बाँके\अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साबिक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवससहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
उनका अनुसार सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाविस सचिवसँगको मिलेमतोमा उनीहरूले रकम लिएको भन्ने उजुरी आयोगमा परेको थियो ।अनुसन्धानका क्रममा आर्थिक वर्ष २०५७/०५८ देखि २०७२/०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जना व्यक्तिहरूलाई नागरिकतामा उल्लेखित जन्म मिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रूपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रूपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रूपमा तत्कालीन सचिव र अध्यक्षले सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरी ६ लाख ५६ हजार ७ सय रुपैयाँ हिनामिना गरेको पाइएको थियो ।
आयोगले श्रीवास्तवका साथै नरैनापुर गाउँ विकास समितिको कार्यालयका सचिव सावितराम कुर्मी र अशोककुमार श्रीवास्तवलाई पनि प्रतिवादी बनाएको छ ।यस्तै उक्त गाविसबाट सामाजिक सुरक्षा भत्ता लिने साहजिमा खातुन,अवधराम बढही,रामजीवन पासी, मनोरानी अहिरनी,रामचन्द्र धोबी,लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया,हरीराम अहिर र बारि खाँ, मोती भुजुवा र सन्तराम बडहीलाई पनि प्रतिवादी बनाएर आयोगले मुद्दा दायर गरेको थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आयोगले सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरूलाई पनि प्रतिवादी बनाएको छ।साथै, पाटेश्वरीसिंह ठाकुर, मुज्फर खाँ, राम सुमझ कुर्मी, जलील खाँ र राम सेवक कूर्मीसमेतको मृत्यु भइसकेको विवरण प्राप्त भएकोले बिगोको हकमा प्रतिवादी तत्कालीन गाविस सचिव सावितराम कुर्मीबाट असुल उपरको मागदाबी आयोगले गरेको छ ।