बाँके\लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गीता सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद हुन् । लुम्बिनीका सभामुखसमक्ष मंगलबार उनले बुझाएको राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको उल्लेख गरेकी छन् ।
‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ’, उनले लेखेकी छन् ।जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै उनले आजकै मितिबाट लागू हुने गरी राजीनामा पेश गरेकी हुन् । राजीनामापछि गुरुङले मोबाइल स्वीचअफ गरेकी छन् ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनले राजीनामा कार्यालय आइनसकेको र आफूले मिडियाबाट सुनेको बताएका छन् ।‘सभामुखसँग सम्पर्क गर्दैछु, उहाँ कार्यालय आउँदे हुनुहुन्छ, मिडियाबाट जानकारी पाएका छौं, ओपचारिक छैन’, उनले भने ।