नेपालको राजनीतिक परिदृश्य अहिले तीव्र गतिमा परिवर्तन हुँदैछ । झण्डै साढे सात दशकअघि प्रजातन्त्रको पुनः स्थापनामा अग्रणी भूमिका खेलेको नेपाली काँग्रेस आज आफ्नै अस्तित्व र प्रासङ्गिकताको प्रश्नको सामना गरिरहेको छ । परम्परागत ठुला दलहरू—नेपाली काँग्रेस, एमाले र माओवादीप्रति नेपाली जनतामा, विशेषगरी युवापुस्तामा, असन्तोष बढ्दै गएको छ । यसको प्रमुख कारण भनेको अति सत्ता लिप्सा, परिवार र गुटको पोषण, राजनीतिमा टिकिरहन स्वार्थसमूहहरूसँग अनुचित साँठगाँठ, भ्रष्टाचारको जालो निर्माण गरेर अकुत सम्पत्ति आर्जन र पुँजीको विदेश पलायन र सत्तामा रहँदा जनतालाई सेवा प्रवाह दिनभन्दा कर्मचारीलाई रिझाएर लामोसमयसम्म सत्ताको दुरुपयोग गर्ने अस्वस्थ प्रवृत्तिले नागरिकमा चरम निराशा र आक्रोश बढिरहँदा पनि परम्परागत दलहरू सच्चिनेभन्दा पनि ढिट भएर जुनसुकै तरिकाले आफ्नो शक्ति सुरक्षित गर्नेतिर लाग्नु सुखद होइन ।
र यो निराशा र आक्रोशलाई क्यास गरेर नयाँ वैकल्पिक दलहरू उदाउँदैछन् । ती दलहरूले पपुलिष्ट नारा दिएर युवाको असन्तुष्टिलाई राजनीतिक पुँजीमा बदल्ने प्रयास गरिरहेका छन् । उनीहरूले भ्रष्टाचार, बेरोजगारी र असमानतामाथि कठोर स्वरमा आक्रमण गर्छन्, जसले अल्पकालीन रूपमा जनताको समर्थन त तान्छ, तर त्यस्ता वैकल्पिक भनिएका दलको दीर्घकालीन नीति र संगठनात्मक स्थायित्व नभएकाले तिनमा भेला भएका मानिसहरूको निजी स्वार्थका आधारमा नागरिकका आक्रोशको साहारामा गर्जने र फेरी आफ्नै कमजोरीले हराउने वा पतन हुने प्रक्रिया चलिरहन्छ । यस्तो अवस्थामा, नेपाली काँग्रेसले आफ्नो ऐतिहासिक भूमिका र मूल विचारधारा जोगाउनका लागि संगठनात्मक पुनर्गठन र नवीन सन्दर्भमा परिमार्जित वैचारिक दृष्टिकोणका आधारमा आफूलाई पुनर्संगठित गर्नु अपरिहार्य छ । त्यस सन्दर्भमा केही महत्वपूर्ण विषयको तल चर्चा गरिएको छ ।
लोककल्याणकारी उदार लोकतन्त्रको स्पष्ट वैचारिकी र अभ्यास
आजको विश्व राजनीति तीव्र रूपमा ध्रवीकृत हुँदैछ । कतै अतिदक्षिणपन्थी राष्ट्रवादले आप्रवासी र अल्पसंख्यकमाथि दबाब बढाइरहेको छ भने कतै अतिवामपन्थी विचारधाराले व्यक्तिगत स्वतन्त्रतालाई सीमित पार्ने र कृत्रिम चुनावको आधारमा शक्तिमा रहिरहने प्रवृत्ति बढिरहेको छ । कतिपय मुलुकमा त लोकतान्त्रिक अभ्यास नै सैन्य हस्तक्षेप वा अधिनायकवादी व्यवस्थाले खोसिदिएको छ । यस्तो अस्थिर वैश्विक परिस्थितिमा सामाजिक कल्याणसहितको उदार लोकतन्त्र (लिबरल डेमेक्रेसी) नै सबैभन्दा स्थायी, जिम्मेवार र दीगो शासन प्रणाली भएको प्रमाणित भइसकेको छ ।
