८ मंसिर २०८१, शनिबार

लुम्बिनीमा ९० प्रतिशत फूल आन्तरिक उत्पादनबाट पूर्ति

फूल टिपेर भण्डारण गरेर राख्न कोल्डस्टोर नहुँदा सुकेर जाने, ढुसी लाग्ने तथा कुहिइने समस्या

  • न्युज मानसराेवर

रुपन्देही: लुम्बिनी प्रदेशमा करिब ९० प्रतिशत फूल आन्तरिक उत्पादनबाट धानिएपनि भारतीय खुला बजारबाट आउने मालाको मूल्यसँग यहाँका व्यवसायीहरु प्रतिस्पर्धा गर्न नसकेको बताउँछन् । फूलको सिजन नहुँदा यहाँ फूलको आयात गर्नुपर्ने अवस्था अहिले यहाँ उत्पादन भएको अवस्थाले देखाएपनि किसान र व्यवसायीहरुले चाहेजसरी मूल्य पाउन नसकेको जनाएका छन् ।

फूलको बिरुवा रोपेको साढे दुई महिनाबाट उत्पादन लिन सकिने र वर्षमा तीन पटकसम्म खेती गर्न सकिने भएकाले पछिल्लो समय किसानहरू फूलखेतीमा आकर्षित भएका छन् । प्रदेश सरकार र स्थानीय सरकारले पनि यसको प्रद्धर्दनका लागि नीति कार्यक्रम र बजेटमा योजना समेटेका छन् तर भारततबाट अवैध रुपमा आइरहेको फूलमाला रोक्ने योजना भने बनाउन सकेका छैनन् ।

कृषि विकास निर्देशनलायका वरिष्ठ बागवानी विकास अधिकृत बरालीका अनुसार यो वर्ष १२ करोड ३४ लाख ३३ हजार ३ सय ३९. २ रूपैयाँको सयपत्री फूल उत्पादन भएको अनुमान गरिएको छ । योसँगै प्रदेश सयपत्री फूलको मालामा आत्मनिर्भर भएको हो । प्रदेशमा धेरै जिल्लाका अधिकांश स्थान फूलखेतीका लागि हावापानी उत्कृष्ट छ । प्रदेशका १२ वटै जिल्लामा विभिन्न जातका फूलखेती विस्तार भएको छ ।

प्रदेशका १२ वटै जिल्लामा पुष्प व्यवसाय प्रवर्द्धन गर्न ज्ञान केन्द्रबाट किसान अगुवाहरूलाई पुष्पखेतीको तालिम दिने, बजारीकरणमा सहयोग गर्ने, केही कृषि उपकरण प्रदान गर्ने काम भएको प्रदेशको कृषि मन्त्रालयका कर्मचारी बताउँछन् । तर भारतबाट आउने मालासँग प्रतिस्पर्धा गर्न भने यहाँका व्यवसायीलाई मुस्किल पर्ने गरेको छ । रुपन्देहीको भैरहवा, बुटवल, नवलपरासी, कपिलवस्तु, दाङ, बाँकेका विभिन्न बजारमा भारतबाट सहजै फूलमाला आउने गरेको छ ।

तिहार उज्यालो तथा फूलहरूको पर्व पनि हो । जताततै झिलिमिली र ढकमक्क फूलले घर–घरमा प्रकाश र उत्सव भर्ने गर्छ । कात्तिक महिना धेरै प्रजातिका फूल फुल्ने मौसम हो । त्यही भएर कात्तिकमा जताततै रंगीबिरंगी फूलहरूले बगैँचा ढकमक्क हुन्छ । सयपत्री र गोदावरीजस्ता मौसमी फूलहरूले घरहरू सजिसजाउ हुन्छन् ।

कात्तिकमा सबैभन्दा बढी सयपत्री, गोदावरी र मखमली फुल्छन् । सयपत्री मंसिर, पुस र माघबाहेक अरू महिनामा सहजै पाइन्छ । मखमली अरू मौसममा समेत फुल्ने भए पनि यसको प्रयोग तिहारमा मात्र हुन्छ । गोदावरी फूल भने तिहारबाहेक अरू महिनामा पनि प्रयोग हुन्छ । पुष्प व्यवसायीहरूका अनुसार लुम्बिनीका सबै जिल्लामा तिहारका लागि चाहिने फूल फुल्छन् । तर, तीमध्ये सयपत्रीको माग सबैभन्दा बढी हुन्छ ।

