१८ मंसिर २०७९, आईतवार

कोभिड १९ ले सृजना गर्ने शैक्षिक असमानताको डरलाग्दो खाडल

युनेस्कोका अनुसार नेपालमा ८७,९६,६२४ विद्यार्थीहरु यस अवस्थामा विद्यालय तथा विश्वविद्यालयमा जानबाट बन्चित भएका छन् ।

  • बाबुराम अधिकारी

कोभिड –१९ महामारीले विश्वलाई अस्तव्यस्त बनाउँदा सबै क्षेत्रमा यसको प्रभाव परेको छ । सन् २०१९ को डिसेम्बरमा चिनको बुहानबाट शुरु भएको यो भाइरस विश्व भ्रमण गरेर सारा विश्वलाई नै आफ्नो प्रभाव विस्तार गर्दै आज विश्वका सबै कुना र देशहरुमा पुगेको छ । सबैभन्दा बढी प्रभावित शिक्षा क्षेत्र अस्तव्यस्त बनेको र रोकिएका परीक्षाहरु अझै हुन सकेका छैनन् । विद्यालय तथा शैक्षिक संस्थाहरु सुचारु हुन नसक्दा नयाँ शैक्षिक सत्र शुरु भएको ६ महिना सम्म पनि खेलेरै दैनिकी बिताइ रहँदा बालबालिकाको सिकाइमा अपुरणीय क्षति भएको छ ।

युनेस्कोका अनुसार विश्वका करिब २०० देशका १ अरब ७० करोड विद्यार्थीहरु यस महामारीका कारण प्रभावित बनेका छन । महामारीको नियन्त्रणको उपाय नभेटीदा एकातिर शैक्षिक सत्र नै खेर जाने खतरा बढ्दैछ भने अर्कोतिर शैक्षिक सत्र बचाउन सरकारले गरेका प्रयत्नबाट सोचे अनुरुप परिणाम प्राप्त हुन नसकेकाले यस अवस्थामा शैक्षिक क्षेत्रमा दिर्घकालीन असर पर्ने देखिन्छ ।  युनेस्कोका अनुसार नेपालमा ८७,९६,६२४ विद्यार्थीहरु यस अवस्थामा विद्यालय तथा विश्वविद्यालयमा जानबाट बन्चित भएका छन् । यसले गर्दा लाखौं विद्यार्थीहरुको शैक्षिक सत्र नै धरापमा परेको छ भने सरकार, स्थानिय तह तथा विद्यालयहरुले शुरु गरेका वैकल्पिक सिकाइ प्रक्रियाहरु प्रभावकारी नहुँदा यस क्षेत्रमा असमानताको खाडल बढ्न सक्ने सम्भावना पनि देखिएको छ ।

जिल्ला तथा स्थानिय तहहरुको सक्रियता र संयोजनमा एफ. एम रेडियोहरुबाट कक्षागत पाठहरु प्रसारण गर्ने, विद्यालयले गृहकार्यको प्याकेज तयार गरी विद्यार्थीलाई उपलव्ध गराइ अध्ययन गर्न लगाउने, टोल शिक्षा जस्ता प्रयत्नहरु शुरु  देखि नै हुँदै आएका छन । सरकारले पनि टेलिभिजनबाट प्रसारण गरि सहजीकरण गर्ने प्रयत्न गरिरहेको छ । पछिल्लो अवस्थामा नेपाल टेलिकमबाट सस्तो डाटा उपलव्ध गराएर जुम, गुगल मिट, टिम्स जस्ता एपको प्रयोग गरि अनलाइन कक्षा समेत सञ्चालन भइरहेका छन ।

