बाँके \ कोहलपुर नगरपालिकाले आमसञ्चार नीति बनाउने भएको छ । सञ्चार नीति बनाउनका लागि नगरपालिकाले आज कोहलपुरमा सरोकारवाला पक्षहरूसँग सल्लाह सुझाव सङ्कलन गर्ने काम सुरु गरेको हो ।
नगरपालिकाले एउटा सञ्चार मस्यौदासमेत तयार पारिसकेको छ । मस्यौदामाथि छलफलका लागि सोमबार कोहलपुरमा एक कार्यक्रम आयोजना गरेर सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सञ्चार नीति बनाउनका लागि नेपाल पत्रकार महासङ्घ बाँके शाखाका अध्यक्ष नवीन गिरीको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा तयार समितिसमेत बनाएको नगरपालिकाले जनाएको छ । अध्यक्ष गिरीको संयोजकत्वमा कोहलपुर नगरपालिकाका रोजगार शाखा प्रमुख आशिष वर्मा र प्रेस संयोजक प्रीयास्मृति ढकाल समितिमा सदस्य रहेका छन् ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरबाट सञ्चालन हुने सबै पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमहरूलाई दीर्घकालीन रूपमा अगाडि बढाउने उद्देश्यले नीति आवश्यक पर्ने भएकाले कोहलपुरले आमसञ्चार नीति बनाउन लागेको बताए । त्यसै गरी कार्यक्रममा कोहलपुर नगर उपप्रमुख सङ्गीता सुवेदीले पत्रकारहरूले दिएको सल्लाह, सुझावका आधारमा ड्राफ्ट तयार पारी कार्यपालिकामा पेस गरिने हुँदा कार्यपालिकामा पेस गर्नुअघि आवश्यक सल्लाह र सुझावको अपेक्षा गरिएको बताइन।
कार्यक्रममा नगरपालिकाकी विधायन समिति संयोजक सुनिता सुनार, मस्यौदा समितिका संयोजक तथा पत्रकार महासङ्घ बाँके अध्यक्ष नवीन गिरी, सदस्यहरु आशिष वर्मा र प्रीयास्मृति ढकालले मस्यौदाका बारेमा जानकारी गराएका थिए ।