बाँके\ बाँके जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिंदैछ ।
भारतसँग ६५ किलोमिटरको खुला सिमाना गाँसिएको बाँके जिल्लाका आठवटा पालिकाका १३९ वटा मतदानस्थलमध्ये ६१ वटा अति संवेदनशील, ५० वटा संवेदनशील तथा २८ वटालाई सामान्य मतदानस्थल तोकिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले बताउनुभयो ।
१३९ मतदानस्थलमा ४०० मतदान केन्द्र कायम गरिएको र केही अस्थायी मतदान केन्द्र समेत कायम गरिने तयारी भइरहेको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगु जिसीले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नका लागि कुनै कसर बाँकी नराख्ने जनाउँदै निर्वाचन लक्षित कडा सुरक्षा व्यवस्था गरिने बताउनुभयो ।
उहाँले सुरक्षामा निर्वाचन प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित हुने बताउनुभयो । मतदानको केहीदिन अघिबाटै सीमा नाकामा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती पनि हुने र सो गस्ती निर्वाचनको अवधीसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँकेमा यस पटक तीन लाख ५० हजार ३७१ जना मतदाता सङ्ख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले अस्थायी मतदाताको नामावली सङ्कलन गर्ने कार्य अझै चलिरहेकाले सो सङ्ख्या पनि यसमा थपिने बताउनुभयो ।