हाल विद्यालय तहदेखि विश्व विद्यालय तह सम्मका कक्षाहरु अनलाइन माध्यमबाट सञ्चालन भइरहेका छन् । नेपाल खुल्ला विश्व विद्यालय जस्ता खुल्ला शिक्षाको अभ्यास पहिले देखि नै गर्दै आएका संस्थाहरुले वार्षिक परीक्षा नै अनलाइन बाट सम्पन्न गरिसकेका छन भने कतिपय संस्थाहरु अनलाइन परीक्षा सञ्चालन गर्ने तयारीमा छन् । नेपाल सरकारले वैकल्पिक शिक्षा निर्देशिका २०७७ जारी गरी विभिन्न माध्ययमबाट सञ्चालनमा रहेका वैकल्पिक शिक्षालाई मान्यता दिएर शैक्षिक सत्र खेर नफाल्न कक्षा १ देखि कक्षा १० सम्मको पाठ्यक्रम समायोजन समेत गरि सकेको छ । निर्देशिकाले स्थानिय तह तथा विद्यालयलाई दिएका अधिकार क्षेत्रको सम्बन्धमा सम्बन्धित पक्ष प्रष्ट नहुँदा आसातित प्रभावकारी बन्न सकेको छैन ।

निर्देशिकाले सम्भव रहेको वैकल्पिक विधिबाट सबै विद्यार्थीलाई समेट्न निर्देशिका मार्फत योजना बनाएर कार्यान्वयन गर्न विद्यालयहरुलाई निर्देश गरिसकेको
छ । नेपाल सरकारले नेपाल टेलिकम र अन्य इन्टरनेट प्रदायक संस्थाहरु संगको सहकार्यमा विद्यार्थीहरुको पहिचान गरी मोबाइल सिम तथा सस्तो डाटा प्याकेज उपलव्ध गराएर अनलाइन सिकाई सञ्चालन गर्ने प्रयत्न पछी पछिल्लो अवस्थामा अनलाईन सिकाइमा संलग्न हुने विद्यार्थीको संख्यामा वृद्धी भएको तथ्यांक युनेस्कोले प्रस्तुत गरेको छ । विद्यार्थीको वास्तविकता र वैकल्पिक विधिको प्रभावकारीता कडा अनुशासनमा विद्यालयको चार दिवार भित्र शिक्षकको प्रत्यक्ष निगरानिमा मात्र विद्यार्थीले सिकाइ तथा पठनपाठन गर्ने हाम्रो परम्परागत मान्यताले विद्यार्थी तथा अभिभावकहरु अझै पनि वैकल्पिक सिकाइ प्रति आकर्षित हुन सकेको अवस्था छैन ।

विद्यालय तथा विश्व विद्यालयले सञ्चालन गरेका अनलाइन कक्षामा विद्यार्थीको सहभागीता अत्यन्त न्युन देखिनुको एउटा महत्वपुर्ण कारण परम्परागत प्रणालीको अभ्यस्तता हो । भौगोलिक अवस्था, विद्युत तथा नेटको सेवा प्रवाहको अवस्था, अधिकांश अभिभावकको चेतना स्तर, आर्थीक अवस्था, शिक्षकको दक्षता आदि कारणले नेपालका अधिकांश विद्यार्थीलाई वैकल्पिक विधि अन्तरगतको अनलाइन कक्षा अझै पनि एकादेशको कथा बनेको तितो यथार्थता हो । सबैभन्दा ठुलो संख्यामा रहेका पुर्व प्रा.वि. तथा आधारभुत तहका विद्यार्थीलाइ रेडियो तथा टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमहरु हेर्नको लागि अभिभावकको सहयोग आवश्यक पर्दछ तर सार्वजनिक विद्यालयका धेरै अभिभावकहरु आफैमा निरक्षर भएकाले उहाँहरुले आपm्ना नानी बाबुहरुलाई आवश्यक निर्देशन गर्ने क्षमता राख्नु हुन्न ।

सामान्य अवस्थामा समेत सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको गुणस्तर स्तरमा रहेको फरकले दुई प्रकारको शिक्षा एउटा ठुलो समस्याको रुपमा रहेको थियो । गरिब मुलुक नेपालमा रहेका अधिकांश निम्न तथा मध्यम वर्गिय अभिभावकका बालबालिकाले अध्ययन गर्ने सामुदायिक विद्यालयमा निजि विद्यालयको तुलनामा गुणस्तर नभएको यथार्थता कसैबाट लुकेको छैन ।

