३१ भाद्र २०८२, मंगलवार

७ प्रतिशतसम्म धान उत्पादन घट्नेःकृषि अर्थविज्ञ
  • न्युज मानसराेवर

काठमाडौँ \ मुलुकभर यस वर्ष धान रोपाइँ साढे ३ प्रतिशत बिन्दुभन्दा धेरैले घटेपछि यसले धान उत्पादनमा ७ प्रतिशतसम्म गिरावट आउन सक्ने अनुमान कृषि अर्थविज्ञहरूले गरेका छन् । कृषि विभागले आइतवार यस वर्षको धान रोपाइँको अन्तिम तथ्यांक सार्वजनिक गर्दै गतवर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत बिन्दुले कम रोपाइँ भएको बताएको हो । गतवर्ष यस अवधिसम्म मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यसवर्ष हालसम्म ९४ दशमलव ९ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

देशभर १३ लाख ७६ हजार ४६६ हेक्टर जमीनमा धानखेती हुने गरेकोमा हालसम्म १३ लाख ६ हजार २९३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । प्रतिकूल मौसमका कारण विशेष गरी अन्न भण्डार मानिएको मधेश र कोशी प्रदेशमा गतवर्षको तुलनामा धान रोपाइँ घटेको विभागले बताएको छ । विभागका वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईंले यस वर्ष रोपाइँ हुने सिजन सकिएको बताउँदै मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको जानकारी दिए । विशेष गरी मधेशमा साढे १० प्रतिशत र समग्रमा साढे ३ प्रतिशत बिन्दुले धान रोपाइँ घट्नुले मुलुकको कुल धान उत्पादन ७ प्रतिशतसम्मले घट्न सक्ने अनुमान गरिएको उनले बताए ।

‘मधेश र कोशीमा मनसुनले साथ नदिँदा ढिलो रोपाइँ भयो, यसले पनि उत्पादकत्वमा असर गर्छ । किनभने बीउ राखिएको २१ दिनभित्र रोपाइँ गर्न सकिएन भने बीउ छिप्पिएर त्यसले धानको उत्पादकत्वमा कमी आउँछ,’ चौलागार्इंले भने । ‘अझ मधेश र कोशीमा रोपिने उन्नत जातको धानको बीउहरू छिटो रोपिसक्नुपर्ने तरीकाले उत्पादन गरिएको हुन्छ । ढिलाइ हुँदा उत्पादकत्वमा त्यसले असर गर्ने हुन्छ ।’

धान उत्पादन घटेपछि यस वर्ष धान/चामल आयात बढ्नेदेखि खाद्यान्नको मूल्य वृद्धिसम्म हुन सक्ने अनुमान गरिएको उनले बताए । यस वर्ष मध्य मनसुनमै मधेश प्रदेशमा पानी नपरेपछि सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । मधेश प्रदेशमा गतवर्ष ९७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८६ दशमलव ३५ प्रतिशतमा सीमित भएको छ । मधेशमा ३ लाख ७० हजार १४५ हेक्टर जमीनमा धान खेती हुने गरेको छ ।

कोशी प्रदेशमा गतवर्ष शतप्रतिशत रोपाइँ भएकामा यस वर्ष ९७ दशमलव २४ प्रतिशत भएको छ । बागमती प्रदेशमा गतवर्ष हालसम्म ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष ९७ दशमलव २७ प्रतिशत मात्र रोपाइँ भएको छ । गण्डकी प्रदेशमा गतवर्ष ९८ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ९६ दशमलव ६३ प्रतिशतमा खुम्चिएको छ ।लुम्बिनीमा यस वर्ष ९८ दशमलव ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यसैगरी, कर्णालीमा ९९ दशमलव ७२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले यस वर्ष गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हाइब्रिड जातको धानको बीउलाई सरकारले प्रोत्साहन गरेकाले शुरूमा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिए पनि मनसुन अनुकूल नहुँदा त्यसो नहुने बताए । उनका अनुसार विशेष गरी मधेशमा रोपाइँ कम भएको र समग्रमा पनि साढे ३ प्रतिशत बिन्दुभन्दा धेरैले रोपाइँ घटेकाले उत्पादन पनि ठूलो प्रतिशतमा घट्न सक्ने अनुमान गर्न सकिन्छ ।

  • १० भाद्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech