२९ बैशाख २०८२, सोमबार

सांसद पन्थीविरुद्ध पक्राउ पूर्जी जारी, एक वर्षदेखि पक्राउ परेनन्
  • न्युज मानसराेवर

बाँके\नेकपा (एमाले)का लुम्बिनी प्रदेशसभाका सांसद विष्णु पन्थीविरुद्ध एक वर्ष अगाडि नै पक्राउ पूर्जी जारी भएको खुलेको छ । मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष अगाडि उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि अहिलेसम्म पक्राउ परेका छैनन् । उनलाई अदालतको फैसला कार्यान्वयनमा अटेरी गरेको भन्दै ६ महिना कैदको सजाय तोकिएको छ ।

सांसद पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित एमालेका सांसद हुन् । उनी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री तथा सार्वजनिक लेखा समितिका पूर्वसभापति पनि हुन् ।मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते दिएको आदेश अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंलाई २०८१ असार १२ गते पक्राउ गरी दाखिला गर्न पत्राचार गरेको थियो ।

पक्राउ गरी दाखिला गरिनुपर्ने पत्रमा काठमाडौं-२९ अनामनगर सिंहदरबार पूर्वगेटदेखि रहेको पूर्व गौतमबुद्ध हाइड्रो पावर प्रालि काठमाडौंका सञ्चालक रहेकाअन्दाजी ५०वर्षका देवराज खनाल र सोही हाइड्रो पावरका सञ्चालक समेत रहेकाव्यवसायी तथा सांसद विष्णु पन्थीको नाम छ ।

‘प्रतिवादीले वादीको हुने बिगो रकम दाखिला नगरेको हुँदा तपशीलका प्रतिवादीलाई मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४४ बमोजिम जनही ६ (छ) महिना कैदमा राख्न पक्राउ गरी यस अदालतमा दाखिला गरि दिनु हुन अनुरोध छ’, अदालतले प्रहरीलाई लेखेको पत्रमा उल्लेख छ ।यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंको अपराध अनुसन्धान तथा कारबाही शाखाले प्रहरी वृत्त अपराध अनुसन्धान तथा कारबाही शाखा सिंहदरबारलाई २०८१ असार २० गते पन्थी र खनाललाई पक्राउ गरी दाखिला गर्न भन्दै पत्राचार गरेको थियो ।

प्रहरी निरीक्षक प्रतीक सिंहले लेखेको पत्रमा, ‘काठमाडौं महानगरपालिका-२९ अनामनगर सिंहदरबार पूर्वीगेटदेखि पूर्व गौतमवुद्ध हाईड्रो पावर प्रालि काठमाडौंका सञ्चालक खनाल र पन्थीलाई खोजतलास गरी फेला परेमा आवश्यक सुरक्षाका सम्मानित मोरङ जिल्ला अदालत विराटनगरमा उपस्थित गराई सो को जानकारी यस परिसरमा समेत दिनु हुन…’ भन्ने बेहोरा छ ।

कपिलवस्तु वाणगंगा नगरपालिका राजपुर स्थायी ठेगाना भएका पन्थी र देवराज खनाल गौतमबुद्ध हाइड्रोपावर प्रालि काठमाडौंका सञ्चालक हुन् । उक्त कम्पनीले विराटनगरमा रहेको पल्लवी इलेक्ट्रा प्रालिबाट विभिन्न विद्युतीय सामग्री, ट्रान्सफर्मरहरूको कारोबार गर्ने गर्दथ्यो ।

कारोबार गर्ने क्रममा गौतमबुद्ध हाइड्रो पावर प्रालिले १८ लाख ५४ हजार रूपैयाँको सामान २०७३ सालमै उधारो लगेको थियो । सो रकम फिर्ता गर्न पल्लवी इलेक्ट्रा प्रालिले ताकेता गर्दा पनि १३ लाख ५४ हजार रूपैयाँ दिएको थिएन ।

रकम नदिएपछि मोरङ जिल्ला अदालतमा पल्लवी कम्पनीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरायो । सो मुद्दाको अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलले २०७७ साल मंसिर २३ गते भुक्तानी गर्न बाँकी रकम १३ लाख ५४ हजार रूपैयाँ र सो को कोर्ट फि रकम प्रतिवादी गौतमबुद्ध हाईड्रोपावर प्रालि काठमाडौंबाट वादीले भराई पाउने ठहर गर्ने निर्णय गरेको थियो ।

जिल्ला अदालत मोरङको सो आदेश कार्यान्वयन गर्न हाइड्रो पावर प्रालिले अटेरी गरेपछि पुनः पल्लवी कम्पनीले अदालतमा निवेदन दियो । सो निवेदनपछि गोरखापत्रमा २०८१ साल वैशाख १२ गते सूचना प्रकाशित गर्न पत्राचार गर्‍यो । सो पत्रमा १३ लाख ५४ हजार रूपैयाँ भुक्तानी गर्नका लागि १५ दिनभित्र अदालतमा आफैं आउने सूचना थियो । सो सूचना प्रकाशित भइसकेपछि पनि हाइड्रो कम्पनीका सञ्चालकद्वय खनाल र पन्थी नआएपछि अदालतले जनही ६ महिना कैद गर्न आदेश दिएको हो ।

रुपन्देही प्रहरी प्रवक्ता, डीएसपी सुरज कार्कीले प्रहरीले नभेटेको हुन सक्ने बताए । उनले यो केस आफू आउनुभन्दा अगाडिको रहेको बताउँदै बुझ्न बाँकी रहेको प्रतिक्रिया थिए । यस्तो केसमा सम्बन्धित व्यक्ति आफैं अदालतमा उपस्थित हुन पनि सक्ने डीएसपी कार्कीको भनाइ छ ।

सांसद पन्थीले यो विषयमा आफूलाई जोड्नु गलत रहेको बताए । ‘यो हाइड्रोपावरको जिम्मेवार व्यक्ति म होइन’, पन्थीले लोकान्तरसँग भने, ‘यसको जिम्मेवार देवराज खनाल हुन् । सँगै मेरो नाम जोडिएर आउनु गलत हो ।’

  • २८ बैशाख २०८२, आईतवार प्रकाशित

  • Nabintech