कोरोना महामारीका कारण शैक्षिक क्षेत्रठप्प हुँदा समेत सबैभन्दा बढी प्रभावित तिनै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु भएका छन । बढ्दै असमानताको खाडल कमजोर आर्थिक अवस्था, कम सक्षम अभिभावक तथा अभिभावकको व्यस्तताका कारण यस महामारीको अवस्थामा समेत सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले घरमा अभिभावकबाट समेत उचित हेरचाह तथा निर्देशन प्राप्त गर्न नसक्दा बरालिएरै यो ६ महिना विताएको तथ्य आकलन गर्न कठिन हुँदैन । आर्थिक स्तर कमजोर भएका अभिभावकले आफ्नो दैनिकी सञ्चालन गर्न समेत कठोर शारिरिक श्रम गर्नु पर्ने हुँदा आफ्ना बालबालिकालाई आवश्यक समय समेत दिन नसकेको अवस्था छ ।

सार्वजनिक विद्यालय पढ्ने अधिकांश विद्यार्थीका घरमा टेलिभिजन र रेडियो समेत विलासिताको साधनमा दर्ज हुने अवस्थामा अनलाइन कक्षाका लागी आवश्यक पर्ने स्मार्ट फोन तथा ल्यापटम त पहुँच भन्दा धेरै टाढाको कुरा हो । अर्को तर्फ निजि विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरु तुलनात्मक रुपमा बालबालिकाको अध्ययन प्रति बढी सचेत र आर्थिक रुपमा सक्षम हुने हुँदा आफ्ना बालबालिकाको अध्ययनलाई विभिन्न तरिकाले निरन्तरता दिने प्रयत्न गरेको पाइन्छ ।

निजि विद्यालयहरुले संचालन गरेका अनलाइन कक्षाहरुमा समेत तुलनात्मक रुपमा बढी संख्यामा विद्यार्थीको सहभागीता रहेको देखिएको छ । अभिभावकले अनलाइन कक्षा सञ्चालनको लागि आफ्ना बालबालिकालाई आवश्यक डिजिटल उपकरणको समेत व्यवस्था गरेकाले केही सहजता देखिएको छ । सामान्य अवस्थामा समेत सामुदायिक विद्यालयका विद्यार्थीले विद्यालयको अध्ययनमा मात्र निर्भर गर्ने हुँदा अपेक्षित सिकाइ उपलव्धि प्राप्त गर्न नसक्दा निजि र सामुदायिक विद्यालयका विद्यार्थीको विचमा शिक्षण सिकाइमा असमानता विद्यमान रहेको अवस्था हो ।

कोभिड १९ ले ६ महिना देखि विद्यालयमा प्रत्यक्ष पठनपाठन सञ्चालन नहुँदा ति निम्न वर्गिय अभिभावकका बालबालिका जसले विद्यालयलाई मात्र पठन पाठन कार्यकालागि भर पर्ने गर्दथे उनीहरु सबै भन्दा प्रभावित भएका छन ।

समुदायिक विद्यालयका केही अभिभावकहरुले आफ्नो क्षमता अनुसार बालबालिकाको अध्ययनमा चासो व्यक्त गर्ने तथा सिकाइको वातावरणलाई विभिन्न माध्यमबाट अगाडी बढाउने प्रयत्न गरिरहेका छन भने अधिकांशको शैक्षिक अवस्था दयनिय बनेको छ । कोभिड पछी विद्यालय सञ्चालन हुँदा नेपालको शिक्षा र शैक्षिक गुणस्तरमा असमानताको खाडल अझै फराकिलो बन्ने निश्चित छ ।

लेखक हाल बैजनाथ ५ स्थित प्रभात मा वि जिगाउँका सामाजिक शिक्षक हुनुहुन्छ उहाँ एक सफल लेखक सगै सामाजिक तथा राजनितिक विशेषकका रुपमा समेत परिचित बाबुराम अधिकारी सामाजिक रुपान्तरणका निम्ति सर्दैव क्रियाशिल युवाका रुपमा आफ्नो स्थान बनाउ सफल हुनुहुन्छ ।

  • १ कार्तिक २०७७, शनिबार प्रकाशित

  • Nabintech