२० असार २०८२, शुक्रबार

साइबर अपराधसम्बन्धी उजुरी बढे बाँकेमा
  • न्युज मानसराेवर

बाँके\जिल्ला प्रहरी कार्यालय बाँकेमा पछिल्लो समयमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार आर्थिक वर्षको २०८१/८२ मा ३०९ वटा साइबर अपराधसम्बन्धी उजुरी परेका छन् ।

ती उजुरीमध्ये सबैभन्दा बढी नेपालगन्ज र कोहलपुरमा दर्ता भएको जनाउँदै प्रहरी नायब उपरीक्षक पातलीले दुई वटा घटनाको मात्र मुद्दा दर्ता भएको जानकारी दिँदै सबै उजुरी विद्युतीय अपराधसँग सम्बन्धित रहेको बताए।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २७० उजुरी परेकामा एउटा घटनाको मात्र मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७९/८० मा १०६ र आर्थिक वर्ष २०७८/७९ मा ५८ वटा मात्र साइबर अपराधसम्बन्धी उजुरी परेका थिए ।

प्रहरीका अनुसार विदेशबाट पनि साइबर कानुन उल्लङ्घन गरेको पाइएको छ । यसरी पर्ने उजुरीहरूमा ठगी, चरित्र हत्या, गोपनीयता भङ्ग गर्नेदेखि प्रोनोग्राफिक सामग्री सार्वजनिक एवम् प्रसारण गरेको जस्ता घटनाहरू रहेको जनाइएको छ ।

साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको प्रहरीको भनाइ छ ।

  • १९ असार २०८२, बिहीबार प्रकाशित

  • Nabintech