खजुरा\ खजुरा गाउँपालिका वडा नं. २ ले आर्थिक वर्ष २०८१/८२ को तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
उत्पीडित सामुदायिक विकास केन्द्र (OCDC) बाँकेको सहजीकरणमा आयोजित कार्यक्रममा वडाले चालु आर्थिक वर्षमा गरेका काम, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराइएको हो।
कार्यक्रममा वडा अध्यक्ष धनिराम वली क्षेत्रीले वडाले आन्तरिक स्रोतबाट वार्षिक २२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको जानकारी दिए। उनले करिब १ करोड रुपैयाँ बराबरका २२ वटा विकास आयोजना सञ्चालन गरिएको र तीमध्ये ९९.७ प्रतिशत योजना सफलतापूर्वक सम्पन्न भएको बताए।
सार्वजनिक सुनुवाइका क्रममा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यसहित ३ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरिएको थियो।
कार्यक्रममा स्थानीयवासीहरूले बालविवाह नियन्त्रण, लागूऔषध दुव्र्यसन न्यूनीकरण, कृषि अनुदानको प्रभावकारी वितरण, खानेपानी, स्वास्थ्य सेवा तथा अन्य आधारभूत सेवासम्बन्धी विभिन्न प्रश्न, गुनासा र सुझाव प्रस्तुत गरेका थिए। सहभागीका जिज्ञासाको वडा अध्यक्ष तथा सम्बन्धित पक्षबाट जवाफसमेत दिइएको थियो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीयवासी गरी ८० भन्दा बढीको सहभागिता रहेको थियो।
वडाले सार्वजनिक सुनुवाइलाई स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने, पारदर्शिता कायम गर्ने तथा जनउत्तरदायी शासन प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ।