प्रदेशमा पुष्प व्यवसायीहरूको संख्या बढ्दै जाँदा यो वर्ष १२ करोडभन्दा बढीको सयपत्री फूल उत्पादन भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार किसानलाई पुष्प व्यवसाय खासगरी सयपत्री खेतीको लागि प्रोत्साहन गरेका कारण उत्पादन बढेको हो ।

निर्देशनालयका महानिर्देशक यामनारायण देवकोटाका अनुसार यो वर्ष प्रदेशका १२ वटै जिल्लामा व्यवसायिक सयपत्री खेती गरिएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको तथ्यांक अनुसार फूलको उत्पादन प्रदेशमा प्रतिरोपनी ६ सय किलो रहेको छ ।

निर्देशनालयका बागवनी विकास अधिकृत सुनैना बरालीका अनुसार यो वर्ष प्रदेशमा ३० लाख ८ हजार ५सय ८३.३५८ किलो सयपत्री फूल उत्पादन भएको हो । प्रदेशभरका किसानले गरेको व्यवसायिक सयपत्री फूल खेतीको कुरा गर्दा यो वर्ष १२ लाख ३४ हजार ३ सय ३३ वटाभन्दा बढी माला उत्पादन गर्न सकिन्छ ।

प्रदेशमा यो वर्ष २५.७२ हेक्टर क्षेत्रफलमा व्यवसायिक सयपत्री खेती गरिएको छ । यसको साथै करिब १० कठ्ठा क्षेत्रफलमा व्यवसायिक मखमली खेती समेत गरिएको छ । सयपत्री खेतीको व्यवसायिक खेती गर्नेमा सबैभन्दा बढि दाङ जिल्लामा खेती गरिएको हो । निर्देशनालयको तथ्यांक अनुसार ६.३८ हेक्टर क्षेत्रफलमा दाङमा सयत्रपी खेती गरिएको छ । यस्तै कपिलवस्तुमा ६ हेक्टरमा, रूपन्देहीमा ४.३० हेक्टरमा, गुल्मीमा २.७८ हेक्टरमा र पाल्पामा १.८८ हेक्टरमा व्यवसायिक सयपत्री खेती गरिएको हो ।

निर्देशनालयको अनुसार प्रदेशको जनसंख्या ५१ लाख बढी छ । यो वर्ष १२ लाखको संख्यामा माला उत्पादन हुँदा प्रदेशको जनसंख्याको एक चौथाईलाई माला पुग्ने अनुमान गरिएको छ । विगतका बर्षहरूमा भन्दा यो बर्ष व्यवसायिक खेती गर्ने किसानहरूको संख्या बृद्धि हुँदै गएको छ । स्थानीय पालिकाहरूले प्रदेश सरकारको सहयोगमा सयपत्री खेती विस्तार अभियान, व्यवसायिक पुष्प उत्पादन कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन गरेको कारण किसानहरूले व्यवसायिक उत्पादनमा हौसिएका हुन् ।

अहिले एउटा मालाको मूल्य १०० देखि १५० रूपैयाँ र एक किलो फूलको मूल्य ४–५ सय रुपैयाँ कायम गरिएको छ । विगतमा बुटवल, नेपालगञ्ज, पोखरालगायतका शहरमा पुर्‍याएर फूल र माला बिक्री गरेका छन् । विभिन्न पालिकाहरूले विदेशबाट आयात हुने लाखौं मूल्य बराबरका प्लास्टिकका माला र खादा प्रयोगलाई निषेध गरेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

फ्लोरिकल्चर एसोसिएसन रुपन्देहीका अध्यक्ष किरण श्रेष्ठका अनुसार गतवर्ष भारतबाट फूलमाला भित्रीँदा यहाँका साना व्यवसायी तथा कृषकले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको थियो । गतवर्षको अवस्था दोहोरिने त्रासमा साना व्यवसायी तथा कृषकहरु रहेको उनले बताए ।

नेपाली उत्पादनलाई नै प्रयोग गर्नका लागि तिहार अगाडिनै फूलमाला भण्डारण गर्न प्रयाप्त कोल्डस्टोरको सुविधा नहुनु जनशक्तिको अभाव लगायतका समस्याहरु रहेको श्रेष्ठले बताए । विशेष गरी तिहारमा लक्ष्मी पूजाको दिन र भाई टिकाको दिन फूलमालाको बढी खपत हुने गर्दछ । उक्त दिनका लागि कृषकले पहिले नै फूल टिपेर भण्डारण गरेर राख्न कोल्डस्टोर नहुँदा सुकेर जाने, ढुसी लाग्ने तथा कुहिइने समस्या हुन्छ ।

  • १६ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • Nabintech