सल्यान: छत्रेश्वरी गाउँपालिका–२ दहखोलाका किसानको बारीमा पाकेका सुन्तलामा ध्वाँसे रोगले क्षति पुर्याइरहेको छ । रोग नियन्त्रणको प्रयास नहुँदा झन्डै एक रोपनीका सुन्तलाका बोट तथा पाकेको फलमा रोग देखिएको हो । रोगका कारण सुन्तलाका पात सुकेर झर्दै गएका छन् भने पाकेका दाना काला भइरहेका छन् । सहजै बिक्री र राम्रो आम्दानी हुन थालेपछि अन्नबाली छाडेर दहखोलाका किसानले ५ सयभन्दा बढी रोपनी जग्गामा सुन्तला खेती गरेर वर्षमा एक करोड रुपैयाँ बढीको कारोबार गर्दै आएका छन् । तर रोग नियन्त्रणमा आउनेभन्दा फैलिँदै गएको र पाकेका सुन्तला खरिदकर्ताले लिन नमानेपछि किसान चिन्तित भएका छन् ।
गत असोज पहिलो सातातिर देखिएको ध्वाँसे रोगका कारण आफ्ना तीन वटा बगैंचाका ३ सय सुन्तलाका बोट प्रभावित भएको स्थानीय टोपेन्द्र डाँगीले बताए । रोगले पाकेका फल र बोटका पात सुक्दै गएको उनले जनाए ।
‘बगैंचामा सुन्तला पाकेर पहेंलपुर भएपछि दिनको एक/दुई जना बाहिरका खरिदकर्ता आएर ६० रुपैयाँ किलो सुन्तला लगिरहेका छन् । ध्वाँसे रोग लागेको सुन्तला कसैले लिन चाहेका छैनन् । धेरै सुन्तला त्यत्तिकै खेर गएको छ,’ उनले भने । खरिदकर्ताले लिन नमानेपछि झन्डै ४ लाख घाटा भएको डाँगीको भनाइ छ ।
१५ रोपनीमा लगाएको ३ सय सुन्तलामध्ये एक सयभन्दा बढी बोट ध्वाँसे रोगले सखाप बनाउन थालेको दहखोलाकै आतिराम विकले बताए । विषादी प्रयोग गरे पनि रोगले बोट नै मर्न थालेको उनको भनाइ छ ।
‘बोटमा सुन्तला पहेंलै पाकेको देखिन्छ । पहेंलो बाहिरबाट कालै छाया बसेको सुन्तला चाम्रिँदै गएको छ । पानीले पखाल्दासमेत कालो गएन,’ उनले भने, ‘गत वर्षसम्म २ लाखभन्दा बढीको बेचेको थिएँ । यसपालि रोगका कारण त्यत्तिकै खेर गयो ।’
गत वर्षदेखि आफ्नो बगैंचामा भएको सुन्तलामा ध्वाँसे रोग देखिएको र विषादी तथा औषधि प्रयोग गरे पनि पूर्ण रूपमा निर्मूल नभएको अर्का किसान चित्रबहादुर केसीले जनाए । अहिले पनि ३०/३५ बोट ध्वाँसे रोगबाट प्रभावित भएको र रोगका कारण खरिदकर्ताले किन्न नमानेको उनको भनाइ छ ।
‘खाद्यबाली लगाएर वर्षभर खान नपुग्ने भएपछि सुन्तला खेतीमा लागेको थिएँ । बगैंचामा भएका ३ सयभन्दा बढी बोटबाट ४/५ लाख आम्दानी हुन्थ्यो । यसपालि गोडमेल गर्दा लागेको खर्चसमेत उठाउन गाह्रो भयो । दुई लाख रुपैयाँभन्दा बढी घाटा भएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता छ,’ उनले भने ।
ध्वाँसे रोग फैलिँदै गएका कारण व्यवसाय नै धरापमा पर्ने अवस्था सिर्जना भएको सीता केसीले बताइन् । बर्खाका बेला दहखोलामा ध्वाँसे रोग देखिएपछि नियन्त्रणका लागि किसानलाई विषादी, चुन, नीलोतुथो उपलब्ध गराए पनि किसानले बेवास्ता गर्दा पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले बताए । रोगको निदानका लागि समयमै विषादी प्रयोग गर्न उनको सुझाव छ ।