविधिको प्रयोग, समस्या र निराकरणमा उपयोगी हुने बताए । उनले आफ्ना पालामा यस्ता प्रविधिको उपयोग गर्ने अवसर नपाएको सुनाएका थिए । आर्थोस्कोपी सर्जरी भनेको दुरबिन पद्धतिबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्धती हो ।

सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार यो प्रविधिबाट गरिन्छ । यो विधिबाट प्रायः घुँडा, कुम गोलीगाँठोको उपचार गरिन्छ । भेरी अस्पतालमा घुँडाको र कुमको उपचारमा यो प्रविधिको प्रयोग भइरहेको चिकित्सकहरु बताउँछन् ।

खेलको क्रममा वा विभिन्न चोटपटक लाग्दा घुँडाको भित्रि भागको (लिगामेन्ट) नशा तथा वासर (मेनिस्कस)हरु च्यातिएको खण्डमा यो पद्धतिबाट नयाँ नशा (लिगामेन्ट) बनाउने तथा च्यात्तिएको वासर (मेनिस्कस)लाई टाँका लगाएर उपचार गर्ने दुरवीन पद्धतिलाई आर्थोस्कोपी सर्जरी भनिन्छ । घुँडाको आर्थोस्कोपी सर्जरी गर्दा बिरामीलाई बेहोस बनाउनु पर्दैन । ढाडमा सुई दिएर (स्पाइनल एनेस्थेसिया) खुट्टा लठ्याएर सानो प्वाल बनाई यो सर्जरी गर्ने गरिएको अर्थोपेडिक सर्जन डा.लक्ष्मण सिक्देलले बताए ।

  • ५ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech