बाँके\भूमि समस्या समाधान आयोग बाँकेले बाँकेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरण गर्ने कार्य तीव्र पारेको छ । गत वैशाख २० गते कोहलपुर नगरपालिका १ का ११६ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेर अभियान सुरु गरेको आयोगले त्यसपछि जेठ ३१ गते वडा नम्बर १ कै ६८ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिसकेको छ । आयोगले गत शुक्रबार एक सूचना जारी गर्दै कोहलपुर १ कै ६३४ जना अव्यवस्थित बसोबासीलाई जग्गा दर्ता गर्न आउनका लागि जानकारी गराएको छ । आयोगले एक हप्ताभित्र तोकिएको राजस्व बैंकमा जम्मा गरेर जग्गा दर्ताका लागि आयोगमा आउन अनुरोध गरेको हो ।
त्यसैगरी जिल्लाकै राप्तीसोनारी ४ का भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई पनि लालपुर्जा वितरण गर्ने अन्तिम तयारी गरिएको छ । आयोग बाँकेका अध्यक्ष घननाथ खनालले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ का १३ सयभन्दा बढी नागरिकलाई लालपुर्जा वितरण गर्ने अन्तिम तयारी गरिएको जानकारी गराए । राप्तीसोनारी ४ का ६१ जना भूमिहीन सुकुम्बासी र भूमिहीन दलित तथा १२७१ जना अव्यवस्थित बसोबासीहरु गरी १३३२ जनालाई लालपुर्जा प्राप्त गर्नका लागि राजस्व जम्मा गर्न सोमबार सूचना जारी गरिएको छ । “राप्तीसोनारी ४ का ६१ जना भूमिहीन सुकुम्बासी र भूमिहीन दलित तथा १२७१ जना अव्यवस्थित बसोबासीहरु गरी १३३२ जना नागरिकलाई पनि राजस्व जम्मा गरेर आउन सूचना जारी भएको छ ।” उनले भने।
“कोहलपुर १ का थप १००१ जना अव्यवस्थित बसोबासीका लागि राजस्व जम्मा गर्नका सूचना प्रकाशित गर्दैछौँ, यो महिनाभित्र जिल्लाका करिब ३७०० भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई राजस्व जम्मा गर्नका लागि सूचना प्रकाशित गर्ने योजना बनाएका
छौँ ।” अध्यक्ष खनालका अनुसार कोहलपुर १ का ६६८ जना अव्यवस्थित बसोबासीका लागि असार २६ गते लालपुर्जा वितरण गर्ने तयारी गरिएको छ । “कोहलपुर १ का ६६८ जना अव्यवस्थित बसोबासीलाई असार २६ गते लालपुर्जा वितरण गर्दैछौँ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यबाट लालपुर्जा वितरण हुनेछ,” उनले भने ।
बाँकेमा हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गा प्राप्तिका लागि आयोगमा आवेदन दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको संख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासीको संख्या छ हजार ७९८ र अव्यवस्थित बसोवासीको संख्या ४३ हजार २२६ रहेको अध्यक्ष खनालले जानकारी दिए ।
बाँकेका ८ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट जग्गा प्राप्तिका लागि आवेदन दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५, राप्तीसोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथ गाउँपालिकाबाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८, नेपालगन्ज उपमहानगरपालिकाबाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ वटा आवेदन फारम दर्ता भएका छन् । डुडुवा गाउँपालिकाबाट आयोगमा हालसम्म सम्झौता नभएका कारण त्यहाँको विवरण भने अझैसम्म प्राप्त नभैसकेको आयोगले जनाएको छ ।