१४ कार्तिक २०८१, बुधबार

नेपालगञ्जमा खोपद्वारा बचाउन सकिने रोगहरुको खोजपड्तालमा जोड

खोपद्वारा बचाउन सकिने रोगहरु : पोलियो, दादुरा-रुबेला, नवजात शिशु धनुष्टंकार र जापानिज इन्सेफ्लाइटिस

  • न्युज मानसराेवर

नेपालगञ्ज: खोपद्वारा बचाउन सकिने रोगहरुको खोजपड्तालका लागि सबैको साझा दायित्वमा जोड दिइएको छ । परिवार कल्याण महाशाखा र विश्व स्वास्थ्य संगठनको सहकार्यमा नेपालगञ्जमा आयोजित छलफल कार्यक्रममा खोपद्वारा बचाउन सकिने रोगहरुको नियन्त्रण, निवारण र उन्मूलनमा सबैको साझा दायित्व हुनुपर्नेमा जोड दिइएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीको अध्यक्षतामा आयोजित छलफलमा सरकारी निकायबाट मात्र यो सम्भव नहुने भन्दै सबै पक्ष र निकायको हातेमालो आवश्यक रहेको औंल्याइएको छ । चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी लगायतको सहभागितामा भएको छलफलमा खोपद्वारा बचाउन सकिने रोगहरु पोलियो, दादुरा-रुबेला, नवजात शिशु धनुष्टंकार र जापानिज इन्सेफ्लाइटिसको खोडपड्तालका लागि सरकारी, निजी क्षेत्र, स्वास्थ्यकर्मी तथा जनस्वास्थ्यकर्मीको भूमिकाका विषयमा चर्चा गरिएको थियो ।

नेपालबाट सन् २०२६ मा दादुरा-रुबेला उन्मूलन गर्ने लक्ष्य लिइएको छ । यसअघि सन् २०२३ मा उन्मूलन गर्ने लक्ष्य लिइए पनि नेपालगञ्जमै त्यसको महामारी देखिएपछि समय पछाडि धकेलिएको हो । यो बर्ष भने लुम्बिनी प्रदेशमा एउटा पनि केश भेटिएको छैन । पोलियो सन् २०१० पछि देखिएको छैन भने नवजात शिशु धनुष्टंकार सन् २००५ मा निवारण गरिएको थियो । जापानिज इन्फ्लाइटिस भने देखिइरहेको छ । पाकिस्तान र अफगानिस्तानमा पोलियो देखिइरहेकाले जोखिम मानिएको छ ।

बाल रोग विशेषज्ञ डा. पियुष कुमार कनोडिया तथा विश्व स्वास्थ्य संगठनका डा. सोनिया भगत र डा. प्रस्तुति शर्माले खोपद्वारा बचाउन सकिने रोगहरुको अवस्था, अपनाउनुपर्ने सजकता, रोगहरु खोजपड्तालमा सम्बन्धित सरोकारवालाको भूमिका लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । छलफल कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गिरीले सबैको साझा प्रयासबाट खोपद्वारा बचाउन सकिने रोगहरुको नियन्त्रण, निवारण र उन्मूलन सम्भव रहेको बताए । बरिष्ठ बाल रोग विशेषज्ञ डा. विनोद खेतानले यसमा सबैको साझा दायित्व रहेको बताए ।

कार्यक्रममा भेरी अस्पतालका निमित्त मेसु डा. दिनेश कुमार चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, चिकित्सक, स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी लगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए ।

  • ९ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • Nabintech