बाँके\सुन रूखमा फल्दैन भन्ने भनाइ पुरानो हो । तर, फिनल्यान्डमा गरिएको एक क्रान्तिकारी अनुसन्धानले देखाएको छ कि समय रूखमा सुन फल्ने क्षणको नजिक पुग्न थालेको छ ।
उत्तर फिनल्यान्डका वैज्ञानिकहरूले नर्वे स्प्रस नामका रूखका सुईजस्ता पातभित्र स–साना सुनका न्यानोपार्टिकल फेला पारेका छन् । झन् रोचक कुरा त के भने यी ससाना कणहरू रूखभित्र बस्ने सूक्ष्म जीवाणुको सहयोगमा बनेका देखिएका छन् ।
यो अध्ययन फिनल्यान्डको ओउलु विश्वविद्यालय र फिनल्यान्ड भूगर्भीय सर्वेक्षण विभागद्वारा गरिएको हो । अनुसन्धानअनुसार केही विशेष ब्याक्टेरियाले माटोमा घोलिएको सुनलाई रूपान्तरण गरी रूखका पातभित्र ठोस कणका रूपमा जम्न सहयोग गर्छन् ।
यो खोजले वनस्पतिमा आधारित ‘हरित’ सुन अन्वेषणका लागि नयाँ ढोका खोलेको छ । साथै, प्रकृतिमा सूक्ष्मजीवहरूले कसरी भू–रासायनिक प्रक्रियाहरू परिवर्तन गर्छन् भन्ने कुरा विज्ञानले अब बल्ल बुझ्न थालेको संकेत दिएको छ ।
जीवाणु र रूख मिलेर कसरी सुन बनाउँछन्
नर्वे स्प्रस रूखका सुईजस्ता पातभित्र विभिन्न सूक्ष्म जीवाणुहरूको समुदाय बस्छ, जसले त्यहाँका रासायनिक प्रतिक्रियामा प्रभाव पार्छ ।
डीएनए अनुक्रमणद्वारा पत्ता लाग्यो कि पी३ओबी४२, क्युटिब्याक्टेरियम र कोर्निब्याक्टेरियम नामका ब्याक्टेरियाहरू ती सुईहरूमा बढी पाइए जहाँ सुनका न्यानोपार्टिकलहरू भेटिएका थिए ।
यी ब्याक्टेरियामा ‘बायोफिल्म’ नामक चिप्लो तहमा वास गर्छन्, जसले ससाना सूक्ष्म वातावरण (माइक्रोइन्भारोमेन्ट्स) बनाउँछ जहाँ माटोमा घुलिएको सुन पुनः ठोस कणका रूपमा जम्न थाल्छ । यसरी सुन स्थायी रूपमा पातभित्र ‘बन्द’ हुन्छ ।
माटोदेखि पातसम्म सुनको यात्रा
माटोमा रहेको सुन पानीसँग मिसिएर घुलनशील रूपमा रहन्छ र बोटका जरामार्फत भित्र पस्छ । त्यसपछि त्यो बिस्तारै रूखभित्र माथि चढ्दै पात र सुईसम्म पुग्छ ।
एकपटक भित्र पुगेपछि जीवाणुहरूले बनाएका सूक्ष्म वातावरणले सुनलाई जम्न उत्प्रेरित गर्छन्, जसले गर्दा ठोस कण बन्न थाल्छ । तर, सबै रूखमा सुन पाइएन । यसको अर्थ पानीका मार्गहरू, सूक्ष्मजीवहरूको संरचना र स्थानीय भौगोलिक अवस्थाहरू पनि यस प्रक्रियामा महत्त्वपूर्ण छन् ।
हरित र टिकाउ सुन अन्वेषणका लागि संकेत
परम्परागत रूपमा सुन खोजका लागि ड्रिलिङ र भूरासायनिक सर्वेक्षण गरिन्छ । तर, अब वैज्ञानिकहरूले बुझ्दै छन् कि कुन प्रकारका ब्याक्टेरिया सुनको उपस्थितिसँग सम्बद्ध छन् भन्ने पत्ता लागेपछि रूख र बिरुवालाई प्रयोग गरेर सुन खोज्ने नयाँ तरीका विकास गर्न सकिन्छ ।
यसले अनावश्यक ड्रिलिङ घटाउने र पर्यावरणीय क्षति कम गर्ने सम्भावना देखाएको छ ।
यदि वैज्ञानिकहरूले रूखका पातभित्रको जीवाणु ‘फिंगरप्रिन्ट’ (माइक्रोबिअल फिंगरप्रिन्ट) को नक्सा तयार गर्न सके भने खानी अन्वेषण अझ दक्ष, सस्तो र वातावरणमैत्री बन्नेछ ।
यस्तै सूक्ष्मजीव–प्रेरित प्रक्रिया खानी प्रदूषण भएको पानीबाट धातुहरू पुनःप्राप्त गर्न पनि प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि जल–वनस्पति र मोस (अक्वाटिक प्लान्ट्स एन्ड मोसेस) ले पानीभित्रका धातुहरूलाई ठोस र हानिरहित रूपमा जमाएर पानी शुद्ध गर्ने र वातावरणीय सुधार सम्भव बनाउन सक्छन् ।
भविष्यको दिशा : बोट–जीवाणु भू–रसायनशास्त्र
हालका नतिजा प्रारम्भिक भए पनि तिनीहरूले संकेत गर्छन् कि रूखभित्रका सूक्ष्मजीवहरूले प्रकृतिमा धातु र खनिज कसरी जम्मा हुन्छ भन्ने बुझ्नका लागि मुख्य सूत्र हुन सक्छन् ।
भविष्यका अध्ययनहरूले यी रूपान्तरणहरूलाई नियन्त्रित प्रयोगशालामा दोहोर्याउने, ऋतु र जमीनमुनिको पानीको प्रभाव ट्र्याक गर्ने र अन्य वनस्पति तथा खनिज निक्षेपहरूमा पनि अनुसन्धान विस्तार गर्ने योजना बनाइरहेका छन् ।
यो सामान्य देखिने स्प्रस रूखको सुई वास्तवमा प्रकृतिको ‘नानो–रासायनिक प्रयोगशाला’ हुन सक्छ । यसले प्रकृतिमा लुकेको रासायनिक जादू (अल्केमी) उजागर गर्न सहयोग पुर्याउँछ ।
यदि भविष्यमा यी नतिजा थप प्रमाणित भए वनहरू नै सुनका लागि प्राकृतिक ‘बायो–माइनिङ’ क्षेत्र बन्न सक्छन् । त्यहाँ रूखहरूले नै सुन जस्ता बहुमूल्य धातु खोज्ने दिशानिर्देश दिन सक्छन् ।यो खोजले हामीलाई सम्झाउँछः प्रकृतिको सबैभन्दा शान्त कुनामा पनि सुनभन्दा बढी मूल्यवान् रहस्य लुकेका हुन सक्छन् ।(द इकोनोमिक टाइम्सबाट)