९ मंसिर २०८१, आईतवार

राप्तिसोनारीमा झोल मल तथा जैविक मलसम्बन्धी तालिम

पछिल्लो समय बालीनालीमा विषादीको बढ्दो प्रयोगका कारण सुरक्षित उत्पादनमा चुनौती

  • न्युज मानसराेवर

राप्तिसोनारी :बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिकाका किसानलाई लक्षित गरी झोल मल तथा जैविक मलसम्बन्धी तालिम दिन सुरु गरेको छ । राप्तीसोनारी गाउँपालिका ७ सर्राबाट तालिमको सुरुवात गरिएको कृषि शाखाका नायब प्राविधिक सहायक खड्क केसीले बताए । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले झोल मलले बालीमा लाग्ने रोग तथा कीरा नियन्त्रण गर्ने र रासायनिक मलको तुलनामा लागत खर्च पनि कम लाग्ने भएकाले किसानहरुलाई जैविक मल उत्पादनमा जोड दिन आग्रह गरे।

पछिल्लो समय बालीनालीमा विषादीको बढ्दो प्रयोगका कारण सुरक्षित उत्पादनमा चुनौती थपिएका बेला किसानहरुलाई यस सम्बन्धी सचेतनाका लागि पनि यो तालिमको आवश्यकता रहेको पालिका अध्यक्षको भनाइ रहेको छ ।

झोल मल गाईवस्तुको गोबर, पिसाब, असुरो, सिस्नु, तितेपाती, निम र बकाइनो जस्ता विभिन्न वनस्पतिबाट तयार पारिन्छ । रासायनिक मल तथा रासायनिक विषादीको सट्टामा झोल मल प्रयोग गरी रोग तथा कीरा नियन्त्रण गर्न सकिने भएकाले यसको महत्व बढ्दै गएको वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष दीपबहादुर थारुले बताए ।

वडा नम्बर ७ बाट सुरु भएको तालिम पालिकाका १ देखि ९ नम्वरसम्मकै वडामा दिने तयारी पालिकाको छ । त्यसका लागि चालू आर्थिक वर्षमा ६ लाख बजेट विनियोजन गरिएको केसीले बताए । तालिममा झोल मल तथा जैविक मल कसरी बनाउने ?  यसका फाइदाहरु के–के छन् ?  यसको प्रयोग विधि, विषादी नियन्त्रणमा यसले पुर्‍याउने लाभ लगायतका बारेमा किसानहरुलाई जानकारी गराइनेछ ।

  • ९ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech