बाँके\लुम्बिनी प्रदेशमा धान खेती हुने कुल ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफलमध्ये ७३.७८ प्रतिशतमा धान रोपाइँ भएको लुम्बिनी प्रदेशको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार २७ गतेसम्म २ लाख २३ हजार २१२ हेक्टरमा रोपाइँ भएको छ । धान रोपाइँ गर्ने समय अझै बाँकी रहेकाले यो तथ्याङ्क बढ्ने मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि तथा अर्थ विज्ञ हरिप्रसाद पण्डितका अनुसार प्रदेशमा कुल खेतीयोग्य जमिन ६ लाख ८० हजार १५ हेक्टर जमिनमध्ये ३ लाख २ हजार ९३९ हेक्टरमा धान खेती हुन्छ ।
गत वर्ष लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ८०९ हेक्टर क्षेत्रफलमा धान बाली लगाइएको थियो ।लुम्बिनी प्रदेशका तराई र पहाडी जिल्लाहरूमा सावित्री, सामा मसुली, हर्दिनाथ ६, राधा ४, सुक्खा धान १ र २, गंगासागर १ र २, खुमल बासमती लगायतका धान खेती हुने गरेको छ ।
जिल्लागत विवरण
नवलपरासी जिल्लामा २० हजार ४८० हेक्टर धान खेतीयोग्य जमिनमध्ये असार २७ गतेसम्म २० हजार ७० हेक्टरमा रोपाइँ भइसकेको छ । यहाँ धान खेतीयोग्य ९८ प्रतिशत जमिनमा रोपाइँ भएको छ ।रुपन्देही जिल्लामा ६० हजार ५६७ हेक्टरमा धान खेती हुने भए पनि असार २७ सम्म ५४ हजार ५१० हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । प्रतिशतका हिसाबले यहाँ धान खेती हुने कुल क्षेत्रफलको ९० प्रतिशतमा रोपाइँ भइसकेको छ ।
कपिलवस्तु जिल्लामा ६५ हजार ८७१ हेक्टर धान खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ३४ हजार ९१२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यहाँ धान रोपाइँको प्रतिशत ५३ मात्रै छ ।पाल्पा जिल्लामा ५७ प्रतिशत धान रोपाइँ भएको छ भने गुल्मीमा ७८ प्रतिशत भएको प्रदेश कृषि मन्त्रालयले जनाएको छ । अर्घाखाँची जिल्लामा ६ हजार ७६० हेक्टरमा धान खेती हुने भए पनि हालसम्म ५ हजार ७० हेक्टरमा रोपाइँ भएको छ, जो ७५ प्रतिशत हुन आउँछ । रोल्पामा भने धान खेतीयोग्य सबै जमिनमा रोपाइँ सम्पन्न भएको छ ।
रोल्पामा धान खेती हुने ४५४७ हेक्टर जमिनमध्ये सबैमा रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ । दाङ जिल्लामा ७५ प्रतिशत र बाँके जिल्लामा ५८ प्रतिशत रोपाइँ भएको छ । प्युठानमा भने ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
यहाँ ६ हजार ५२५ हेक्टर जमिनमा धान खेती हुन्छ । अहिलेसम्म ५ हजार ९७७ हेक्टरमा रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।
रुकुम पूर्व जिल्लामा ३५४ हेक्टरमा रोपाइँ हुने भए पनि अहिलेसम्म ३४३ हेक्टरमा सम्पन्न भएको छ । बर्दिया जिल्लामा ५० हजार १५० हेक्टरमा धान रोपाइँ हुने भए पनि हालसम्म ३९ हजार ५४ हेक्टरमा मात्र सम्पन्न भएको छ ।मन्त्रालय प्रवक्ता पण्डितका अनुसार लुम्बिनी प्रदेशमा सिँचाइ सुविधा नभएका जमिन अधिकांश रहेकाले पानी कम परेका जिल्लामा रोपाइँ तुलनात्मक रूपमा कम भएका छन् ।