बाँके\लुम्बिनी प्रदेशमा यो वर्ष १२ करोड ३४ लाख रुपैयाँभन्दा बढी मूल्यको सयपत्री फूल उत्पादन भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत सुनैना बराइलीका अनुसार यो वर्ष प्रदेशमा ३ लाख ८ हजार ५ सय किलो सयपत्री फूल उत्पादन भएको हो ।
प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको तथ्याङ्क अनुसार प्रदेशमा प्रतिरोपनी ६ सय किलो फूल उत्पादन भएको छ । प्रदेशमा यो वर्ष २५.७२ हेक्टर क्षेत्रफलमा व्यावसायिक सयपत्री खेती र करिब १० कट्ठा क्षेत्रफलमा मखमली खेती भएको छ ।
सयपत्री फूलको व्यावसायिक खेतीका लागि दाङ लुम्बिनी प्रदेशकै अग्रणी जिल्ला बनेको छ । निर्देशनालयको तथ्याङ्क अनुसार दाङमा ६.३८ हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएको छ । यस्तै कपिलवस्तुमा ६ हेक्टर, रुपन्देहीमा४.३० हेक्टर, गुल्मीमा २.७८ हेक्टर, पाल्पामा १.८८ हेक्टरमा व्यावसायिक सयपत्री खेती गरिएको हो ।
बर्दिया जिल्लामा १.२५ हेक्टर, अर्घाखाँचीमा ०.८५ हेक्टर, रुकुम पूर्वमा ०.०५ हेक्टर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको
छ । रोल्पामा ०.१८ हेक्टर, बाँकेमा १.०७ हेक्टर, प्युठानमा ०.४० हेक्टरमा सयपत्री खेती गरिएको छ । त्यस्तै बाँके जिल्लामा समेत पछिल्लो समय सयपत्री फूल उत्पादन व्यवसायी रुपमा अगाडी बढाएको पाइएको छ ।
खासगरी भारतबाट आयात हुने प्लास्टिकका माला र फूल भित्रिन तथा बिक्री वितरणमा कडाइ गरेपछि स्वदेशी फूलले सहजै बजार पाएको छ ।
स्वदेशमै उत्पादित फूलको माला प्रयोग गर्न र भारतबाट आउने प्लास्टिकका माला प्रयोग नगर्न लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहहरुले निर्देशन जारी गरेका कारण पनि स्वदेशी फूलले बजार पाएको छ ।