६ मंसिर २०८१, बिहीबार

नेपालगञ्जमा मातृ मृत्युदरको अवस्था चिन्ताजनक
  • न्युज मानसराेवर

नेपालगञ्ज : नेपालगञ्ज स्वास्थ्य सेवाका दृष्टिकोणले सुविधायुक्त सहर, बर्थिंग सेन्टरदेखि ठूला अस्पतालसम्मको उपलब्धता तर मातृ मृत्युदरको अवस्था चिन्ताजनक छ । यो यथार्थले नेपालगञ्जलाई सताइरहेको छ । अपेक्षाकृतरुपमा मातृ मृत्युदर नघटेपछि सरोकारवाला चिन्तित छन् ।

नेपालगञ्जमा बढ्दो मातृ मृत्युदर घटाउनु चुनौतीपूर्ण देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले बढ्दो मातृ मृत्युदर घटाउने मुद्दालाई प्रमुख प्राथमिकतामा राख्दै सचेतना प्रबद्र्धनदेखि प्रोत्साहनसम्मका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

यसैक्रममा स्वास्थ्य महाशाखाले नगरमा रहेका पाँच वटा बर्थिंग सेन्टरको निरीक्षणसँगै सरोकारवालाबीच अन्तरक्रियात्मक छलफल कार्यक्रम गरेको छ । स्थानीय सरकार र प्रेषण केन्द्र (रेफरल सेन्टर) बीच समन्वय अभिवृद्धि गर्दै मातृ मृत्युदरको ग्राफ कसरी घटाउन सकिन्छ भन्ने विषयमा मन्थन गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १३, १४, १७, २० र २२ मा बर्थिंग सेन्टर सञ्चालन गरिएका छन् । बर्थिंग सेन्टरको प्रेषण केन्द्रका रूपमा रहेका भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका प्रसूति वार्डका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थितिमा बर्थिंग सेन्टर निरीक्षण गरिएको हो । बीग्रुपसँगको सहकार्यमा ‘बाल स्वास्थ्य परियोजना’ अन्तर्गत निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । बीग्रुपले बर्थिंग सेन्टरहरूमा प्राविधिक सहयोग (उपकरणसहित) गर्दै आएको छ ।

नगर उपप्रमुख कमरुद्दिन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवालाले मातृ मृत्युदर चुनौतीको विषय बनेको भन्दै सबै गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । बर्थिंग सेन्टर र रेफरल सेन्टरबीच प्रभावकारी समन्वयमा जोड दिइएको छ ।

उपप्रमुख राईले सबै मिलेर यो विषयलाई समाधान गर्न सकिने बताए । सचेतना प्रवर्द्धन, नियमित गर्भ जाँचका लागि प्रेरित गर्ने, प्रोत्साहन गर्ने, बर्थिंग सेन्टरमा प्रभावकारी सेवा दिने, रेफरल सेन्टरले पनि ‘क्विक रेस्पोन्स’ र समन्वयमा चासो दिने हो भने धेरै हदसम्म समस्या समाधान हुने उनको भनाई छ  । राईले गर्भवती महिलालाई प्रसूतिका बेला अस्पताल पुग्न सहज गराउने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिका एम्बुलेन्स खरिद गर्ने योजनामा रहेको बताए । मातृशिशु मृत्युदर घटाउन नेपालगञ्ज उपमहानगरपालिका गम्भीर रहेको उनको भनाई छ ।

वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबीले प्राविधिक र व्यवस्थापकीय रूपमा धेरै विषयमा अझै समस्या रहेको भन्दै ती जटिलतालाई सहज बनाउन सके अपेक्षित उपलब्धि हासिल हुने बताए । भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले प्रसूति सेवालाई अझ सहज र प्रभावकारी बनाउन भेरी अस्पताल प्रयासरत रहेको बताए ।

नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले सुरक्षित सुत्केरी गराउन भेरीले सक्दो कोशिस गरिरहेको बताइन् । स्वास्थ्य कार्यालय बाँकेकी विष्णु श्रेष्ठले नेपालगञ्जमा मातृ मृत्युदर चिन्ताजनक अवस्थामा रहेको बताइन् । श्रेष्ठले गत वर्ष नेपालगञ्जमा ७ जनाको मृत्यु भएकोमा अहिले चार महिनामै ४ जनाको मृत्यु भइसकेको बताइन् । कार्यक्रममा बीग्रुपले आफ्ना हालसम्मका गतिविधि र उपलब्धिबारे जानकारी गराएको थियो ।

स्वास्थ्य महाशाखा प्रमुख चन्दले अन्तरक्रियाबाट सरोकारवालाहरुबीच समन्वय र सहकार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाएर लैजान सकिए मातृ मृत्युदर अपेक्षितरुपमा घटाउन सकिने निष्कर्ष निकालिएको बताए । चन्दले घरमै सुत्केरी हुनेको सङ्ख्या धेरै हुनु, सुत्केरी गराउन समयमै स्वास्थ्य संस्था नपुग्नु, नियमित गर्भ जाँच नगराउनु मुख्य समस्या रहेको बताए । चन्दका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले गर्भवती महिलालाई नियमित चेकजाँचका लागि समयमै उपस्थित गराउन यसै आर्थिक वर्षदेखि एसएमएस प्रणाली लागू गर्ने योजना बनाएको छ । एसएमएसमार्फत उनीहरूलाई नियमित चेकजाँचका लागि सूचित गरिन्छ ।

यस्तै प्रोत्साहन कार्यक्रम पनि छिट्टै लागू गरिने चन्दको भनाई छ । चन्दका अनुसार नगरमा क्रियाशील १९२ जना महिला स्वास्थ्य स्वयंसेविकाको मातहतमा गठित आमा समूहलाई पनि परिचालन गरिँदैछ  । एक जना स्वयंसेविका बराबर २० जना आमा सम्मिलित एउटा आमा समूह छ । अन्तरक्रिया कार्यक्रमको सहजीकरण नेपालगञ्ज उपमहानगरपालिकाकी सिनियर अनमी निरीक्षक निर्मला खनालले गरेकी थिइन् ।

  • ६ मंसिर २०८१, बिहीबार प्रकाशित

  • Nabintech