३० असार २०८३, मंगलवार

खजुरा गाउँपालिका वडा नं. २ मा सामाजिक परीक्षण सम्पन्न
  • न्युज मानसराेवर

खजुरा, बाँके । खजुरा गाउँपालिका वडा नं. २ ले आर्थिक वर्ष २०८१/०८२ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

उत्पीडित सामुदायिक विकास केन्द्र (OCDC), बाँकेको सहजीकरण तथा वडा नं. २ को आयोजनामा सम्पन्न कार्यक्रममा आर्थिक वर्षभरि सञ्चालन भएका योजना, कार्यक्रम तथा सेवा प्रवाहको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, वडा कार्यालयका कर्मचारी, विषयगत शाखाका प्रमुख, स्थानीय सहकारीका सञ्चालक, कृषक तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

सामाजिक परीक्षण विज्ञ बसन्त कुमार विसी ले प्रतिवेदन प्रस्तुत गर्दै वडा कार्यालयले सञ्चालन गरेका विकास निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन, सुशासन तथा पारदर्शिताका विषयमा विस्तृत जानकारी गराएका थिए। प्रतिवेदनमाथि सहभागीहरूले खुला छलफल गर्दै विभिन्न सुझाव तथा रायसमेत दिएका थिए, जसलाई आगामी योजना तथा सेवा सुधारमा समावेश गरिने जनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष धनिराम वली क्षेत्री ले सामाजिक परीक्षणले स्थानीय सरकारलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले नागरिकका सुझावलाई आत्मसात् गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे।

सामाजिक परीक्षणमार्फत स्थानीय तहका योजना तथा कार्यक्रमको प्रभावकारिताको समीक्षा गर्दै जनप्रतिनिधि र नागरिकबीच उत्तरदायित्व तथा विश्वास अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

  • ३० असार २०८३, मंगलवार प्रकाशित

  • Nabintech