६ मंसिर २०८१, बिहीबार

कोहलपुरमा हरेक हप्ता देउडा

कर्णाली मूलका युवाहरूलाई आफ्नो पहिचान जोगाउन हौसला प्रदान

  • न्युज मानसराेवर

बाँके:  बाँके जिल्लाका विभिन्न स्थानहरूमा बसोबास गरिरहेका कर्णाली मूलका व्यक्तिहरूले आफ्नो पहिचान र सांस्कृतिक धरोहरको संरक्षण गर्न देउडा खेललाई पुनर्जीवित गरिरहेका छन् । हरेक हप्ता, विशेष गरी शुक्रवार र शनिवारका दिन, बाँकेको कोहलपुर खुला मैदान र बैजनाथ गाउँपालिकाको बानियाभारमा देउडा खेलको आयोजना हुने गर्छ। कर्णाली देउडा सांस्कृतिक समाज र विभिन्न कर्णाली सेवा समाजहरूले यस सांस्कृतिक अभियानलाई निरन्तरता दिँदै आएका छन्।

जुम्ला सेवा समाजका अध्यक्ष गौरिकान्त आचार्यले देउडा खेललाई संरक्षण र प्रवर्द्धन गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ। यस कार्यक्रममा सहभागीहरूको उत्साह र सहभागिताले कर्णाली मूलका व्यक्तिहरूबिच गहिरो सांस्कृतिक बन्धन सिर्जना गरेको उहाँले बताउनु भयो। कालिकोट एकता समाजका विष्णुकान्त आचार्य र देउडा गायिका चित्रा शाही जस्ता संस्कृतिका सर्जकहरूको समेत देउडा खेल संरक्षणमा ठूलो योगदान रहेको छ।

देउडा खेलको ऐतिहासिक पक्षमा चर्चा गर्दै कालिकोट एकता समाजका अध्यक्ष विष्णुकान्त आचार्यले देउडा खेलको उत्पत्तिमा ुदेउताु शब्दको गहिरो अर्थ रहेको बताउनुभयो। उहाँका अनुसार, यो खेल पुरानो परम्परा अनुसार समूहमा खेलिने हुनाले यसलाई डेरो अर्थात् लामो समूहमा खेलिने खेल पनि भनिन्छ। यस खेलमा महिलाहरू र पुरुषहरू एक पट्टि लामबद्ध हुँदै सांस्कृतिक बाङ्गो रचना गर्दै खेलिन्छ, जसलाई प्रेम, माया, आपसी स्नेह, र सांस्कृतिक भावनाले प्रेरित बनाउँछ।

कर्णालीका पश्चिम पहाडी जिल्लाहरू, जुम्ला, कालिकोट, दैलेख, मुगु र अन्य क्षेत्रमा देउडालाई मुख्य सांस्कृतिक सम्पदाका रूपमा हेरिन्छ। देउडा केवल खेल मात्र नभएर सांस्कृतिक धरोहरको रूपमा पहिचान गरिएको छ, जसले स्थानीय भाषाको संरक्षण मात्र नभएर समाजमा सामाजिक एकताको भावना पनि पैदा गरेको छ। देउडा गायिका चरित्रा साहीका अनुसार यस खेलले कर्णाली मूलका युवाहरूलाई आफ्नो पहिचान जोगाउन हौसला प्रदान गरेको छ।

केही समय अघिसम्म कर्णाली र आसपासका क्षेत्रहरूमा मात्र सीमित यो देउडा संस्कृति अचेल भने स्वदेश सङ्गै विदेशी भूमिमा पुगेका नेपालीहरूमाझ पनि लोकप्रिय हुँदै गइरहेको छ। यो खेल विभिन्न सांस्कृतिक उत्सव र विशेष कार्यक्रमहरूमा समेत समावेश गरिन्छ। देउडाको यो सांस्कृतिक खेलमा भाषा, सङ्गीत, र समूहगत भावना अभिन्न अङ्गका रूपमा रहन्छ। यस सांस्कृतिक परम्पराले नेपाली पहिचानको संरक्षण गर्दै यस क्षेत्रको पहिचानलाई बलियो बनाएको छ।

  • ११ कार्तिक २०८१, आईतवार प्रकाशित

  • Nabintech