नेपालमा उदार लोकतान्त्रिक मूल्यको संस्थागत रक्षामा ऐतिहासिक भूमिका खेलेको दल नेपाली काँग्रेसले यदि आफ्नो मूल विचारप्रति इमान्दार रह्यो भने यसले राष्ट्रिय मात्र होइन, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा पनि प्रासङ्गिकता कायम गर्न सक्छ । त्यसका लागि काँग्रेसले आफ्नो राजनीतिक अभ्यासमा मानवअधिकार, बहुदलीय प्रतिस्पर्धा र प्रेस स्वतन्त्रतालाई गैरसम्झौतायोग्य आधार बनाउनुपर्छ । तर यि मूल्यहरूलाई सरकार सञ्चालन एवं अन्य नीतिगत निर्णय, संसदीय व्यवहार र आन्तरिक संगठनमा लागु गरेर नागरिकमा विश्वसनियता बढाउनु पर्ने हुन्छ ।
नेतृत्व हस्तान्तरणको सुनिश्चित प्रणाली
एक समय आफूलाई सात सालको क्रान्तिमा सामेल भएको वा छत्तिस सालको सत्याग्रहमा भाग लिएको कार्यकर्ता भनेर आफैँमा गर्व गर्ने राजनैतिक संगठन थियो । युगान्तकारी परिवर्तनको नेतृत्व गरेको यो दलको सदस्यता लिनु वा समर्थक हुनु नै प्रतिष्ठाको विषय थियो । तर काँग्रेसले आफ्नो त्यो विरासत यसरी धुमिल बनायो कि हत्तपत्त काँग्रेसको नाममा पदप्रतिष्ठा लिएका वा नेतृत्वमा आफूलाई स्थापित गरेका वा आफ्नो व्यवसायिक वा अन्य गैरकानुनी आर्जनलाई शक्तिका आडमा ढाकछोप गर्न चाहाने माफियाहरू बाहेक म काँग्रेस हुँ भनेर निर्धक्क भन्ने कार्यकर्ताको सङ्ख्या अब बिरलै भेटिन्छ । जे जति छ, पुरानो आफ्नै योगदानलाई भुल्न नसकेर काँग्रेस होइन भन्न नसक्नेहरू धेरै छन् ।
ठुला विचौलिया र व्यापारीहरू सोझै जिल्ला, प्रदेश र केन्द्रका कार्यसमितिहरूमा मनोनीत हुन्छन् वा नेतृत्वका प्यानलमा परेर चुनाव जित्छन् तर आजीवन संगठन गरेका कार्यकर्ताहरूलाई पैसा र राज्य शक्तिको आडमा तलै चुनाव हराइन्छ । किनकी चालिसौँ वर्ष एउटै व्यक्ति नेतृत्वमा रहिरहन्छ । र उसले आजीवन आफूलाई पार्टी र सत्ताको शक्तिमा टिकाइराख्न त्यस्ता विचौलियाहरूको सञ्जाल बनाएको हुन्छ जसले अरुलाई नेतृत्वमा छानिने सबै सम्भावनाहरू बन्द गरिदिन्छन् । यदि काँग्रेसलाई पुनर्सङ्गठित गर्ने हो र युवा र खास कार्यकर्तामा संगठनभित्र नेतृत्वमा पुग्ने सोपानहरू निर्माण गर्ने हो भने अब पार्टीको विधानमा नेतृत्व हस्तान्तरणको नीतिलाई स्पष्ट ढङ्गले लिपिबद्ध गर्नुपर्छ । यहाँ प्रश्न बुढो या तन्नेरीको होइन । कोही व्यक्ति जीवनकालभरि नेतृत्वमा रहिरहने परिपाटी खारेज गर्ने कुरा हो । देशमा भ्रष्टचार र विचौलियका बिगबिगी बढ्नुको मुख्य कारण पनि यही हो । त्यसैले पुस्तान्तरणको वहसलाई उमेरको पुस्तान्तरणको रूपमा मात्र बुझ्नु त्रुटिपूर्ण हुन्छ । खासमा त्यो पुस्तान्तरण मूल रूपमा नेतृत्वको अनिवार्य हस्तान्तरण गर्ने प्रणालीको विकाससँग सम्बन्धित हुनुपर्छ ।
