२५ असार २०८२, बुधबार

स्कुलबाटै हराए तीन बालक, भारत पुगेको आशंका
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुर नगरपालिका-३ स्थित कोहलपुर बागेश्वरी इंग्लिस मिडियम स्कुलमा अध्ययनरत तीन जना बालक स्कुलबाटै बेपत्ता भएका छन्। कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवन नाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का गत असार २२ गते अपरान्हदेखि सम्पर्कविहीन भएका हुन्।

उनीहरू हराएको तीन दिन बितिसक्दा पनि अवस्था अज्ञात छ भने प्रहरीले उनीहरू भारत पुगेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। स्कुलका प्रिन्सिपल विष्णु केसीका अनुसार विद्यार्थीहरू असार २२ गते दिउँसो ३:५५ बजेसम्म स्कुलमै थिए र करिब ४:३० बजेतिर बाहिर निस्केका थिए। ‘त्यो दिन म स्कुलमा थिइनँ, तर उनीहरू ४:३० बजेतिर स्कुलबाट निस्केको जानकारी पाएँ,’ केसीले भने। विद्यार्थी बेपत्ता भएलगत्तै इलाका प्रहरी कार्यालय, कोहलपुरलाई जानकारी गराएर खोजी कार्य सुरु गरिएको र नेपाल प्रहरीको अनुसन्धान ब्यूरोलाई समेत पत्राचार गरिएको उनले बताए।

प्रिन्सिपल केसीका अनुसार विद्यार्थीहरूले पहिल्यैदेखि भाग्ने योजना बनाएको कुरा उनीहरूका साथीहरूबाट थाहा भएको छ। ‘उनीहरूले भाग्ने योजना बनाएको कुरा कक्षाका अरु साथीहरूले सुनेका रहेछन्, तर के कारणले र कहाँ गए भन्ने खुलेको छैन,’ उनले भने।खोजीका क्रममा उनीहरू हराएकै दिन साँझ ६:३० बजेतिर विद्यालयबाट करिब २० किलोमिटर टाढा नेपालगन्जस्थित जिल्ला हुलाक कार्यालय अगाडि सिसी क्यामेरामा देखिएका थिए।

‘नेपालगन्जको हुलाक कार्यालय अगाडि तीनै जनाले चाउमिन खाइरहेको दृश्य सिसी क्यामेरामा कैद भएको छ, त्यसपछि उनीहरू कहाँ गए भन्ने कुनै पत्तो छैन,’ केसीले थपे।प्राविधिक समस्याका कारण घटना भएको दिन विद्यालयको सिसी क्यामेरा भने बन्द रहेको थियो।

विद्यार्थीका आफन्तले भने घटनामा विद्यालयको चरम लापरबाही भएको आरोप लगाएका छन्। हराएकामध्ये कोहलपुर–३ मदनचोकका निरज थापा सोही स्कुलको होस्टेलमा बसेर अध्ययन गर्थे। होस्टेलबाटै विद्यार्थी हराउनुले विद्यालयको गैरजिम्मेवारीपन पुष्टि हुने निरजका आफन्त सन्ध्या शर्माले बताइन्। ‘विद्यार्थीहरू स्कुलबाटै गायब हुँदा यसमा स्कुलको कति लापरबाही छ भन्ने कुरा प्रस्ट हुन्छ,’ उनले भनिन्।डेढ वर्षअघि पनि सोही विद्यालयका दुई जना विद्यार्थी हराएको र पछि कोहलपुरमै फेला परेको बताइएको छ।

भारत पुगेको हुन सक्ने प्रहरीको अनुमान

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालले प्रारम्भिक अनुसन्धानमा विद्यार्थीहरू भारत पुगेको हुन सक्ने संकेत देखिएको बताएकी छन्।‘तीन जनामध्ये एक जनाले प्रयोग गर्ने मोबाइलमा भारतीय सिमकार्ड प्रयोग भएको देखिन्छ। अरु दुई जनाको फेसबुक पनि सक्रिय अवस्थामा पाइयो,’ डिएसपी खनालले भनिन्। उनीहरूको अवस्था पत्ता लगाउन भारतस्थित विभिन्न निकायसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ। विद्यालयले पनि विद्यार्थीहरूको तस्बिरसहित सामाजिक सञ्जालमार्फत खोजीका लागि सबैमा अपिल गरेको छ।

  • २५ असार २०८२, बुधबार प्रकाशित

  • Nabintech