१९ मंसिर २०८१, बुधबार

जानकीमा बाख्रामा कृत्रिम गर्भाधान कार्यक्रम
  • न्युज मानसराेवर

बाँके:बाँकेको जानकी गाउँपालिकाले बाख्रामा कृत्रिम गर्भाधान कार्यक्रम शुरु गरेको छ । कृत्रिम गर्भाधानका लागि पशु सेवा शाखाले पशु स्वास्थ्यकर्मीहरुलाई दक्ष बनाउन बाख्रामा कृत्रिम गर्भाधान प्रयोगात्मक कक्षा सञ्चालन गरेको छ ।

कृत्रिम गर्भाधान प्रयोगात्मक कक्षा सञ्चालन कार्यक्रममा बोल्दै पशु सेवा शाखा प्रमुख दिल बहादुर खड्काले चालू आर्थिक बर्षमा संघीय सरकारमार्फत कृत्रिम गर्भाधान मिशन अन्तर्गत सशर्त अनुदान कार्यक्रम प्राप्त भएको बताए । यो कार्यक्रम अनुसार १ देखि ६ वटै वडाका सम्पूर्ण पशु प्राविधिकका लागि बाख्रामा कृत्रिम गर्भाधान कसरी गर्ने भन्ने प्रयोगात्मक कक्षा सञ्चालन गरिएको उनले बताए । बाख्रामा कसरी कृत्रिम गर्भाधान दर बढाउन सकिन्छ भन्ने नै कार्यक्रमको मुख्य उद्देश्य रहेको खड्काको भनाई छ ।

यस आर्थिक बर्षमा ५० वटा बाख्रालाई कृत्रिम गर्भाधान गर्ने लक्ष्य रहेको छ ।  त्यसैगरी प्रशिक्षकका रुपमा रहेका राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका पशु सेवा प्राविधिक देव नारायण जैशीले बाख्रामा कृत्रिम गर्भाधान कार्यक्रम नेपालको परिप्रेक्ष्यमा ४० प्रतिशतसम्म सफल देखिएको तर आफूले २४ घण्टा र ३६ घण्टामा एआई गरेको सन्दर्भमा ६० प्रतिशत भन्दा माथि नै सफलता प्राप्त गरेको आफ्नो अनुभव रहेको बताए । उनका अनुसार कृत्रिम तरिकाबाट बाख्राको पाठेघरमा बोकाको बिर्य राख्नुलाई नै कृत्रिम गर्भाधान भनिन्छ ।

स्वास्थ्यकर्मीहरुलाई बाख्रामा कृत्रिम गर्भाधान प्रयोगात्मक कक्षा सञ्चालन कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी जयन्ती बोहराले बाख्रामा कृत्रिम गर्भाधान गर्ने तरिका, फाइदा र यसमा प्रयोग गर्ने उपकरणहरुको बारेमा जानकारी पाएको बताइन् । भाले पशुबाट बिर्य निकाली त्यसलाई प्रशोधन र चेकजाँच गरेर उपयुक्त समयमा विभिन्न उपकरणको माध्यमबाट पोथी जनावरको पाठेघरमा खसाउने तरिका सिकेको उनको भनाई छ ।

  • १८ मंसिर २०८१, मंगलवार प्रकाशित

  • Nabintech