युवालाई समावेश गर्ने नीतिगत व्यवस्था
नेपाली काँग्रेसलाई पुनःप्रासङ्गिक बनाउन सबैभन्दा पहिलो र महत्वपूर्ण कदम भनेको पार्टीमा नयाँ पुस्ताको वास्तविक प्रवेश र सशक्त भूमिकाको सुनिश्चितता हो । अहिलेको अवस्थामा पार्टी नेतृत्वमा दशकौँदेखि उस्तै अनुहार, उस्तै सोच र उस्तै कार्यशैली हावी देखिन्छ । यसले युवापुस्तामा निराशा पैदा गरेको छ । काँग्रेसले यदि भविष्यमा देशको मुख्य राजनीतिक शक्ति बनेर रहन चाहन्छ भने युवालाई केवल ‘दर्शक’ होइन, ‘निर्णायक’ बनाउनुपर्नेछ । युवालाई छुट्टै कोटा चाहिने होइन । अहिले भएकै व्यवस्थाभित्र युवाका लागि स्पेस सिर्जना गर्ने हो । जस्तो महिला निर्वाचित हुने पदहरूमा निश्चित प्रतिशत युवा महिलाको प्रतिनिधित्व गराउने ।
जनजातिको प्रतिनिधित्व हुने स्थानमा निश्चित प्रतिशत युवा जनजातिको प्रतिनिधित्व हुने व्यवस्था गर्ने । खुला र समावेशी सबै पदहरूमा कम्तीमा ४० वर्षमुनिका २० प्रतिशत युवाहरूलाई सुरक्षित गर्ने । यसका अलावा पार्टीका गाउँ नगरदेखि प्रादेशिक र केन्द्रीय तहसम्म युवाहरूलाई नीति अध्ययन र छलफलसम्बन्धी संरचनाहरूमा आबद्ध गराएर उनिहरूका विचार र दृष्टिकोणलाई प्रतिविम्बित गर्ने खालको पार्टीको वैचारिकी निर्माणको निरन्तर प्रक्रिया चलाउने । अहिले काँग्रेसले केही विषयगत समितिहरू बनाएर युवाहरूलाई त्यसको जिम्मेवारी दिँदा तत् तत् विषयका छलफल, नीतिगत छलफलका कार्यक्रमहरू पहिलेको तुलना बढेको पनि देखिन्छ ।
यद्यपि ति कार्यक्रमहरू फाट्फुट्ट युवाहरूले नेतृत्व पाएका समितिहरूले मात्र गरेका छन् । त्यसमाथि त्यस्ता कार्यक्रममा नेताहरूलाई वक्ता बनाएर उही पुरानै भाषण सुन्ने परिपाटीबाट ति फरक हुन सकेका छैनन् । युवाहरूकै आवाज र विचारले ठाउँ पाउने र पछि त्यसलाई नीति निर्माणको अङ्ग बनाउने गरि त्यसालाई व्यवस्थित गर्नुपर्ने हुन्छ । यो किन पनि आवश्यक छ भने युवालाई चुनावी रणनीति, डिजिटल अभियान, नीति निर्माण र अन्तर्राष्ट्रिय सम्बन्धमा अगुवा बनाउन सकिन्छ । यो उमेर समूह प्रविधिमैत्री, नवप्रवर्तनशील र समसामयिक समस्याको समाधानतर्फ केन्द्रित गराउन अपेक्षाकृत सजिलो हुन्छ ।
उम्मेदवार छनोटमा आन्तरिक प्राइमरी निर्वाचन
नेपाली काँग्रेसलगायत परम्परागत दलहरूमाथि विगतदेखि नै एउटा गम्भीर आरोप लागेको छ—उम्मेदवार छनोटमा पैसा र पहुँच नै मुख्य निर्णायक हुन्छन् । जसले ठूलो रकम तिर्छ वा शीर्ष नेतासँग नजिक हुन्छ, उसले टिकट पाउँछ भन्ने बुझाइले जनतामा मात्र होइन, पार्टीकै कार्यकर्तामाझ पनि निराशा फैलाएको छ । यदि काँग्रेसले उदार लोकतान्त्रिक मूल्यमा विश्वास गर्छ भने उम्मेदवार छनोटमा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्नु अनिवार्य छ ।
