नेपालगञ्ज : तीन हप्तादेखि नेपालगञ्जमा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत प्रस्थान गरेका छन् । नेपालगञ्जस्थित सोल्टी होटलमा बसेका पूर्वराजा शाह आज बिहान ११ बजे भारतको लखनउ प्रस्थान गरेका हुन् ।
पूर्वराजा शाह लखनउमा दश दिनबढी बस्ने तालिका रहेको छ । लखनउमा रहदा पूर्वराजाले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलगायतसँग भेट गर्ने बताइएको छ ।
प्रत्येक वर्षजसो नेपालगञ्जमा एक महिनाबढी बसाई गर्ने पूर्वराजाले यहीबाट भारतको भ्रमण गर्ने गरेका छन् । पूर्वराजाको भारतीय नेताहरुसँगको भेटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
मंसिर १७ गते नेपालगञ्ज आएका पूर्वराजाले बाँकेको नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिर, राप्तीसोनारीमा रहेको भुवनभवानी मन्दिरको दर्शन गर्नुका साथै बर्दिया र दाङको भ्रमण गरेका छन् । यो बीचमा पूर्वराजासँग काठमाडौंबाट आएर पूर्वमन्त्री केशरबहादुर विष्ट र उनका छोरा विराज विष्ट, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राजेन्द्र गुरुङलगायतले भेट गरेका छन् ।
नेपालगञ्ज बसाइमा रहदा पूर्वराजासँग यहाँका राजावादी तथा हिन्दुवादी नेताहरुले पनि भेट गर्ने गरेका छन् । भेटमा सबैजसोले राजावादी र हिन्दुवादी एक भएर अहिले देखिएका विकृति, विसंगतिलाई रोक्नु पर्ने र सबै राजावादी र हिन्दुवादीलाई एक ढिक्का गराउन पूर्वराजाले सक्रियता देखाउनु पर्ने बताउने गरेको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।