बाँके\एक वर्षअघि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीको विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कानुनी प्रक्रिया अघि बढाउने भएको छ ।
प्रहरीले अदालतबाट आएको पत्र भेरिफाई गरेर कानुनअनुसार अगाडि बढ्ने बताएकोहो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले सांसद पन्थीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयमा आफूलाई सोमबार मात्रै आधिकारिक जानकारी प्राप्त भएको बताउँदै अब कानुन अनुसार अघि बढ्ने रातोपाटीलाई जानकारी दिए ।
उनले भने, ‘पक्राउ पुर्जी जारी भएको विषयमा मैले आज थाहा पाएँ, अब अदालतबाट फेरिफाई गरेर कानुनी प्रक्रिया अनुसार जान्छौँ।’
क्षेत्री केही दिनअघि मात्रै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हाजिर भएका थिए । उनले भने, ‘आज बिदा भयो भोलि, सम्बन्धित विषयमा डिटेल बुझेर यदि पक्राउ गर्नुपर्ने रहेछ भने प्रहरीले पक्राउ गर्छ ।’ बुटवलको लक्ष्मीनगर घर भएका पन्थीले कपिलवस्तु प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट एमालेको टिकटबाट चुनाव जितेका थिए ।
पन्थी सेयर सदस्य रहेको गौतम बुद्ध हाइड्रो पावरले विराटनगरको पल्लवी इलेक्ट्राबाट विद्युतीय सामग्री उधारोमा लिएको तर रकम नतिरेको मुद्दामा उनी मुछिएका छन् । उनका साझेदार देवराज खनालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पुर्जी जिल्ला प्रहरी परिसर काठमाडौँ, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी युनिटमा पुगेको छ।
पक्राउ पुर्जी जारी भए पनि पन्थी भने खुलेआम सार्वजनिक कार्यक्रममा हिँडिरहेका छन् । आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीको कार्यक्रममा पनि उनी उपस्थित भएका थिए । यसैबीच पन्थीले आफू विरुद्ध मुद्दा परेको र पक्राउ पुर्जी जारी भएको विषय आफूलाई थाहा नभएको सामाजिक सञ्जालमा लेखेका छन् ।