अब उम्मेदवार चयनमा केन्द्रीय नेताको एकल अधिकार होइन, पार्टी सदस्यको प्रत्यक्ष मताधिकार हुनुपर्छ । निर्वाचन क्षेत्रको पार्टी सदस्यहरूले प्रत्यक्ष मतदानमार्फत उम्मेदवार चयन गर्ने प्रणालीले पैसाको प्रभावलाई घटाउँछ र योग्य व्यक्तिलाई अगाडि ल्याउँछ । यसका लागि प्रविधिलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने तिर पनि ध्यान दिनुपर्छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
कुनै फौजदारी अपराधमा कुनै अदालतमा मुद्दा चलिरहेका व्यक्तिलाई त्यसको न्यायिक निरुपण नभएसम्म पार्टीको जुनसुकै तहको जिम्मेवारीमा भए पनि स्वतः निलम्बन हुने व्यवस्था पार्टीको विधानमा राख्नुपर्छ । अदालतले दोषी ठहर गरे स्वतः पार्टी सदस्यता र सबै पद खारेज हुने, निर्दोष सावित भए निलम्बन पनि स्वतः फुकुवा हुने व्यवस्था गरे बदनाम व्यक्तिको ढाकछोप गरेर पार्टीको साख गिराउने काम पनि रोकिने थियो । एक पटक अदालतबाट दोषी प्रमाणित व्यक्ति पार्टीको कुनै तहमा उम्मेदवार हुन पाउने छैन भन्ने व्यवस्था गरिनुपर्दछ । अनि मात्र पार्टीको भ्रष्टाचारविरोधी नीतिलाई जनताले विश्वास गर्ने स्थिति बन्छ ।
डिजिटल लोकतन्त्रको अभ्यास
नेपालको राजनीतिबाट असन्तुष्ट सबैभन्दा ठूलो समूह अहिलेको युवापुस्ता हुन् । नेपालमै गुणस्तरीय र सीपमूलक शिक्षा नपाउनु, शिक्षा प्राप्त गरेपछि रोजगारको अवसर नपाउनु, सार्वजनिक सेवाहरूमा ढिलासुस्ती र भ्रष्टाचार हुनु लगायतका कारणले गर्दा युवाहरू परम्परागत दलबाट टाढिँदैछन् । नयाँ वैकल्पिक दलहरूले यही असन्तुष्टिलाई आफ्नो संगठनको आधार बनाइरहेका छन् । यस्तो परिस्थितिमा, नेपाली काँग्रेसले युवालाई फेरि आफ्नो पक्षमा आकर्षित गर्नका लागि आधुनिक र व्यावहारिक रणनीति अपनाउनैपर्छ । युवाहरू प्राविधिक रूपमा दक्ष भएकाले सदस्यता लिनेदेखि नीति निर्माणमा सुझाव दिने व्यवस्था डिजिटल प्लेटफर्ममार्फत गर्न सकिन्छ ।
सदस्यता प्राप्ति खुला राखिनुपर्छ । साधारण सदस्यताको हकमा कुनै तहको नेता वा समितिले त्यसलाई रोक्न नमिल्ने हुनुपर्छ ।
अनलाइन प्लेटफर्ममा दर्ता हुने सबै साधारण सदस्यलाई पार्टीको नियमित नीतिगत अपडेट, केन्द्रीय समिति र उ सम्बिन्धित भएको प्रदेश, जिल्ला र गाउँ नगर समितिका निर्णयहरू उपल्ब्ध हुने व्यवस्था गर्नुपर्छ । जसले पारदर्शिता र पार्टीको निर्णय र कुनै गम्भिर राष्ट्रिय विषयमा पार्टीको पोजिसन के हो भनेर अपडेट हुन सजिलो हुन्छ । त्यस्तै उम्मेदवार छनोट, नीति अनुमोदन लगायतका निर्णय डिजिटल भोटिङमार्फत गर्न सकिन्छ, जसले प्रक्रियालाई छिटो, पारदर्शी र सबैको पहुँचमा बनाउँछ ।
