बाँके\राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट बाँकेको २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।
यो आयोजना करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यका साथ निर्माण सुरु गरिएको हो ।
आयोजनाले हालसम्म लक्ष्यको आधाभन्दा बढी भागमा सिँचाइ सुविधा पुर्याउन सफल भएको छ ।
आयोजनाका निमित्त प्रमुख मनोजकुमार शाहले निर्माण सुरु गरिएको २० वर्षको अवधिमा लक्ष्य अनुसार ५० प्रतिशतभन्दा बढी काम पूरा भएको जनाउँदै गुरुयोजना परिवर्तन हुँदै जाँदा समय र लागत दुवै बढ्दै गएको बताए । उनले आयोजनाकै कारण अहिले २२ हजार हेक्टर जमिनमा बाहै्र महिना खेती गर्न सकिने अवस्था सिर्जना भएकाले त्यसबाट सयौँ किसान प्रत्यक्ष लाभान्वित बनेको समेत उल्लेख गरेका छन।
पछिल्लो गुरुयोजना अनुसार आव २०८९/९० मा सिक्टा सिँचाइ आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाका निमित्त प्रमुख शाहले तीन चरणमा काम बाँडिएकोमा अहिले दोस्रो चरणको काम चलिरहेको बताए । उनका अनुसार आव २०८२/८३ सम्म दोस्रो चरण चल्ने छ । त्यसपछि बाँकी पाँच वर्ष तेस्रो चरणको काम गरिने छ ।
तेस्रो चरणमा पश्चिम नहरको विस्तार गर्ने काम, पूर्वी नहर अन्तर्गत नरैनापुर क्षेत्रको पूरै काम गरिने छ । आयोजनाले गुरुयोजना अनुसार समयमा काम पूरा गर्न वार्षिक बजेट तीन अर्ब पाउनुपर्नेमा चालु आवमा एक अर्ब ५५ करोड रुपियाँ मात्र विनियोजन भएको छ ।