२४ असार २०८२, मंगलवार

डेंगु नियन्त्रणमा सरकारको निष्क्रियता
  • न्युज मानसराेवर

नेपालमा वर्षा शुरु भएसँगै डेंगु, झाडा–पखाला, ज्वरो, टाइफाइड र अन्य सरुवा रोगहरू तीव्ररूपमा फैलन थालेका छन् । यस वर्षको जनवरीदेखि ६ महिनामै डेंगुका करिब १ हजार ५ सय बिरामी पुष्टि भइसकेका छन् ।

संक्रमणको जोखिम पहिलेभन्दा गम्भीर ढंगले पहाडी र हिमाली क्षेत्रमा समेत फैलिएको छ । डेंगु मात्रै नभई अन्य पानीजन्य र कीटजन्य रोगहरूले पनि व्यापक असर पार्न थालेका छन् । २०७९ सालमा डेंगु ७७ वटै जिल्लामा फैलिएर झन्डै ५५ हजार संक्रमित तथा ८८ जनाको मृत्यु भएको थियो । तर त्यस बेलाको चेतना र अनुभवबाट पाठ सिक्नुको सट्टा राज्य संयन्त्र अहिले लाचारीको अवस्थामा छ ।

काठमाडौं, पोखरा, धरान, विराटनगरजस्ता शहरी क्षेत्रमा दैनिक चार–पाँचजना नयाँ बिरामी थपिँदै छन् । १७ भन्दा बढी पहाडी जिल्लामा पनि संक्रमण फैलिएको पुष्टि भइसकेको छ । तनहुँमा डेंगुको आउटब्रेक भएको जानकारी स्वयं सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले दिनुभएको छ । यसरी फैलिरहेको संक्रमणले कुनै पनि समय काठमाडौं वा अन्य शहरमा महामारीको रूप लिन सक्छ ।

स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन निर्देशन दिएको बताइए पनि स्थलगत अवलोकनले जनचेतना र निवारणका काम नगन्य देखिन्छ । काठमाडौं महानगरजस्ता स्थानीय तहहरूले विगतमा लामखुट्टे खोजी तथा नष्ट गर्ने अभियान चलाए पनि अहिले यस्ता गतिविधि देखिँदैनन् । राज्यको निष्क्रियता, जनसाधारणको असावधानी र रोग नियन्त्रणको तयारी नहुनुले गर्दा डेंगुले महामारीको रुप नलेला भन्न सकिन्न ।

विश्व स्वास्थ्य संगठनले यस वर्ष दक्षिण एसियामा लम्बिएको मनसुन र अत्यधिक गर्मीका कारण डेंगुलगायत कीटजन्य रोगको जोखिम उच्च रहेको चेतावनी दिएको छ । नेपालको भौगोलिक विविधता, कमजोर सरसफाइ, दूषित पानीको आपूर्ति र जलवायु परिवर्तनले यो जोखिमलाई अझ भयावह बनाइरहेको छ । खानेपानी तथा सरसफाइ विभागले काठमाडौंमा आपूर्ति हुने पानीमा फेकल कोलिफर्मको मात्रा अत्यधिक भेटिएको जनाएको छ । यसले झाडापखाला, टाइफाइड र हैजासमेत फैलाउने सम्भावना बढाउँछ ।

यो अवस्था नियन्त्रणभन्दा बाहिर जान नदिन अब सरकार, स्वास्थ्य क्षेत्र, स्थानीय तह, सञ्चारमाध्यम र आम नागरिक सबैको एकताबद्ध प्रयत्न अत्यावश्यक छ । विशेष गरी ग्रामीण क्षेत्र र पहाडी जिल्ला अस्पतालहरूमा परीक्षण उपकरणको अभाव, प्रशिक्षित जनशक्ति नहुनु र अस्पतालमै उपचार सम्भव नहुनुले धेरैको ज्यान जोखिममा पर्न सक्छ । कतिपय अवस्थामा परीक्षण नगरी घर फर्काउने प्रवृत्तिले अझ स्थिति बिगार्ने खतरा बढेको छ । त्यसैले डेंगु परीक्षण र उपचारको पहुँच सबै जिल्लामा विस्तार हुनुपर्छ । लामखुट्टे नष्ट गर्ने अभियान पुनः सक्रिय बनाइयोस् । दूषित पानी शुद्ध गर्न क्लोरिन वितरण र खानेपानी अनुगमन गरियोस् । जनस्तरसम्म तथ्यमा आधारित जनचेतनामूलक कार्यक्रम छिटोभन्दा छिटो पु¥याइयोस् । सम्भावित जोखिम क्षेत्रको पहिचान र पूर्वतयारी रणनीति लागू गरियोस् ।

यस्ता सरुवा तथा संक्रमित रोगका विषयमा नागरिकहरू पनि सचेत बन्नुपर्छ । घरवरिपरि पानी जम्न नदिनु, कन्टेनर ढाकेर राख्नु, उमालिएको वा शुद्ध पानी मात्र पिउनु र डेंगुका प्रारम्भिक लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानु अत्यावश्यक छ । सरुवा रोग नियन्त्रण अब केवल स्वास्थ्य मन्त्रालयको मात्र दायित्व होइन, यो राष्ट्रिय सरोकारको विषय हो । जलवायु परिवर्तनसँग जुधिरहेको यो चुनौती भविष्यमा अझ जटिल बन्न सक्छ । यदि अब पनि गम्भीर तयारी गरिएन भने कोभिड–१९ जस्तै हामी अर्को संकटको सामना गर्न बाध्य हुन सक्छौं ।

  • २४ असार २०८२, मंगलवार प्रकाशित

  • Nabintech