२९ कार्तिक २०८१, बिहीबार

बाँकेमा लोप हुँदै सिँगाडा खेती

सिँगाडा उत्पादन गर्न समेत निकै गाह्रो हुने सिँगाडा किसान गुनासो

  • न्युज मानसराेवर

नेपालगञ्ज : पोखरीमा फल्ने सिँगाडा खेती बाँकेमा लोप हुँदै गएको छ । पोखरी पुरिँदै र लोप हुँदै गएपछि सिँगाडा खेती पनि लोप हुँदै गएको हो ।  तराईमा ठूलो एकादशीमा सिंगाडा खाने चलन छ तर पोखरीमा मात्रै फल्ने सिँगाडानै लोप हुन थालेपछि बजारमा सिँगाडा किन्न समेत पाउन छोडिएको छ । तराईमा सिँगाडा स्थानीयले व्रत बस्दा खाने, पाहुनालाई पाहुर पठाउन तथा भगवानलाई प्रसादका रूपमा चढाउन लोकप्रिय छ तर पछिल्लो समय जहाँतहीँ पाउन मुस्किल पर्दै गएको छ ।

अहिले बजारमा सिंगाडा एकसय रुपैयाँ किलो छ । त्यही पनि बजारमा सिंगाडा किन्न उपभोक्ताको भीड नै लाग्ने गरेको छ । चाडबाडको बेला ८० रुपैयाँमा विक्री हुने सिँगाडा चाडपर्व सकिएपछि किलोको ३० देखि ४० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यता छ ।

बाँकेमा सीमित ठाउँमा किसानले सिँगाडा रोप्दै आएपनि पोखरीको अभाव र सिँगाडाको बिउसमेत कम पाइने भएकाले यो खेती गर्नेहरू पनि कम हुँदै गएका छन् । सिँगाडा उत्पादन गर्न समेत निकै गाह्रो हुने सिँगाडा किसान गुनासो गर्छन् । रोप्नकै लागि भारतबाट बिउ किनेर ल्याउनु पर्ने, पोखरीमा रोपिसकेपछि पटक–पटक औषधी छर्नुपर्ने र चराचुरुङ्गीले समेत सिँगाडा खाइदिँदा सिँगाडा जोगाउनै समस्या परेको किसानहरूको भनाइ छ ।

बाँकेमा लोप हुँदै गएको यो खेती डुडुवा गाउँपालिका वडा नं. ६ कालाबञ्जरका नन्हु गोडियाले गर्दै आएका थिए । करिब एक वर्षअघि उनको मृत्यु भएपछि गोडियाका छोरा प्रितिया गोडियाले डुडुवा ६ को चौधरीपुर्वा गाउँस्थित सार्वजनिक पोखरीमा सिँगाडा खेती गर्दै आएका छन् ।

असारमा रोपेपछि असोज, कात्तिकसम्म तयार हुने सिँगाडा स्थानीय गाउँ, बजारमै विक्री हुन्छ । फागुनसम्म उक्त फलको सिजन रहन्छ । त्यसपछि बिरुवा पानीमै कुहिन्छ र मल बन्ने गरेको किसान प्रितिया गोडियाले बताए । ‘बुवाले विगत ३० वर्षदेखि सिँगाडाको खेती गर्दै आउनु भएको थियो, तर तलाउहरु मासिँदै गर्दा सिँगाडा रोप्ने ठाउँनै नभएको उनले भने ।’

डुडुवा ६ मा गोडियाको परिवारले मात्र सार्वजनिक पोखरीमा सिँगडा खेती गर्दै आएका छन् । सिँगाडा टिप्न पोखरीभित्र जानुपर्ने, पानीमा भिज्नुपर्ने भएकोले पनि सिँगाडा खेती गर्ने किसानको सङ्ख्या घटेको गोडियाले बताए ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्रले सिँगाडा खेती गर्ने किसानको सङ्ख्या पहिले धेरै रहेपनि पोखरी मासिँदै गएपछि यसको खेती गर्नेहरू समेत घटेको बताए । उनका अनुसार सिँगाडा खेती गर्नुभन्दा पोखरीमा पसेर टिप्न नै समस्या हुने, चराले खाने, बीउ पाउन समस्या लगायतका कारण खेती गर्नेहरू घट्दै गएका छन् ।

सार्वजनिक पोखरीमा उत्पादन भएको सिँगाडा आधी भाग गोडियालाई दिएर बाँकी बचेको सिँगाडा पोखरी आसपासका स्थानीयलाई भाग लगाएर बाँड्दै आइएको वडाध्यक्ष मिश्रको भनाई छ ।

  • २७ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • Nabintech