बाँके\नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती आज आइतबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आज बिहान काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
घरघरमा आदिकवि आचार्यले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदै छन् ।
आदिकवि आचार्यभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन, अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्त्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन् ।
आदिकवि आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।