बाँके\कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ।
अहिले करिडोर भएर भारतका पर्यटक मुक्तिनाथ पुग्न थालेका छन्। भारतका पर्यटकलाई मुक्तिनाथ पुग्ने सबैभन्दा छोटो बाटो कालीगण्डी करिडोर भएको हो। करिडोरले भारतीय पर्यटकलाई मुक्तिनाथ पुर्याउने र कालीगण्डकी तटीय क्षेत्रका पर्यटकलाई लुम्बिनीसँग जोड्न सफल भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए। उनले दक्षिण भेगको करिडोरका कारण बागलुङको मुहार नै फेरिएको बताउँदै अहिले सडक धमाधम कालोपत्र भइरहेको बताए।
करिडोरअन्तर्गत बागलुङमा मात्रै ४४ किलोमिटर सडक पर्छ। यस सडकले बागलुङको दक्षिण भेग बलेवा, कुश्मिसेरा, जैदी हुँदै छिस्ती छिचोलेर गुल्मी पुग्ने गरेको छ। ‘दक्षिण बागलुङको विकासको ढोका करिडोरले खोलेको छ, मार्ग (ट्रयाक) खुलेको पाँच वर्षमा नै कालोपत्र भइरहेको छ, करिडोरको बाटो भएर भारतीय पर्यटक मुक्तिनाथ र चीनका पर्यटकलाई लुम्बिनी भित्र्याउन सकिन्छ, त्रिदेशीय व्यापारिक सम्बन्ध स्थापित हुन्छ’, उपप्रमुख शर्माले भने।
करिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन्। कालोपत्र सम्पन्नपछि यो क्षेत्रमा सवारीको चाप निकै हुने देखिन्छ भने भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर भएको उनी बताउँछन्।
बागलुङका स्थानीय सनम रानाका अनुसार बागलुङमा कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको मिलनबिन्दु भएकाले पर्यटकीय क्षेत्रको विकासमा सडक सञ्जालले सहयोग पुर्याउने छ। करिडोरको ट्रयाक खोलेको पाँच वर्षमा विभिन्न खण्डमा स्तरोन्नतिसँगै धमाधम कालोपत्र भइरहेको छ।