थिंक ट्यांकको विकास
काँग्रेस गिटी बालुवाको तस्करी गर्ने, काठको तस्करी गर्ने वा यस्तै सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेर पेशा चलाउने माफियाको झुण्डहरूले अहिले काँग्रेस, एमाले, माओवादी वा अन्य जुनसुकै दलको सार्वजनिक साख गिर्दै गएको छ । पछि तिनै तस्करहरू र माफियाले पैसाको बलमा पार्टीको टिकट लिन्छन् र तिनै मेयर र सांसद र मन्त्री बनेर शासन गर्ने ठाउँमा आइपुग्छन् । प्राविधिक रूपमा भन्दा त तिनीहरू जनताले निर्वाचित गरेको प्रतिनिधि हुन्छन् । तर त्यो चुनाव त तिनै माफिया र तस्करबीचनै भएको हुन्छ । जित्ने पनि आखिरमा त्यही माफिया र तस्कर नै हुन्छ । यही कारणले पनि आम मानिसहरूमा दलहरूप्रति वितृष्णा बढ्दै गएको छ । अब सीर्जनशील र पढेलेखेका युवा बौद्धिकहरूलाई पार्टीमा कसरी जोड्ने भन्ने महत्वपूर्ण प्रश्न हो । विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था र
निजी क्षेत्रका युवाहरूलाई जोडेर पार्टीको आफ्नै नीति अनुसन्धान केन्द्र बनाउनुपर्छ । रोजगारी सिर्जना, प्रविधि विकास, जलवायु परिवर्तन, वैदेशिक रोजगार र सामाजिक न्यायका विषयमा वैकल्पिक नीति बनाउन सक्ने प्लेटफर्मको विकास गर्नुपर्छ । थिंक ट्यांकमार्फत काँग्रेसले केवल ‘पुरानो पार्टी’ भन्ने धारणा तोडेर नयाँ विचार र नीतिसहितको संगठनको रूपमा आफ्नो परिचय स्थापित नगराउने हो भने आफूलाई टिकाइराख्न धेरै चुनौती रहनेछ ।
निष्कर्ष
नेपाली काँग्रेस नेपालको राजनीतिक इतिहासमा लोकतन्त्र, जनअधिकार र सामाजिक न्यायको लागि अग्रणी दल हो । तर अहिलेको बदलिँदो राजनीतिक परिदृश्यमा अब इतिहास भजाएर होइन नयाँ इतिहास रचना गर्नेतर्फ यसले आफूलाई अग्रसर गराउनु पर्ने छ । देशमा व्याप्त भ्रष्टाचार, कानुनी राज्यको अवमूल्यन, सार्वजनिक सेवा प्रवाहमा लापरवाहि र ढिलासुस्ती र पार्टीभित्र मौलाउँदो ओलिगार्कीले गर्दा नयाँ पुस्तामा जुन असन्तोष र आक्रोश बढेको छ, त्यसलाई सम्बोधन गर्ने गरि साङ्गठनिक रूपमा आफूलाई नसच्याउने हो भने यसको उपादेयता जनताले देख्ने छैनन् । र यिनै निराशा र आक्रोशमा खेलेर वैकल्पिक दलहरू आफ्नो शक्ति आर्जन गर्ने छन् । काँग्रेसले साँच्चै आफूलाई नयाँ परिस्थितिमा आफूलाई सान्दर्भिक जनमत भएको राजनीतिक शक्तिको रूपमा देख्न चाहाने हो भने नीतिगत र साङ्गठनिक पुनर्सङ्गठनका लागि ढिलाइ गर्नु हुँदैन । साभार