विजया दशमी, सत्यले असत्यमाथि गरेको विजयको प्रतीक, नेपाली समाजको महान् चाड हो । हरेक वर्षझैँ यस वर्ष पनि दशैँले देशभर खुशी, उमंग र पारिवारिक मेलमिलापको मौकालाई साथमा ल्याएको छ । परदेशमा रहेका नेपाली बिदा मिलाएर स्वदेश फर्किएका छन्, शहरमा व्यस्त जीवन बिताइरहेका लाखौँ नेपालीहरू आफ्ना पुख्र्यौली थलोमा फर्किने यात्रामा छन् । यो दृश्य आफैँमा नेपाललाई एक धागोले गाँस्ने असल उदाहरण हो । नेपाली मनहरुलाई एक–आपसमा प्रगाढ बनाउने र सस्ंकृति, परम्परालाई अझै उचो बनाउने चाड हो यो ।
तर यसपटकको दशैँ केवल उमंग र उल्लासमै सीमित छैन । देश ताजा राजनीतिक हलचलबाट गुज्रिएको छ । जेनजी आन्दोलनले मुलुकलाई नयाँ दिशातिर धकेलेको भए पनि त्यस क्रममा होनहार युवाहरूले गुमाएको जीवन र आन्दोलनको भोलिपल्ट देशका प्रमुख धरोहरहरूमा लागेको आगोले नेपालीहरूको मुटु अझै पोलिरहेको छ ।
त्यस्ता अमूल्य क्षतिको पीडाका बीचमा मनाइँदै गरेको दशैँमा खुशीसँगै गहिरो बिर्सन नसकिने घाउ पनि मिसिएको छ । आज आवश्यकता के हो भने, ती दुःखद घटनाका दोषीहरूलाई स्पष्ट पहिचान गरी कडा कारबाही गर्नुपर्नेछ ।
न्यायविहीनता र दण्डहीनता कायमै रह्यो भने आन्दोलनले दिएको सन्देश र बलिदान दुवै अपमानित हुनेछ । साथै शहीदहरुको बलिदानमाथि खेलबाड हुनेछ । आन्दोलनको राप–तापका कारण जनतालाई तङ्ग्रिन नदिएको अस्थिरता अब अन्त्य भई देश स्थायित्व, सुशासन र विकासतर्फ अघि बढ्नुपर्छ । नागरिकमा केही आशा देखिए पनि निराशाका बादलहरु पनि त्यति नै मडारिरहेका छन् ।जेनजी आन्दोलनका क्रममा भएका भयंकर ठूला आगजनी र क्षतिका कारण व्याप्त निराशालाई समेत प्रभावकारीरुपमा सम्बोधन गर्न सक्नुपर्छ । वर्तमान सरकारले आम जनतामा रहेको निराशा चिर्दै परिणाम दिन अहोरात्र काम गर्नुपर्छ ।
सरकारको मुख्य काम समयमा नै निर्वाचन सम्पन्न गराउने भए पनि मुलुकमा सुशासन कायम गर्दै समृद्धि र विकासको नयाँ रुपरेखा कोर्ने कार्यमा पनि सरकार अग्रसर बन्नै पर्छ । आम जनतालाई पूर्णरुपमा सुरक्षाको अनुभूति दिँदै मुलुकमा अमनचयन राख्न सक्नुपर्छ । यसमा सरोकारवाला पक्ष गम्भीर र संवेदनशील बन्न जरुरी छ । भोलिका दिनमा मुलुकमा भीडन्त र निषेधको भन्दा पनि सहकार्य, सहअस्तित्व र समन्वयको वातावरण बनाउन सक्नु अहिलेको अहं आवश्यकता हो । यसबारेमा प्रधानमन्त्री तथा मन्त्रीहरु अझै बढी घोत्लिन जरुरी छ ।
यस चाडले सबैलाई एउटा साझा प्रेरणा दिनुपर्छ– हामी नेपालीबीचको सम्बन्ध अझ बलियो होस्, देशलाई संकटमा पार्ने कुनै पनि मनपरि आन्दोलन पुनः दोहोरिन नपाओस्, राजनीतिक दल र नेताहरूमा विवेक पलाओस् । मुलुक स्थिति, विधि र विकासतर्फ निरन्तर अघि बढ्न सकोस् । विजया दशमीको धार्मिक सन्देश यही हो– सत्य, न्याय र सद्भाव अन्ततः विजयी हुन्छन् । यसै अवसरमा हाम्रा सम्पूर्ण पाठकवृन्द, स्वदेश र विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई विजया दशमी २०८२ सालको हार्दिक शुभकामना अर्पण गर्दछौं । देवी दुर्गाले हामी सबैलाई मुलुक निर्माणको महान् यात्रामा सामूहिक शक्ति, आस्था र आत्मबल प्रदान गरुन् ।